Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदक्ष कामदारका लागि भारतकै भर !

दक्ष कामदारका लागि भारतकै भर !


विराटनगर । नेपालमा दक्ष कामदार नै रहेको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । पूर्वी क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूमा दक्ष कामदारका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनीहरूले युवाहरू रोजगारको सिलसिलामा विदेशिने गरेको भए पनि नेपालमा नै रोजगारदाताहरूले भने कामदार नपाएको बताए । दक्ष जनशक्तिको नेपालमा ठूलो अभाव रहेको उनीहरूको दाबी छ । महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग प्रतिष्ठानहरूमा कामदारसम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधनमा छलफल भएको थियो । नेपाल भेनियर उत्पादक संघका अध्यक्ष एवं मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतीय कामदार रहेको बताए । यहाँ कार्यरत १० प्रतिशत नेपाली कामदार पनि वैदेशिक रोजगारको पर्खाइमा रहेको उनको भनाइ थियो । उक्त कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यमबहादुर श्रेष्ठले चिया, चामल उद्योगहरूमा दक्ष प्राविधिकहरूको अभाव रहको बताए ।

कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सिपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै जनशक्तिको पनि अभाव भएको बताए । महासंघको पहलमा निर्माण हुने श्रम बजारमा सूचना प्रणालीले उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्तिसम्बन्धी माग र आपूर्तिसम्बन्धी समस्याको बिस्तारै समाधान हुनेमा आफू विश्वस्त रहेको उनले बताए । त्यसका लागि उद्योग प्रतिष्ठानहरूले पनि दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थितिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरू प्रगति गर्न नसक्ने बताए । लगानीमैत्री वातावरण निर्माणका लागि नीतिको आवश्यकता रहेको भन्दै उनले उद्योगहरूको अवस्था वर्गीकरण गरी सोेहीअनुसार समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

झापा जिल्लाको हल्दीबारी इँटा उद्योगकी सञ्चालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतीय रहेको भन्दै नेपाली कामदारहरूको उत्पादकत्व तुलनात्मकरूपमा कमजोर रहेको बताइन् । यस्तै, हियान फुड इन्डिस्ट्रजकी सञ्चालिका शर्मिला अधिकारीले पनि दक्ष कामदारको लागि भारतीय कामदारहरूमा भरपर्नु परेको उल्लेख गरिन् । कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठान र व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया