Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमागमा कमी-कारोबारमा गिरावटको संकेत

मागमा कमी-कारोबारमा गिरावटको संकेत


काठमाडौं  । मुलुकको अर्थतन्त्र दिनानुदिन समस्याग्रस्त बन्दै गइरहेको छ । बैंकको ब्याजदर घट्न थाले पनि बजारमा आर्थिक कारोबार भने बढ्न सकेको छैन् । सुक्दै गएका उद्योग व्यवसायका कारण रोजगारमूलक आम्दानी बढ्न सकेन, आम्दानी घट्दै गयो । आयमा भएको कमीले बजारको समग्र मागमा समेत क्षय गराइदियो । बजारमा माग घट्न पुग्दा आर्थिक कारोबार प्रभावित बन्न पुग्यो । यसरी आर्थिक कारोबार प्रभावित बन्दै जानु अर्थतन्त्रमा थप समस्या सिर्जना हुन सक्ने प्रष्ट संकेत हो ।

नेपालको अर्थतन्त्र दुई वर्षको अवधिमा समस्याउन्मुख बन्दै गएको छ । यो अवधिमा समग्र माग ३७ प्रतिशतले घट्न पुग्यो । तर सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहँदा नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थतन्त्र समस्यामा नै रहेको देखाएको छ । सीएनआईले अर्थतन्त्रमा समस्या देखिनु बजारमा वस्तु तथा सेवाको उपभोगमा कटौती भएको निष्कर्ष निकालेको छ । अघिल्लो आर्थिक वर्ष मागमा उच्च गिरावट आए पनि त्यसको तुलनामा समेत चालू आर्थिक वर्षमा सुधार हुन सकेन । पछिल्ला दिनमा कच्चा पदार्थको मूल्य बढेको देखियो । दुई वर्षअघि ०७८/७९ को तुलनामा माग ३६ दशमलव ९३ प्रतिशतले घटेको देखियो ।

यसरी माग घट्न गएकाले कारोबारमा समेत गिरावट हुँदै गएको सीएनआईको ठम्याइ छ । उसले विगत तीन वर्षदेखि नियमितरूपमा आर्थिक सर्वेक्षण गर्दै आइरहेको पाइन्छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो । यो चालू आर्थिक वर्षको सोही अवधिमा थप १२ दशमलव छ प्रतिशतले घटेको देखिएको छ । यसरी आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६ दशमलव ९३ प्रतिशतले संकुचन आएको हो । यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कुल ३० दशमलव ५४ प्रतिशतले खुम्चिएको हो ।

बढ्दै गएको अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण गत वर्ष नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको थियो । जुन चालू वर्षमा समेत यथावत् रहेको देखिएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । क्षेत्रगतरूपमा सिमेन्ट उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप सात दशमलव ३६ प्रतिशतले संकुचन आएको छ । अघिल्लो वर्षको सोही समयमा यो ४० दशमलव १७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४ दशमलव ५७ प्रतिशतले गिरावट आएको देखिन्छ ।

यस्ता उत्पादनमूलक उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप नौ दशमलव ५४ प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कुल ४४ दशमलव ८२ प्रतिशतले संकुचन आएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ८३ दशमलव ३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ दशमलव ५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रियाअनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६ दशमलव २० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ४३ दशमलव ४३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२ दशमलव ५९ प्रतिशतले संकुचन आएको पाइएको छ । यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३ दशमलव ७१ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप २० दशमलव ८० प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कुल ५५ दशमलव ४२ प्रतिशतले संकुचन आएको देखिएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसीजी क्षेत्रको माग दुई दशमलव ५० प्रतिशतले बढेको थियो तर यस वर्ष १७ दशमलव ७० प्रतिशतले गिरावट आएको अध्ययनमा देखिएको छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल १५ दशमलव ६४ प्रतिशतले संकुचन आएको देखिएको छ । यसैगरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२ दशमलव २५ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १८ दशमलव ५० प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा आठ दशमलव ५२ प्रतिशतले संकुचन आएको छ ।

बजारमा मुद्रास्फीति उच्च हुँदा माग घटेको हो । यस्तो अवस्था बजारमा देखापर्दा सरकारले वृद्धिकारी नीति अवलम्बन गर्नुपर्नेमा नियन्त्रणकारी नीति अवलम्बन गरिदियो । जसले बजारलाई हतोत्साही बनाइदियो । यसलाई मध्येनजर सरकारको नीतिगत कमजोरी देखिन्छ, यसको मतलब बजार कमजोर बनाउनुमा सरकार नै मुख्य जिम्मेवार देखिन्छ । सरकारको पुँजीगत खर्चले अर्थतन्त्र चलायमान बनाउने हो तर पुरानो भुक्तानी नै नभएको अवस्था छ । अहिले नयाँ ठेक्का प्रभावित बन्दै गएका छन् । सरकारले आफ्नो पैसा बजारमा ल्याउन सकेको छैन ।

सरकारको बलियो नीति नहुँदा सहकारीले जनताको ठूलो पैसा फसाइदियो जसका कारण जनताबाट माग आउन सकेन । माग घट्दै गएकाले उद्योगीले थप ऋण लिएर उत्पादन बढाउने आँट गर्न सकेनन् । भनिन्छ, बैंकहरूमा पैसा फालाफाल छ तर बैंकहरूले पनि पैसा दिन आँट गरेका छैनन् । सरकारको साधारण खर्च बढेको बढै छ । बढ्दै जानुपर्ने पुँजीगत खर्च भने घट्दै गएको छ । यसले पनि बजारलाई संकुचित बनाइरहेको छ । पुँजीगत खर्च बढ्दा बजारमा सर्वसाधारणको हातमा पैसा पुग्छ र उनीहरूले दैनिक उपभोग्य वस्तुमा खर्च गर्छन् । जसले बजारमा आर्थिक क्रियाकलाप बढाउँछ ।

बजारमा देखापरेको आर्थिक मन्दी र सरकारको विस्तारकारी नीति नहुँदा ५२ दशमलव ३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेका छन् । लगानी हुन नसक्दा उत्पादन र रोजगारी सिर्जना हुँदैन । मानिस सस्तोमा श्रम बेच्न तयार हुन्छ तैपनि काम पाउँदैन । ऊ विदेशिन बाध्य बन्नुपर्ने परिस्थिति सिर्जना हुन्छ । उसैको कमाइले देश धानिन पुगेको छ । देश आर्थिकरूपमा टाट उल्टिनबाट जोगिएको छ । तर सरकारले तीनको संरक्षण कुनै ध्यान दिएको पाइँदैन ।

मुलुकको अर्थतन्त्रमा वर्षैपिच्छे चाप परिरहँदा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने योजना आउन सकेन । केही वर्ष अघिको भूकम्प र कोरोना महामारीले अर्थतन्त्रलाई शिथिल बनाइरहँदा त्यसलाई तङ्ग्राउने नीतिको कमी रह्यो । आर्थिक सूचकहरू प्रायः सबै ओरालोतिरै छन् । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले व्यापार घाटालाई मलमपट्टि लगाइरहेको छ । उसले पसिना विदेशीलाई बेचेर यतिखेर देश थेगिरहेको छ । यसको निराकरण सरकारको वस्तुपरक योजना, पीडितलाई राहत र स्वउत्पादनमा निर्भर छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया