Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारपुल सीमित समय खुल्दा राजस्व संकलनमा असर

पुल सीमित समय खुल्दा राजस्व संकलनमा असर


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधन सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व संकलन प्रभावित बनेको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज)बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ ।

पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न नदिँदा साना ट्रक, मोटरसाइकल एवं साइकलको क्यारियरमा सामान आयात गर्नुपर्ने बाध्यता छ । उद्योग वाणिज्य सघंलगायत यहाँका निजी क्षेत्रको लामो दबाब र पहलपछि बनबासा पुल केही वर्षयता दैनिक सात घण्टा खुल्न थालेको हो । यहाँबाट भारतका विभिन्न सहरबाट सामान आयात गर्न पुल नै बाधक बन्दा कञ्चनपुर भन्सार कार्यालयको राजस्व संकलनमा असर परेको छ । कैलालीको त्रिनगर भन्सारबाट दैनिक ठूला सवारी साधनमा सामान आयात भइरहदा गड्डाचौकी भन्सारबाट भने साइकलको सहारामा सामान आयात हुँदै आएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले भने, “अब महाकालीमा चार लेनको पक्की पुल बनेर उक्त नाका चालु भएपछि यहाँको आर्थिक गतिविधि सुदूरपश्चिमकै उच्च हुनेमा आशावादी छौँ ।” दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण भए यो नाका मुलुककै आर्थिक नाकाका रूपमा विकास हुने बताउँदै उनले उद्योग वाणिज्य संघकै पहलमा चार वर्षअघिसम्म दैनिक चार घण्टा मात्रै खुल्ने पुलको समायवधि सात घण्टा पु-याइएको बताए । “भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसितको समन्वयमा त्यो बेला पुल खुल्ने अवधि बढाइएको हो,” मल्लले भने, “अहिले पनि हामीले पुल निर्वाध खुलाउनुुपर्ने माग गरेका छौँ ।”

गड्डाचौकी नाकामार्फत सिमावर्ती भारतीय बजार बनबासा, खटिमा, बरेली, रुद्रपुर, नयाँ दिल्ली, मेरट, हल्द्धावानीलगायत स्थानबाट सामाग्री आयात हुन्छ । यहाँबाट दैनिक उपभोग्य सामाग्रीका साथै लत्ताकपडा, महिलाका सामान, तरकारी, फलफूल, कम्वल, दाल, भाडावर्तन तथा हार्डवेयरका सामग्री बढी मात्रामा आयात हुन्छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार यहाँ विगत तीन वर्षयता राजस्व संकलन मिश्रित खालको छ ।

भन्सार अधिकृत तेजबहादुर रावलले चालु आर्थिक वर्षमा राजस्व संकलन लक्ष्य ५८ करोड ९६ लाख ४४ हजार रुपैयाँ रहेकामा चैत मसान्तसम्म ३० करोड ७९ लाख ३९ हजार रुपैयाँ संकलन भएको बताए । उनले पुलको खुल्ने अवधि सीमित हुनु, ठूला सवारीसाधन गुडाउन परेको समस्यालगायत कारणले यहाँ राजस्व संकलनमा असर परेको बताए । वर्षातका बेला महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दासाथ भारतीय पक्षले पुलमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ । “सुख्खा बन्दरगाह बनेपछि त यहाँको प्रमुख नाका नै यही हुन्छ”, अधिकृत रावलले भने, “बीचको समयमा कोरोनाका कारण पनि राजस्व संकलनमा असर प-यो ।”

भन्सार कार्यालयका अनुसार आर्थिक बर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख ८८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ३७ करोड ३९ लाख २३ हजार रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भन्सार कार्यालयले ४६ करोड २२ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेकामा ५२ करोड ७७ लाख ६० हजार रुपैयाँ संकलनको लक्ष्य लिएको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, बिबिध
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया