Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा धानको उत्पादन र मागको सन्तुलन

नेपालमा धानको उत्पादन र मागको सन्तुलन


काठमाडौं । धान—चामल उत्पादन : सन् १९६० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो । तर २०७७/७८ आइपुग्दा सबैभन्दा कम धान उत्पादन गर्ने देश भएको छ । आ ब २०८०/८१ मा नेपालमा सबैभन्दा बढी धान उत्पादन भएको छ । विगत चार बर्षमा (०७६/७७ देखि ७९/८० सम्म) औसत ५४ लाख ४७ हजार चार सय २१ मेट्रिक टन उत्पादन हुने गरेकोमा २०८०/८१ मा औसतभन्दा बढी अर्थात् ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको स्रोत बताउँछ ।

विगत पाँच वर्षमा अर्थात् २०७४/७५ देखि २०७८/७९ सम्ममा भएको धानको उत्पादन तुलनात्मक २०७८/७९ सम्मको न्यून उत्पादन भएको जनाइएको छ । धान थक्याउने समयमा २०७८ असोज ३१ देखि कार्तिक ३ गतेसम्म भएको आँधीबेहरी हावाहुरीसहितको अप्रत्यासित वर्षाले धानमा क्षति पुगेकाले २०८/७९ मा धान उत्पादन घट्न गएको हो ।

२०७८/७९ मा २०७७/७८ भन्दा पाँच लाख मेट्रिक टनभन्दा कमको धान उत्पादन भएको छ । यद्यपि २०७८/७९ मा मौसम अनुकुल हुँदा पनि आव २०७८/७९ मा धान उत्पादन घटेको छ । २०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको देखिन्छ । तर २०७७/७८ मा ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान उत्पादन भएको यियो । २०७७/७८ भन्दा २०७८/७९ मा चार लाख ९१ हजार मेट्रिक टन कम धान उत्पादन भएको देखिन्छ । २०७७/७८ को तुलनामा धानबाली लगाइएको क्षेत्रफल करिब चार हजार हेक्टरको वृद्धि भए पनि उत्पादकत्व नौ दशमलव शून्य नौ प्रतिशतले कमी आई उत्पादकत्व तीन दशमलव ४७ मेट्रिक टन प्रतिहेक्टरमा सीमित हुन पुगेको बताइन्छ ।

यसरी सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व भने सात टन प्रतिहेक्टर रहेको छ । यसैगरी बंगलादेशको चार दशमलव सात टन प्रतिहेक्टर, भुटानको चार दशमलव तीन टन प्रतिहेक्टर, भारतको तीन दशमलव नौ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुवैमा तीन दशमलव आठ प्रतिहेक्टर छ । नेपालको लागि वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये तीन लाख १२ हजार मेटन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ । जबकि धान नेपालसहित एसियाली देशहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वका कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान नै संसारको दश प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औँ धान उत्पादक देशमा पर्छ ।

नेपालमा धान खेती ७७ जिल्लामध्ये ७५ जिल्लामा मनाङ र मुस्ताङबाहेक धान खेती हुने गर्छ । धान समुन्द्री सतहभन्दा ६० मिटर झापाको कचनाकेलममाथिदेखि तीन हजार ५० मिटरसम्मको जुम्लाको हुमचौरसम्म धान खेती हुने गरेको छ । धान खेती उच्च पहाडमा पाँच प्रतिशत, मध्य पहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशतको क्षेत्रमा धान खेती हुन्छ । देशमा प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान बालीको क्षेत्रफल आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा एक प्रतिशतले बढोत्तरी भई १४ लाख ७३ हजार चार सय ७० हेक्टर पुग्ने अनुमान छ ।

यसैगरी उत्पादनतर्फ हेर्ने हो भने आव २०७६/७७ को तुलनामा २०७७/७८ मा ५५ लाख ५० हजार आठ सय ८० बाट एक दशमलव २८ प्रतिशत अर्थात् ७० हजार आठ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार सात सय मेट्रिक टन पुग्ने अनुमान गरिएको थियो । देशमा सबैभन्दा धेरै धानको उत्पादन झापामा भएको पाइन्छ । नेपालको पहाडी २२ जिल्लामा भएको धानको उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ ।

धान बालीको उत्पादकत्वलाई नियाल्दा २०७६/७७ मा तीन दशमलव ८० प्रतिशत प्रतिहेक्टर मेट्रिक टन थियो भने २०७७/७८ मा शून्य दशमलव २८ ले वृद्धि भई तीन दशमलव ८२ प्रतिशत हेक्टर मेट्रिक टन भएको अनुमान छ । स्वदेशमा उत्पादन भएका अघिल्ला वर्षमा ५१ लाख ५१ हजार मेट्रिक टन धानलाई प्रशोधन गर्दा ३० लाख ९० हजार छ सय मेट्रिक टन चामल तयार हुन्छ । देशले वार्षिकरूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयात गर्दै आएको छ । खाद्य पोषणका आधारमा प्रतिव्यक्ति प्रति वर्ष एक सय ३८ किलो चामल आवश्यक पर्छ । विगत केही वर्षअघिदेखि लगातार चामल, धान र धानका बीउ आयात बढ्दै गएको छ । आव २०७८/७९ चैत्रसम्ममा धानको बीउ मात्र २४ करोड ८३ लाख ६९ हजार बराबरको कुल १६ लाख ९९ हजार सात सय ८९ केजी आयात भएको छ ।

धान तथा चामलका वास्तविकता
स्वदेशमा उत्पादन भएका चामलको वर्षभरि सबै नेपालीको पेट भर्न करिब १० लाख मेट्रिक टन धान अपुग भएको देखिन्थ्यो । आव २०७६/७७ मा विश्वभर चामल निर्यात गर्ने प्रमुख देशहरूमा भारत, थाइल्याण्ड, भियतनाम र पाकिस्तान रहेका छन् । धान खेतीले नेपालीलाई रोजगारी दिएको छ । नेपालमा धान नै जीवन हो । एसियाली देशमा खाद्यान्न भन्नाले धान तथा चामल भन्ने बुझिन्छ । धान खेती पानी धेरै चाहिने बाली हो । देशको जीडीपीमा करिब ३० प्रतिशत योगदान दिने कृषि क्षेत्रमा २० प्रतिशत योगदान मात्र यसै धानले धानेको छ । कोरोना भाइरस २०१९ को महामारीमा हाम्रा दिन बिते यसको प्रभाव व्यापक भयो ।

नेपाल सरकारले प्रतिवर्ष धानको न्यूनतम मूल्य प्रतिक्विन्टल माटो र मसिनो चामल गरी तोक्ने गरेको छ । त्यसै अनुरुप नेपाल सरकारले २०७७/७८ मा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल मोटो र मसिनोको क्रमशः दुई हजार सात सय ३५ र दुई हजार आठ सय ८५ तोकेको थियो ।

नेपालमा कुल १६ लाख हेक्टर जमिनमा धानको फसल लगाइन्छ । जसमा ५० लाख टन धानको कटनी हुन्छ । प्रतिव्यक्ति लगभग एक सय २० किलो मिल्ड चामललाई उपयोग गरिन्छ । कुल अनाज खाद्य उत्पादनको ५० प्रतिशतभन्दा बढी र नेपालीहरूलाई यसले क्यालोरी सेवनको झण्डै एक तिहाइ योगदान गर्छ । २०७८/७९ मा चैत्रसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरका ५० करोड ५० करोड ८८ लाख ७८ हजार तीन सय आठ केजी धान आयात भएको छ । त्यसबाट सरकारले ७५ करोड चार लाख बराबरको राजस्व संकलन गरेको छ । उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराका प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरका कमीलगायतका कारणले २०८०÷८१ को धान उत्पादनमा वृद्धि भएको भनिएको छ । लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया