Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक मुद्दामा पत्रकारिताको चासो जरूरी

आर्थिक मुद्दामा पत्रकारिताको चासो जरूरी


कुनै पनि मुलुक आर्थिकरूपमा समृद्ध हुन सक्नुपर्छ । यसो भए मात्र सामाजिक, राजनीतिक एवम् सांस्कृतिक क्षेत्रको विकास सहज बन्न सक्छ । देशमा आर्थिक समस्याहरू बढ्दै जाँदा केवल भोक, रोग, अशिक्षा, अभाव, गरिबी, आय असमानता, बेरोजगारी, महङ्गीजस्ता समस्याहरूले डेरा जमाउँछन् । त्यसैले आर्थिक मुद्दाहरू मुलुकको प्रमुख प्राथमिकताको विषय बन्नु जरुरी छ । तर विडम्बना नै भन्नुपर्छ हाम्रो मुलुकमा धेरै सरकारहरू आए–गए । कुराहरू पनि धेरै गरिए । तर आर्थिक विषयले कहिले पनि प्राथमिकता पाएन ।

आर्थिक उदारीकरणको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि मुलुकको आर्थिक अवस्था उकालो लाग्नुको साटो ओरालोतिर झरिरहेको छ । मुख्यरूपमा आर्थिक मुद्दामा राजनीतिक दलहरू संवेदनशील हुन नसक्दा मुलुकको आर्थिक अवस्था जर्जर हुँदै गएको हो । माओवादीको दश वर्षे जनयुद्धको समयमा भए–गरेका विकास निर्माण तथा पूर्वाधारहरू पनि भत्काइए, नयाँ संरचना निर्माणको गति मन्द हुँदै गयो । त्यसपछि संविधानसभाको निर्वाचन, सभाको अवसान पुनः निर्वाचन, सरकार गठन, सरकारको राजीनामा, पुनः सरकार गठन, चुनाव यस्तै विषयहरूमा राजनीतिक वृत्त घुमिरह्यो । राजनीतिक दलहरू खुला तथा बजार अर्थतन्त्रको राप अलापिरहन्छन् तर व्यवहारमा निजी क्षेत्रलाई आतङ्कित गराउने काम गर्छन् । कहिले करको नाममा त कहिले शैक्षिक प्रतिष्ठानहरू गुठीमा जानुपर्ने नियममा । यस्तो अस्थिर राजनीतिक परिपाटीकै कारण मुलुक आर्थिक पछौटेपनको शिकार हुनुपरेको हो । यसका अतिरिक्त सरकार, बैंक, राजनीतिक दल, श्रम संगठन, बजार सबैतिरबाट निजी क्षेत्र प्रताडित हुँदा त्यसको मार मुलुकले खेप्नुपरेको छ ।

साँच्चै भन्ने हो भने अर्थतन्त्रलाई राजनीतिको छायाले कुन्ठित बनाइदिएको छ । सामाजिक र सांस्कृतिक क्रान्तिको नाममा अर्थतन्त्रको उपेक्षाले देशलाई आर्थिकरूपमा झन् पछाडि पारिरहेको सहज अनुमान लगाउन सकिन्छ । मुलुकलाई आर्थिक बेथितिले गाँजेको छ । जबसम्म यो बेथितिको अत्य हुँदैन, तबसम्म मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिँदैन । यही कारणले गर्दा पनि राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रबाट आर्थिक विषयवस्तुहरूलाई मुख्य प्राथमिकतामा राख्नु आजको आश्यकता भएको छ । समाचार, लेखरचना, अन्तर्वार्ता, समाचार टिप्पणी, समाचार विश्लेषण आदिमा आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक क्रान्तिको नेतृत्व पत्रकारिता जगतबाटै गर्न सकिन्छ । खासगरी नेतृत्व वर्गलाई आर्थिक विषयमा गम्भीर बनाउनसके मुलुकको आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहज हुने थियो । यस्ता कुरामा पत्रकारिता जगत सचेत हुनैपर्छ ।

राजनीतिक दलहरूले चुनावमा आफ्ना एजेण्डाहरू जनतासामु राखिरहँदा आर्थिक एजेण्डाहरूबारे प्रश्न गर्नसक्ने र यसमा राजनीतिक पार्टीहरूबीच छलफल र बहस चलाउने जिम्मा पनि पत्रकारिता जगतले नै लिनुपर्छ । यसका साथै राजनीतिक दलहरूको घोषणापत्रअनुसार काम भयो–भएन भन्ने कुरा प्रत्येक चुनावअघि त्यसको लेखाजोखा गर्ने र राजनीतिक दलहरूलाई प्रश्न गर्ने काम पत्रकारिता जगतबाट नै हुनु आवश्यक छ । जसरी निजी क्षेत्र आर्थिक मामलामा संवेदनशील बनेको देखिन्छ, ठीक त्यसैगरी नै पत्रकारिताको आँखा आर्थिक विषयहरूमै केन्द्रित हुनु आवश्यक छ ।

पछिल्लो समयमा हेर्ने हो भने केवल राजनीतिक मुद्दा र विषयहरूलाई मुख्य विषय बनाउँदै पत्रिकाका पानाहरू भर्ने, टेलिभिजन च्यानलहरूमा समय ओगट्ने र रेडियोहरूले पनि आफ्ना समाचार र अन्तर्वार्ताहरूलाई राजनीतिक विषयमै केन्द्रित बनाइरहेको देखिन्छ । अब यसलाई अन्त्य गर्नु आवश्यक छ । मुलुक समृद्धिको बाटोमा नहिँड्ने हो भने जस्तोसुकै व्यवस्था आए पनि त्यसको कुनै औचित्य रहँदैन । त्यसैले मुलुकको आर्थिक सम्भावनाका क्षेत्रहरू र विकासका बाधकहरूलाई चिर्दै अगाडि बढ्ने बाटो पत्रकारिता जगतले देखाउन सक्छ र देखाउनु पनि पर्छ ।
राजनीतिक दलहरूको मुखपत्रको रूपमा समाचारहरू छाप्ने गरेको आरोप पनि पत्रकारिता क्षेत्रले खेप्दै आएको छ । यसबाट बच्न पनि आर्थिक मुद्दाहरूलाई प्राथमिकतामा पार्नुपर्छ । हुन त पछिल्ला केही समयहरूमा राष्ट्रिय एवम् स्थानीयस्तरबाटै आर्थिक पत्रपत्रिका एवम् टेलिभिजनहरू पनि ननिस्किएका होइनन् । तर ती पर्याप्त छैनन् । आमजनताले बुझ्ने भाषा–शैलीमा आर्थिक पत्रकारितालाई अगाडि बढाउनु आजको मुख्य आवश्यकता हो । आर्थिक पत्रकारिताको नाममा क्लिस्ट एवम् प्राविधिक शब्दहरू राखेर पाना भर्दैमा त्यस्तो आर्थिक पत्रकारिताले कुनै पनि उपलब्धि दिन सक्दैन । यही कारणले गर्दा अब पत्रकारहरूलाई आर्थिक पत्रकारिताबारे तालिम दिएर भए पनि हरेक पत्रिका, रेडियो र टेलिभिजन एवम् युट्युब च्यानलहरूले आर्थिक विषयहरूलाई विशेष प्राथमिकतामा राख्नु जरुरी छ ।

कुनै पनि आयोजना स्थापना गर्नुपूर्व त्यसको औचित्यबारे प्रश्न उठाउने काम पत्रकारिता जगतकै हो । आयोजना सञ्चालनका क्रममा देखापर्ने ढिलासुस्तीबारे होस् वा योजना सम्पन्नपछिको गुणस्तर परीक्षण स्वम् भुक्तानी प्रक्रिया, सबै कुरामा दृष्टि लगाउने काम पत्रकारिताले गर्नु आवश्यक छ । पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । त्यसले मुलुकको अर्बाैँ रकम पानीमा डुबाएको मात्र छैन । यसले मुलुकलाई ऋणभार मात्र थोपरेको छ । यही सन्दर्भमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । त्यो के–कति आवश्यक थियो वा छैन भन्ने विषयमा पत्रकारिता जगतले खासै आवाज उठाएको सुनिँदैन । योजना निर्माण सम्पन्नपछि त्यसको सञ्चालन हुन सक्दैन भने त्यस्ता योजनाहरू किन सुरु गरियो ? त्यसको चिरफार गर्ने काम पनि पत्रकारिताकै हो ।
कार्टेलिङका कारण हुने मूल्यवृद्धि, खुला सिमानाका कारण हुने अवैध व्यापार, किसानले बीउबिजन र मलखाद पाउन नसक्नेका कारणहरू, उद्योग क्षेत्रमा हुने मिसावट, व्यापारमा हुने करछलीजस्ता आर्थिक विषयहरूलाई पत्रकारिताले बाहिर ल्याउनु आवश्यक छ । यसका साथै वित्तीय क्षेत्रमा हुने अपराधहरू, भन्सारमा हुने अवैध करोबारहरू, कर छलीका विषयहरू र उद्योगीका पिरमर्काहरू साथै समस्या, सम्भावना एवम् समाधानका उपायहरू आदि पनि पत्रकारिताले उजागर गर्नुपर्ने विषयवस्तु हुन् ।

मुलुकको पर्यटन क्षेत्रका सम्भावनाहरू, यहाँका धार्मिक तथा प्राकृतिक सम्पदाहरू आदिबारे सञ्चारमाध्यमद्वारा विश्वजगत्मा ल्याउन सके नेपालको पर्यटनमा राहत हुन सक्थ्यो । यसका साथै आयात प्रतिस्थापन गर्न सकिने विषयहरू र सफल व्यवसायीहरूको कथाहरू पनि पत्रकारिताको महत्वपूर्ण विषयहरू बन्नुपर्छ । विभिन्न औद्योगिक क्षेत्र, औद्योगिक कोरिडोर तथा सेजका विषयहरूलाई पनि पत्रपत्रिका एवम् सञ्चार माध्यमहरूले महत्व दिनुपर्छ । उद्योग क्षेत्रले उचित वातावरण नपाउँदा मुलुकबाट पुँजी पलायन हुने खतरा बढिरहेको सन्दर्भमा यस्ता विषयहरूले त्यहाँको समस्याहरूको पहिचान र त्यस्ता समस्याहरूको समाधानको उपायहरू पहिल्याउन मद्दत मिल्छ । यसप्रति पनि पत्रकारिता क्षेत्रको आँखा जानु जरुरी छ ।
हाल नेपालका केही ग्रामीण क्षेत्रहरू कृषि, पशुपालन, माहुरीपालन तथा माछापालनका हिसाबले अगाडि बढिरहेका छन् । ती क्षेत्रका समस्याहरू, समाधानका उपायहरू र सफल कृषकहरूका कथा तथा अनुभवहरूलाई पनि पत्रकारिता जगतले महत्वका साथ स्थान दिनुपर्छ । यसले एकातिर कृषिको बजारीकरणमा सहयोग गर्छ भने अर्काेतिर कृषिक्रान्तिको सुरुवात गर्न सञ्चारमाध्यमले नेतृत्व गर्नसक्ने ऐतिहासिक अवसर समेत प्राप्त गर्न सक्छ ।समग्रमा राज्य सञ्चालकले आर्थिक मुद्दाहरूलाई बेवास्ता गरेको सन्दर्भमा उनीहरूलाई मार्ग निर्देशन गर्न, वित्तीय क्षेत्रलाई अनुशासित गराउन र आमजनतालाई वित्तीय साक्षरताका माध्यमले सु–सूचित गराउन पत्रकारिता जगतले आफ्नो धर्म निर्वाह गर्नु जरुरी छ । समाचार सम्प्रेषण गर्दा विषयवस्तुहरू मात्र होइन त्यस्ता विषयवस्तुहरू मुलुकमा के–कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि संवेदनशील हुनुपर्छ । त्यसैले कृषि, पर्यटन र जलविद्युत्जस्ता मुलुकको सम्भावनाका क्षेत्रका बारेमा उजागर गर्ने, त्यस्तो क्षेत्रमा लगानी वृद्धि गर्नका लागि लगानीकर्तामा चेतना विस्तार गर्ने र सरकारलाई संवेदनशील बनाउने काममा पत्रकारिता जगत केन्द्रित हुनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया