Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमापदण्डभित्र आउन औषधि पसललाई कामपाको निर्देशन

मापदण्डभित्र आउन औषधि पसललाई कामपाको निर्देशन


काठमाडौँ । नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको जनाउँदै काठमाडौँ महानगरपालिकाले ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । बुधबार कामपा स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको ‘प्रेस्किप्सन’बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको छ ।”

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले तोकिएको समयसीमापछि पनि ‘यस्ता लापरबाही देखिए, भेटिए वा सुधारको सङ्केत देखिएन भने गलत गर्नेलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही गर्ने बताए । विभागले औषधि पसलको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटी देखिएका छन् ।

तोकिएको समयपछि कामपा जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ । पौडेलका अनुसार प्रचलित व्यवस्थाअनुसार अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ ।

प्रचलित कानुनको व्यवस्था विपरित नार्कोटिक औषधि बिक्री वितरण हुने गरेकोसमेत अनुगमनबाट देखिएको कामपाको भनाइ छ । औषधि खरिद गर्दा कुनै किसिमको समस्या परे कामपा स्वाथ्य विभागमा उजुरी गर्न वा टोल फ्री नं १६६००१०५५११ मा सम्पर्क गर्न पनि कामपाले आग्रह गरेको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर

तपाईको प्रतिक्रिया