Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसमयअगावै फुलेर गुराँस झर्न थालेपछि स्थानीय अचम्मित

समयअगावै फुलेर गुराँस झर्न थालेपछि स्थानीय अचम्मित


सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा समयअगावै फुलेका लालीगुराँसका फूलहरु फागुनमै झर्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । सधैँजसो चैत वैशाखमा मात्रै ढकमक्क फुल्ने गुराँसका फूल यस वर्ष माघदेखि नै फुल्न सुरु भएर फागुन अन्तिममै झर्न थालेका हुन् ।

सोलुदूधकुण्ड नगरपालिका ११ तिङलाका भला बहादुर बस्नेत समयअगावै लालीगुराँसको फूल फुलेको देखेर अचम्ममा गरेका छन् । विगतमा चैत, वैशाखमा फुल्ने गुराँसका फूल यस वर्ष पुसदेखि नै फुलेर अहिले झर्न थालेकोे उनकोे भनाइ छ । समुद्री सतहबाट एक हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म गुराँसका विभिन्न प्रजाति हुने गर्दछ । विगतमा गुराँसको फूलसँग रमाउनैका लगि स्वदेशी तथा विदेशी पर्यटकहरु समेत जुमिने गर्दथे । तर यस वर्ष समयअगावै फुलेको गुराँस पर्यटकीय सिजन सुरु नहुँदै झर्न थालेपछि व्यवसायीहरुमा समेत चिन्ता थपिएको सोलुखुम्बु पत्तालेकी होटल व्यवसायी सुमना मगर बताउँछिन् । जलवायु परिवर्तनको असर वनस्पतिमा समेत देखिन थालेको छ । पछिल्लो समय चिसो सिजन खुम्चिँदै जानु र गर्मी समय बढ्दै गएको विज्ञहरु बताउँछन् । जसले गर्दा पारिस्थितिक प्रणालीमा समेत गम्भीर संकट निम्तिनसक्ने वातावरण विज्ञ राजन थापाको भनाइ छ ।

जिल्लाको पत्ताले, तिङ्ला, केरुङ, बागम, सल्लेरी, तामाखानी, लोदिङ, पिके, फाप्लु, सल्लेरी, रिङमु, फेरा, टाक्सिन्दु, सिलगुडीलगायतका क्षेत्रहरुमा गुराँस हुने गर्दछ । तर यस वर्ष समयभन्दा अघि नै फुलेको गुराँस चैत लाग्न नपाउँदै ओइलिएर झर्न थालिसकेको छ । जसका कारण पारिस्थितिक प्रणाली नै गम्भीर संकटमा फस्नसक्ने जानकारहरुको चिन्ता छ । चैत–वैशाखमा यहाँ गुराँससँग रमाउनेहरुको ओइरो लाग्छ । गुराँस आफैँमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर अझै पनि गुराँस राख्ने र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया