Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसातौँ राष्ट्रिय कृषि गणना

सातौँ राष्ट्रिय कृषि गणना


काठमाडौं । नेपालमा पहिलो कृषि गणना विसं २०१८ सालमा सम्पन्न भएको थियो । त्यसपछि प्रत्येक दश–दश वर्षको अन्तरालमा कृषि गणना सञ्चालन हुँदै आएको छ । यही क्रमको सातौँ राष्ट्रिय कृषि गणना, २०७८ ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष सञ्चालन गरेको थियो । फलतः नेपाली अर्थतन्त्रको मेरुदण्ड नै कृषि क्षेत्रको विकास र विस्तार मानिँदै आएको छ । यसमा पनि सातौँ राष्ट्रिय कृषि गणना, २०७८ ले प्रदान गरेका जानकारी तथा तथ्याङ्कहरूले धेरै नै महत्वपूर्ण भूमिका खेल्ने कुरामा निश्चित भएको छ । जुन गणनाबाट संकलित सूचना र तथ्याङ्कका आधारमा राष्ट्रमा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने राष्ट्रिय योजना र कार्यक्रमहरू तर्जुमा गर्न सरकारलाई धेरै नै मद्दत पुग्नेछ । यसैगरी यस क्षेत्रमा रहेका सम्भावना तथा समस्याहरूको पहिचान गर्न समेत गणनाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालको कृषि गणना २०७८ अनुसार देशभर कृषि कर्म गर्ने घरपरिवारको संख्या ४१ लाख ३० हजार सात सय ८९ छ । उनीहरूले २२ लाख १८ हजार चार सय १० हेक्टर जमिनमा खेती गर्दै आएका छन् । तसर्थ, मुलुकमा कुल ६६ हजार परिवार छन् । जसअनुसार ६२ प्रतिशतले खेती–किसानी मात्रै गर्दै आएका छन् । जुन दश वर्षअघिको गणनामा कुल परिवार संख्यामध्ये ७० प्रतिशत कृषि पेसामा आबद्ध थिए । जसमा हेर्ने हो भने संख्यामा कृषि पेसा गर्ने परिवार बढे पनि प्रतिशतमा भने आठ प्रतिशतले घटेका छन् । त्यसरी नै राष्ट्रमा कृषियोग्य जमिन उल्लेख्य मात्रामा घटेको तथ्याङ्क प्रस्तुत भएको छ । जुन १० वर्षअघि छैटौं राष्ट्रिय कृषि गणना हुँदा कृषिमा प्रयोग गरिएको जमिन २५ लाख २५ हजार छ सय ३९ हेक्टर रहेकोमा हाल २२ लाख १८ हजार चार सय १० हेक्टरमा मात्रै सीमित रहेको छ । जसलाई प्रतिशतका आधारमा हेर्ने हो भने कृषियोग्य जमिन २१ दशमलव सात प्रतिशतले घट्दा कृषि कर्ममा संलग्न परिवारको संख्या भने बढेको देखिएको छ । जुन कृषि गणनाको तथ्याङ्कअनुसार कृषक परिवारको संख्या ३८ लाख ३१ हजार ९३ बाट ४१ लाख ३० हजार सात सय ८९ पुगेको छ ।

त्यस्तै, हिमालमा शून्य दशमलव दुई प्रतिशत, पहाडमा परिवार सात दशमलव सात प्रतिशत र तराईमा नौ दशमलव चार प्रतिशतले कृषक परिवार बढेका छन् । तर, हिमालमा २१ दशमलव सात प्रतिशत, पहाडमा १२ प्रतिशत र तराईमा ११ प्रतिशतले कृषि जमिन घटेको छ । उता अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । यसरी छैटौँ कृषि गणना २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भए पनि अहिले भने ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसरी नै पछिल्लो तथ्याङ्कअनुसार अहिले १२ लाख नौ हजार दुई सय ६५ हेक्टर अर्थात् ५४ दशमलव पाँच प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसरी अवलोकन गर्ने हो भने पछिल्लो १० वर्षमा साढे दुई प्रतिशत मात्र सिँचाइ थपिएको छ । यस्तै, कृषि बाली बीमाको पहुँचमा एक लाख ८२ हजार चार सय ४१ कृषक परिवार समेटिएका छन् । यो कुल परिवारको चार दशमलव चार प्रतिशत मात्र हो । त्यसरी नै बीमा पनि सबैभन्दा बढी अर्थात् एक लाख ५३ हजार नौ सय ६२ पशुपालनमा गरिएको छ ।

त्यसरी नै पछिल्लो दश वर्षमा कृषियोग्य जमिन तीन लाख आठ हजार हेक्टर क्षेत्रफल घटेको छ भने कृषक परिवार संख्या करिब तीन लाखले बढेको छ । कुल परिवार संख्याको ६२ प्रतिशत परिवार यही पेसामा लागेको छ । त्यसरी पशुजन्य तथ्याङ्कलाई अवलोकन गर्ने हो भने राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार देशमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै, २०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा दश वर्षमा राँगा र भैँसीको संख्या दुई लाख ५१ हजारले घटेको बताइएको छ । त्यसरी नै राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आए पनि उन्नत राँगाभैँसी भने १२ प्रतिशतले बढ्न गएको उल्लेख गरिएको छ । यसर्थ, २०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजार रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या दुई लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सीमित भएको उल्लेख तथ्याङ्कमा गरिएको छ । जुन देशमा रहेका ६३ लाख गाईगोरु पनि पछिल्लो दश वर्षमा घटेर ४६ लाख पुगेको तथ्याङ्कमा उल्लेख छ । यसरी पछिल्लो दश वर्षमा गाईगोरु, राँगा र भैँसी घटे पनि बाख्रा र च्याङ्ग्रा भने एक करोड १० लाखबाट बढेर एक करोड ४२ लाख पुगेको सम्बन्धित क्षेत्रले उल्लेख गरेको छ । यसका साथसाथै सुँगुर र बँगुर पनि आठ लाखबाट बढेर १४ लाख पुगेको पनि यसै तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा गाईको संख्या घटे पनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै, कृषकहरूले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नुपरेको सम्बन्धित क्षेत्रको उल्लेख छ । यसरी कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेको उल्लेख पनि तथ्याङ्कमा जनाइएको छ ।

देशको कृषि गणनालाई अवलोकन गर्ने हो भने २०६८ ले आठ लाख ४५ हजार कृषक परिवारले कृषि कार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो । यसरी पछिल्लो दश वर्षको अवधिमा चार लाख ७१ हजार दुई सय ६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र एक लाख १७ हजार नौ सय ९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । त्यसरी नै २०६८ र २०७८ दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखनीयरूपमा गिरावट आएको छ । त्यसरी नै राष्ट्रका करिब ४० लाख परिवार खेतीपातीमा आबद्ध भएको पाइएको छ । जुन कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपन्छी पालन गरेको पाइएको छ । यसमा छैटौँ गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खेतीपाती गरेको र एक लाख १६ हजारले पशुपन्छी मात्रै पालेका थिए । अहिले यो परिवार संख्या बढेको पाइएको छ । यो राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो भने हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । यसरी कृषिगणनाअनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ ।

कृषि गणनाअनुसार राष्ट्रमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । यसलाई ससर्ती हेर्ने हो भने विगत दश वर्षमा तीन लाख हेक्टर कृषियोग्य जग्गा घटेको छ । यसमा पनि हेर्ने हो भने ६१ प्रतिशत आश्रित जनसंख्या रहेको र कुल गार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा लगानी असाध्यै न्यून छ । यसरी पछिल्लो डेढ दशकको तथ्याङ्क केलाउँदा मुलुकको कुल बजेटको तीन प्रतिशतभन्दा बढी बजेट कृषिमा विनियोजन भएकै छैन । जबकि हाम्रो छिमेकी देश भारतमा १० प्रतिशतभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्टाएको छ ।

समग्रमा भन्नुपर्दा गत भाद्र २१ गते सार्वजनिक भएको राष्ट्रिय कृषिगणना–२०७८ ले कृषि क्षेत्रको दारुण तस्वीर देखाएको छ । यसले पछिल्लो दश वर्षमा संसारका विभिन्न देशहरूले कृषिमा छलाङ मार्दा हामी यो पेसामा निर्वाहमुखी पनि बन्न सकेका छैनौँ । तर, पछिल्लो दश वर्षमा कृषियोग्य जमिन तीन लाख आठ हजार हेक्टर क्षेत्रफल घटेको छ भने कृषक परिवार संख्या करिब तीन लाखले बढेको छ । देशको ६२ प्रतिशत परिवार कृषि पेसामा आबद्ध, कृषि कर्म गर्ने १८ प्रतिशत परिवार देशबाहिर, खेती गर्ने जमिन तीन लाख सात हजार दुई सय २९ हेक्टर क्षेत्रफल घट्यो, १० वर्षमा सिँचाइ सुविधा दुई दशमलव पाँच प्रतिशत मात्र वृद्धि, ९४ प्रतिशत किसान परिवार कृषि तालिमबाट बञ्चित र ७० प्रतिशत किसान परिवारको आम्दानीको मुख्य स्रोत कृषि नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसरी नै कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत मात्र रहेको तथ्याङ्कले देखाएको छ भने अझैसम्म ५५ प्रतिशत कृषक परिवारलाई स्वदेशी उत्पादनले खान पुग्दैन र विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने स्थिति रहेको छ । तर, हामी अझै पुरानै तौरतरिकामा नै छौँ । यसलाई तत्काल बदल्नु आवश्यक छ । यसको नेतृत्व सरकारले लिनुपर्छ । त्यसरी कृषकलाई आवश्यक पर्ने मलखाद, सिँचाइ, अनुदान, आधुनिक तौरतरिका, यन्त्र र उपकरण, उन्नत बीउबिजनलगायत सबै वस्तुको उपलब्धता गराउने व्यवस्था मिलाउनुपर्छ । त्यसरी नै कृषि ऋण लिनेहरू २०६८ मा २२ प्रतिशत रहेको थियो भने कृषि गणना २०७८ अनुसार कृषकहरूले कृषि ऋण १२ प्रतिशत लिएको देखिएको छ । अहिलेजस्तै कृषिमा ध्यान नदिने हो भने आगामी दिनको कृषि तथ्याङ्कको तस्वीर योभन्दा पनि खराब हुनेछ । जुन गणनालाई आधार बनाएर आगामी दिनमा तर्जुमा गरिने कृषि क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमहरूले वर्तमान समस्याको समाधान गर्दै कृषि क्षेत्रको दिगो विकासको मार्गचित्र कोर्न सक्छ । यसर्थ, देशको कृषि क्षेत्रको विकासमा राष्ट्रिय कृषि गणना, २०७८ एउटा कोशेढुङ्गा बन्न सक्ने आशा गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया