Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवैदेशिक मोहको नियति

वैदेशिक मोहको नियति


काठमाडौं । विश्वभरिमा नै एक मुलुकबाट अर्को मुलुकमा मानिसहरूको पलायन हुने क्रम निरन्तररूपमा अभिवृद्धि हुँदै गएको तथ्यसँग हामीहरू अनभिज्ञ रहेका छैनौँ । प्रस्तुत क्रमको लयमा नेपाल पनि पृथक रहन सक्दैन । कायमी मानवीय सामिप्यताको दूरीलाई भौगोलिक विविधता एवम् भाषिक भिन्नताको बाबजुद पनि आपसी भाइचारा तथा सद्भावको प्रेममा आबद्ध रहँदै अर्थोपार्जनका साथै शैक्षिक गतिविधिका विभिन्न अवसरहरूको सम्भावना विकासलाई आत्मसाथ गर्ने सौभाग्य केही हदसम्म वैदेशिक यात्राको सफल गन्तव्यबाट प्राप्त हुन आएको हो ।

वर्तमानमा रहेको असहजतालाई–सहजतातर्फ, विकटताबाट–सुगमतातर्फ एवम् प्रकारले विपन्नताबाट सम्पन्नताको चाहना राख्दै आफ्नो सिप, दक्षता र योग्यताअनुसारको रोजगारी, शैक्षिक अवसरहरूको खोजीमा दिनहुँजसो नेपाली युवा जमात विदेशिने क्रम जारी रहेको पाइन्छ । प्रकाशित एक सरकारी आँकडाअनुसार आव २०७९/८० मा मात्र करिब–करिब सात लाख ७५ हजार तीन सय २७ जनाको समूह रोजगारीको लागि मात्र बाहिरिएको तथ्य सार्वजनिक भएबाट पलायनको दर कतिसम्म भयावह रहेको छ भन्ने कुराको सहजै अनुमान लगाउन हामीहरू जो कसैलाई पनि असहजता उत्पन्न हुने छैन । उपरोक्त तथ्याड्ढका अतिरिक्त भारतलगायत सार्क मुलुकहरूमा पलायनको दर संख्यात्मक हिसाबमा निकै नै उच्च रहँदै आएको पाइन्छ ।

यहाँनिर विचारणीय पक्ष के रहेको छ भने के त्यस्तो कारक तत्व जसले स्वदेशी मनहरूलाई विदेशतर्फ तीव्ररूपमा केन्द्रीकृत गर्दै सम्मोहन गराउन सफल रह्यो ? जसमा तीव्र ध्रुवीकृत राजनीतिको एक पाटोलाई अवश्य पनि बिर्सन मिल्दैन । परिणामतः सीमित समुदाय विशेषबाहेकका अन्य समूहलाई समुच्च आर्थिक लाभ तथा सुखद् शैक्षिक गन्तव्यको लालीमा सहजरूपमा हासिल गर्न कठिनाइ उत्पन्न भएकै कारण जिजीविषाका अतिरिक्त गुणस्तरीय शैक्षिक विकासको यात्रालाई सफलीभूत बनाउनका लागि वैकल्पिक मार्गस्वरूप वैदेशिक यात्राको मार्ग प्रशस्त गर्नुपरेको मात्र हो ।

तसर्थः मुलुकमा कायम रहेको राजनीतिक अन्तरद्वन्द्वलाई क्रमशः न्यून गर्नुका साथै आन्तरिक रोजगार विकासको सम्भावनाले प्रतिभावान युवा जनशक्तिको वैदेशिक मोहलाई क्रमभङ्ग गर्दै मुलुकभित्रै खपत गर्न सक्ने अवस्था पैदा भए निश्चितरूपमा विदेशिने दरमा पनि कमी आउनेछ भन्ने विश्वास लिन सकिनेछ ।

विपरीत परिस्थितिको गतिशीलताले अग्रता हासिल गर्ने सम्भावनाको कारण सम्बद्ध क्षेत्रमा लक्ष्यअनुसारको प्रगति हाँसिल गर्न कठिनाइ उत्पन्न भएको मात्र हो । यसका अतिरिक्त राजनीतिक आस्थाका आधारमा अपवादबाहेक दक्ष तथा योग्य जनशक्तिलाई अवमूल्यन गर्ने संस्कृतिको विकासले सम्बद्ध समुदायमा मनोगतरूपमा नै वितृष्णा उत्पन्न हुन जाने देखिन्छ । जसको ऋणात्मक प्रभाव स्वरूप नचाहँदा–नचाहँदै पनि जन्मभूमि–थाकथलो छोड्न बाध्य हुनुपरेको मात्र हो । अन्यथा जन्मभूमि छोड्ने रहर कसलाई पो हुन्छ र ? उदाहरणको रूपमा हालै मात्र कोरियाका लागि लालायित तथा मापदण्डविहीन अवस्थामा पनि रुसी सेनामा भर्ती भई नेपाली युवा गणले सहादत प्राप्त गरेको तथ्यलाई स्मरण गर्न सकिन्छ ।

सम्बद्ध क्षेत्रमा कुनै कारणवश लापरबाही कायम रहिरहने हो भने निकट भविष्यमा अझै भयावह अवस्थाको सामना गर्न राज्य तयार रहनुपर्नेछ । तत्पश्चातः मुलुक युवाविहीनताको अवस्थामा रूपान्तरण हुने तथ्यलाई सहजै इन्कार गर्न मिल्दैन । जुन नेपाल र नेपालीको लागि दर्दनाक बन्न सक्ने देखिन्छ । प्रस्तुत खराब परिसूचकको विकासबाट राज्यले दोहोरो घाटा सहन गर्नुपर्ने हुन्छ । पहिलो अवस्था भनेको निश्चितरूपमा स्वदेशी मानव पुँजीलगायत बौद्धिक प्रतिभा पलायनको डरलाग्दो परिस्थितिको सामना गर्नुबाहेक अर्को कुनै भरपर्दो विकल्प मुलुकसामु रहनेछैन ।

दोस्रो अवस्था भनेको उत्पादनमूलक क्षेत्रहरूमा श्रम न्यूनताको परिस्थिति निर्माण हुनु हो । जसले दक्ष जनशक्तिको अभावको खाँचोलाई यथास्थितिमा राख्नका लागि वैदेशिक मुद्रा खर्चिएर खर्चिलो मानव पुँजीको आयातीत अवस्थालाई सामना गर्दै दोहोरो आर्थिक घाटा व्यवस्थापनको लागि तयार रहन सूचनात्मक संकेतको रूपमा प्रक्षेपण गरेको बुझ्न सकिन्छ । जुन आर्थिक विकास तथा समृद्धिको लागि प्रत्योत्पादक साबित हुने तथ्यहरूले उजागर गर्दै आएको वर्तमान अवस्था हो ।

प्रस्तुत कार्यहरू हेर्दा सामान्यझैँ लागे पनि आयातीत श्रमले दीर्घकालीन अवस्थामा जनसंख्या वृद्धि तथा श्रममा समस्या उत्पन्न गर्दै नेपाल र नेपालीको अस्तित्वलाई नै अल्पमतमा पार्ने प्रवल सम्भावनालाई हल्कारूपमा लिन मिल्दैन । किनभने मुलुकको भू–बनोट नै तिनतर्फ मित्रराष्ट्र भारत तथा उत्तरतर्फ मित्र राष्ट्र चीनको खुला सीमा–व्यवस्थापनका कारण सहजैै मानिसहरूको आवत–जावत गर्न प्रवेशाज्ञाको अभावका कारण अनियन्त्रितरूपमा मानिसहरू बाक्लो उपस्थिति रहने गर्छ । जुन अपवादबाहेक श्रममा नै रूपान्तरित हुने गरेको यस क्षेत्रका जानकारहरूको बुझाइमा रहेको पाइन्छ । किनकि अन्य मुलुकको तुलनामा नेपाल तथा भारतमा श्रम स्वीकृतिपत्रको आवश्यकता नरहेकै कारण भारतमा भन्दा पनि नेपालमा समस्याहरू चुलिने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन ।

रूपान्तरित श्रमले श्रमबापतको ज्याला तथा सेवा शुल्कलाई सम्बद्ध मुलुकको वैदेशिक मुद्रामा नै परिर्वतन गर्दै मुद्रा बहिर्गमनको अनावश्यक सम्भावना विकासले मुलुकले अघोषितरूपमा आर्थिक औपनिवेशिकवादको सामना गर्नुपर्ने हुन्छ । एवम् प्रकारले सामाजिक–राजनीतिक क्षेत्रमा अप्राकृतिक प्रतिस्पर्धा हाबी भई आन्तरिक द्वन्द्व वा सम्भावित अराजक परिवेशको निर्माण हुन सक्ने भएकाले समयमा नै सजक रहँदै वैदेशिक मोहलाई त्याग्नु हितकर रहन्छ ।

श्रम न्यूनताको डरलाग्दो अवस्थाबाट पृथक रहन स्वदेशमा रहेका उत्पादनमूलक वा औद्योगिक समूहले आन्तरिक उत्पादनको सन्दर्भमा स्वदेशी मानवपुँजीलाई परिचालन गर्ने रणनीतिलाई व्यवहारतः अवलम्बन गर्नुपर्ने हुन्छ । जसको सकारात्मक परिणाम भन्नु नै कामको लागि अन्य मुलुकमा बाहिरिने संस्कृतिको दरमा न्यूनरूपमा भए पनि कमी आउनेछ भन्ने विश्वास लिन सकिनेछ । उल्लेखित प्रवृत्तिको कार्यको विकासले प्राविधिक सिप विकासको महत्वलाई औँल्याउने भएकाले अविलम्ब लागू गर्न सरोकारवाला पक्षको ध्यान केन्द्रित रहनु जरुरी भइसकेको छ ।

जसबाट कायमी बढ्दो वैदेशिक मोहलाई क्रमभङ्ग गर्दै युवा स्वरोजगार तथा सिप विकासमा आधारित नयाँ अवधारणाको विकासले आजका युवा जमातलाई मुलुकभित्रै रहन सक्ने वातावरण तयार हुनेछ । जसले मुलुकको विकास तथा समृद्धिमा युवाको जोस, जाँगर तथा सोपश्चात प्राप्त हुने प्रतिफललाई एक आपसमा समायोजन गर्दै वैदेशिक मोहको नियतिबाट टाढा रहन सहयोगी भूमिका निर्वाह
गर्ने देखिन्छ । जसलाई बौद्धिक निर्भरताको गतिशीलतामा आधारित रहेर राष्ट्रको आर्थिक विकासको मूल फुटाउने कार्यको अब्बल नमुना पहिचानको रूपमा गणना गर्दा अत्युक्ति नहोला  ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया