Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसिद्धान्त र व्यवहारमा कुन ठूलो ?

सिद्धान्त र व्यवहारमा कुन ठूलो ?


काठमाडौं । राजनेता मदन भण्डारीले बहुदलीय जनवादको व्याख्या गर्दै भनेका थिए, ‘हामीले सिद्धान्तलाई जोड दियौँ भने पूर्वी युरोपको हालतमा पुग्छौँ, व्यवहारलाई जोड दियौँ भने पञ्चहरूजस्तै वा कांग्रेसजस्तै हुन्छौँ, त्यसैले नेपालको सन्दर्भमा सिद्धान्त र व्यवहारलाई सँगसँगै अघि बढाउने अवधारणा बहुदलीय जनवाद हो ‘भनिएको थियो ।’

कथनी र करणीमा फरक हुन्छ भन्छन् मानिसहरू । माक्र्सवादलाई सुरुमा कथनीको दर्शन मात्रै भनिन्थ्यो । फ्रान्सको पेरिसमा पेरिस कम्युनको जन्म भयो । जब सोभियत संघमा लेनिनवादी सत्ता स्थापना भयो । जब चीनमा जनवादी व्यवस्था स्थापना भयो । तब यो कथनी दर्शनले साकाररूप पायो र व्यवहारको दर्शनको रूपमा विश्वसामु देखा प¥यो । यसैले विश्वका परिवर्तनकामीहरूले यिनै मोडेललाई आ–आफ्नो समाजमा लागू गर्न लागिपरेको देखिन्छ । भारतीय समाजमा महात्मा गान्धीको विचार पनि सुरुमा कथनीमा मात्र सीमित थियो । पछि जब यहि विचारको व्यावहारिकरूपले गर्दा अंग्रेजहरू भारतीय भूमिबाट पलायन भए तब गान्धीवाद पनि एउटा क्रान्तिको मोडेलको रूपमा अगाडि आयो । यसैले कथनी दर्शन जबसम्म व्यवहारमा साकाररूपमा देखा पर्दैन तबसम्म यो साँचो अर्थमा समाजका लागि उपयुक्त सामाजिक दर्शन भन्न सकिन्नँ । माक्र्सवाद लेनिनवाद, माओवाद र गान्धीवाद पनि कथनी दर्शन मात्र भएनन् । विश्वका विभिन्न देशको समाजमा सही सिद्ध भइसकेकाले यसलाई व्यवहारको दर्शन भन्न करै लाग्यो ।

दर्शनको परिभाषालाई सामान्यरूपमा भन्दा हेर्ने काम हो । हेर्ने कामलाई संस्कृतिमा दर्शन भन्छन् । ग्रिक भाषामा ल अफ वाइज्डम अथवा ज्ञानको प्रेम भन्ने हुन्छ । दर्शनको औपचारिक परिभाषा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण हो । यतिले मात्र यसको परिभाषा प्रष्ट हँुदैन । दर्शन भनेको त्यो मूल सत्ताको ज्ञान अथवा खोज हो जसको आधारमा यो सम्पूर्ण संंसारलाई जान्न र बुझ्न सकिन्छ । व्याख्या गर्न सकिन्छ । तैपनि जब यो अरूको देशमा लागू भइसकेको कुरा भए पनि दर्शनले आफ्नो देशको सेवा गर्न सक्दैन भने यो व्यवहारसंगत हुँदैन, काममा आउँदैन ।

दर्शनको सोझो सम्बन्ध सिद्धान्तसँग हुन्छ । सिद्धान्तको सोझो सम्बन्ध व्यवहारसँग हुन्छ । सिद्धान्तलाई ठीक छ, छैन भनी यो पहिले व्यवहारमा जाँचिन्छ । व्यवहारमा सही सावित भएमा यो लागू गरिन्छ । यसैले माओले भनेका छन् ‘चिनियाँहरू जुत्ताको साइजअनुसार खुट्टा काट्दैनन् ।’ बरु खुट्टाको साइजअनुसार जुत्ता बनाउँछन् । यस्तै, नेपालमा मदन भण्डारीले सबैले बुझ्ने भाषामा भने, ‘सिद्धान्त जीवनका लागि हो जीवन सिद्धान्तका लागि होइन ।’ यसैले कुनै सिद्धान्त लागू गर्नु भनेको व्यवहारमै फर्काउनु हो । यसो गर्दा यसले समाजको सेवा गर्छ, जनताको सेवा गर्छ र देशको सेवा गर्छ । सामाजिक दर्शनहरू सिद्धान्त, व्यवहार र सिद्धान्त हुँदै अघि बढ्छ र परिष्कृत बन्दै जान्छन् । यदि सिद्धान्तले व्यवहारको सेवा गर्न सक्दैन भनेदेखि यस्तो सिद्धान्तको प्रयोजन समाप्त हुन्छ । यसबाट कम्युनिस्ट सिद्धान्तमा बनेका नेपालको कुनै पनि पार्टी वा बीपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा बनेको कांग्रेस पार्टीको पनि प्रयोजन समाप्त भयो भन्न सकिन्छ । तर यति भनेर हामीले सम्पूर्ण सिद्धान्त र दर्शन नै फेल भयो भन्ने निचोड निकाल्नु गलत हुनेछ । किनकि यो सिद्धान्त बोकेकाले पढेका र बुझेको कुरा व्यवहारमा लागू गर्ने प्रयास गरेकी गरेनन् भन्ने कुरा यहाँनिर महत्वपूर्ण छ । सिद्धान्त बोक्ने शीर्ष व्यक्तिहरूले सिद्धान्त व्यवहारमा लागू नै गरेनन्, सकेनन् वा लागू गर्ने प्रयासै भएनन् कि के हो ? यो कुरा बुफ्नुपर्ने हुन्छ । लागू गर्ने प्रयासै गरेनन् भन्ने कुरा वास्तवमा सही हो भन्ने व्यवहारमा प्रमाणित भइसकेको छ । कथनीमा माक्र्सवाद वा माओवाद व्यवहारमा पुरातनवाद । कथनीमा प्रजातान्त्रिक समाजवाद व्यवहारमा स्वार्थवाद । यही त हो नेपाली जनताले शीर्ष नेताहरूको देखेको प्रष्ट तस्वीर । यसैले नीति वा सिद्धान्त फेल भएको होइन । नेता फेल भएको भन्न किन नसक्ने ? यो नीतिलाई फेल बनाउने कार्यकर्ताको चाकडी संस्कृति पनि मुख्य हो अथवा बहुदलीय व्यवस्थाका नकारात्मक र खराब पक्षहरूलाई हामीले नियालेनौ कि ! यो पनि यथार्थ हो भन्ने आधारहरू भेटिएका छन् ।

कोहीकोही आजकल भन्ने गर्छन्, विदेशी सिद्धान्तमा चल्ने नेता भएकाले नेपाल नबनेको हो । यसलाई पनि सही मान्ने हो भने खोई त राजा ज्ञानेन्द्रजस्ताले श्रीपेच पहिरेकै हुन् । डा तुलसी गिरीलाई श्रीलंकाबाट नेपाल झिकाएर सत्ताको बागडोरमा सहयोगी बनाएकै हुन । खोई त लछारपाटो लगाएको ? बरु वीरेन्द्रको वंश विनास हुँदा उनी पनि मौन दर्शकको रूपमा देखिएको कुरा घामजत्तिकै छर्लङ्ग छ । यसबाट उनी पनि कुनै न कुनै रूपमा विदेशी इसाराको गोटी भएका थिए भन्ने कुरामा जनता सबैको मतैक्यता छ । यद्यपि मुखले कसैले भन्न सक्दैनन् । यसैले राजा आऊ देश बचाऊ पनि फोस्रो नारा हो । यसबाट ज्ञानेन्द्रले पनि राष्ट्रवादी नेपालीको नेतृत्व गर्न नसक्ने कुुुरा स्पष्ट हुन्छ । कुनै विकल्प नदेखिएकाले देख्ने एउटा गलत विकल्पमध्ये यो एउटा विकल्प मात्र हो ।

यहाँनेर अहिले हामी सिद्धान्त र व्यवहारको कुरामा बढी जोड दिइरहेका छौँ । सिद्धान्त सिद्धान्तमा मात्र सीमित गरियो व्यवहारमा परिणत गरिएन भने पढिने र भाषण गरिने शब्दावलीमा मात्र सीमित बन्छ । यही रत्नजडित शब्दावलीका भाषण सुनेर आजसम्म नेताहरूलाई जनताले पत्याइदिए । यसमै शीर्ष नेताहरूले अब चित्त बुझाउनुपर्छ । हामीले त देश र जनताको नाममा खाईपाई आएको जागिर पनि छोडेका छौँ । म स्वयम्ले पहिलोपटकको छ, सात वर्षदेखि गर्दै आएको शिक्षण पेसा प्रहरी वारेन्टकै अवस्थामा छोडेको हुँ । नेताहरू त डब्बल पेन्सन भइसक्दा पनि पद छोड्न नसक्ने रहेछन् । सत्ताको स्वाद गाडिएपछिको रौनक छुट्टै हुँदोरहेछ । देश र जनताका लागि माखो मारेको केही होइन । यस दृष्टिकोणले हेर्दा सिद्धान्तले व्यवहारको सेवा गरेको पाइएन । भाषणमा भयो व्यवहारमा भएन । चुनावी घोषणापत्रमा पढियो । व्यवहारमा पढ्न पाइएन । यसैले समाजको समस्या हल भएन । देश बनाउन खोजिएन । देश बन्ने कुरो पनि भएन । व्यक्ति बनाउन खोजियो । नेताहरू आफू बने ।

व्यवहारमा जे गरिन्छ त्यही मात्र हुने हो । सिद्धान्तमा जे भनिन्छ त्यो हुने भए बिरुवा नरोपे पनि फल फल्नुपर्ने । अन्तरीक्षयान नै नबनी अन्तरीक्ष पुग्नुपर्ने । तर यस्तो भएको कसैलाई थाहा छैन । संसारमा जेजति विकास भएको छ, त्यो मानिसको प्रयासको फल हो । व्यवहारको प्रतिविम्ब हो । व्यवहारमा जाँदा नै मानिसले नबुझेको सिद्धान्त पनि बढी बुझ्न मद्दत पुग्छ । व्यवहारमा गइसकेपछि नमिलेको सिद्धान्त मिलाउन पनि मद्दत पुग्छ । सिद्धान्त ठीक छ छैन भन्ने जाँच्ने कसी पनि व्यवहार नै हो । यही व्यवहार र सिद्धान्त नमिलेर आजित भएको परिणामस्वरूप स्थानीय चुनावमा जनताले स्वतन्त्रलाई पनि भोट हाले । काठमाडौं माहानगरपालिकामा बालेनले, धरान उपनगरपालिकामा हर्कले र धनगढीमा गोपाल हमालले जिते । पश्चिम, मध्य र पूर्वमा समेत पार्टीहरूलाई थ्रेटको रूपमा जनताले नमुना देखाइदिएकै त छन् । काठमाडौं महानगरपालिकामा बालेन शाहले नक्सा बेगर बनाइएका भौतिक संरचनाहरू डोजर लगाएर सफा गरिदिएका छन् । यस्ता संरचना चाकडी चाप्लुसी, चन्दा, दान र सोर्सफोर्समा ठडिएको थियो । स्वतन्त्र मेयर बालेन शाहले कुनै मोलाहिजा नगरी यस्ता संरचनाहरू भत्काएका छन् । यसबाट शक्तिको आडमा राज्य दोहन गर्ने, सहरी संरचना विकृत बनाउनेहरूको निद हराम भएको छ । दलका कोही कोही नेता त विरोधमै उत्रिए । मेयर बालेनले आजसम्म अधिकांश जनताको साथ सहयोग र सहानुभूति भने पाइरहेकै छन् ।

यस्तै, धरानका हर्क साङपाङ अर्का प्रभावशाली मेयर मानिन्छन् । उनले भाषणमा विशेष जोड दिएको देखिएन । बरु व्यवहारमा बढी जोड दिए । थोरै समय उनी फेसबुकमा पनि देखिए । व्यवहारबाट प्राप्त अनुभव उनले फेसबुकमा सेयर गर्ने गर्छन् । अनि भनेका छन्, ‘म श्रम क्रान्ति गर्न चाहन्छु ।’ यहाँ नयाँ शब्दावली देखियो ‘श्रम क्रान्ति ।’ भाषणको क्रान्तिबाट वाक्क भएका जनतालाई यो एउटा आशा भरोसाको दियो बन्न गएको छ । वास्तवमा श्रम क्रान्ति सबैभन्दा उत्कृष्ट हुने रहेछ । तीन महिनामा जनतालाई पकुवा खोलाको पानी पनि खुवाए । सानोतिनो विद्युत् योजना पनि सफल पारे । यसैले देशविदेशबाट उनको यो श्रम क्रान्ति हेर्न हजारौँहजार मानिसहरू भेला भए । उनको श्रम क्रान्तिमा अत्यधिक मानिसहरूले भाग लिए । यस खालको क्रान्तिमा माओवादीका अध्यक्ष प्रचण्ड पनि एउटा बिरुवा रोपेर सहभागी भएका थिए । यो हामीले गर्ने काम तपाईंले गर्नुभएको छ भनी धन्यवाद पनि दिए । वास्तवमा माओवादीको तर्फबाट पार्टीले गर्नुपर्ने काम आफूले गर्न नसकेको यो स्वीकारोक्ति पनि हो ।

हर्क साङपाङको श्रम क्रान्ति र श्रम संस्कृतिको सुरुआत पनि अब देशमा एउटा मोडेलको रूपमा स्थापित भयो । फेसबुकमा मात्र लेख्नेलाई फेसबुके भनेर हेला गर्थे मानिसहरू । वास्तवमा उनले गरेको काम नगण्य मानिसले विरोध गरे पनि देश विदेशमा जहाँ–जहाँ नेपाली रहन्छन् पहिचानयुक्त मोडेलको रूपमा स्वीकारिएको छ । उनको सिद्धान्त फेसबुकबाट प्रचार भइरहेको भन्न सकिन्छ । हिलो धुलो नछोइ देश विकास हुँदैन भन्ने श्रम सिद्धान्तको मोडेल उनको श्रम संस्कृतिको व्यवहार र फेसबुक पेजमार्फत सबैतिर प्रचार भइरहेको छ । यसैलै भविष्यमा यसै मोडेलमा आधारित पार्टीको नेपालमा खाँचो महसुस भएको छ । हर्क साङपाङ एउटा व्यक्ति हुन् । उनका भनाइमा बोलाइमा थुप्रै त्रुटिहरू अवस्य छन् । कमीकमजोरी नभएका मानिस हुँदैनन् । तैपनि यो खालको सिद्धान्त र विकास गर्ने मोडेल हामीलाई चाहिएको छ । भविष्यमा यो मोडेलअनुसार नै अझ परिष्कृतरूपमा अगाडि जान सक्ने व्यवस्थाको नयाँरूपमा नयाँ संरचनाको आवश्यकता खट्केको छ । किनकि देशमा छुट्टै जागरणको आवश्यकता छ । जुन व्यवस्थाले अवस्था परिवर्तन गर्न सकोस् । अन्तमा सिद्धान्त र व्यवहार एउटै सिक्काको दुई पाटा हुन् । एउटै मात्र भएमा यो अस्तित्वहीन हुन्छ । दुवैलाई स्वीकारेर मात्र हामी अगाडि बढ्न सक्छौँ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया