Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटक संख्या बढाउन हवाई उडानको भूमिका

पर्यटक संख्या बढाउन हवाई उडानको भूमिका


काठमाडौं । नेपालमा गत वर्ष अर्थात् सन् २०२३ मा नेपाल सरकार र नेपालका पर्यटन उद्योगी–व्यवसायीहरूले अपेक्षा गरेभन्दा केही बढी विदेशी पर्यटकहरू भ्रमणमा आएका छन् । नेपालमा सन् २०२३ मा आशा नगरिएको संख्यामा विदेशी पर्यटकहरू भ्रमण गर्न आएका थिए । अर्थात्, सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या १० लाख १४ हजार आठ सय ७६ (१० लाख १५ हजार चानचुन) जना पुगेको थियो । जुन संख्याले हामी नेपालीहरूको मनमा एक किसिमको खुसीको बहार नै ल्याएको छ । हुन त तथ्याङ्क हेर्दा सन् २०२३ को डिसेम्बर महिनामा विगत वर्षका डिसेम्बर महिनामा भन्दा अलिक राम्रै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे । त्यसैले गर्दा सन् २०२३ मा सहजरूपमा १० लाखभन्दा बढी विदेशी पर्यटकको आगमन भयो । अर्थात्, सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार आठ सय ७६ जना पुगेको छ भनी माथि नै लेखिसकिएको छ ।

त्यसो त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्याङ्कअनुसार सो वर्ष ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण आएका थिए । स्मरण रहोस्, सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै, गरेर सन् २०१७ मा चाहिँ नौ लाख ४० हजार आठ सय १८ जनाले विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् अघिल्लो वर्ष अर्थात् सन् २०१६ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । रोचक के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धिदर सन् २०१७ र सन् २०१८ मा बराबर रहेको थियो ।

त्यस्तै, गरेर सन् २०१६ चाहिँ सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माइनस शून्य दशमलव नौ प्रतिशतले कमी रहेको थियो । त्यस्तै, सन् २०१५ मा चाहिँ केवल पाँच लाख ३८ हजार नौ सय ७० जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारणचाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनु रहेको थियो । हुन पनि सो वर्ष ठूलो पैमानामा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो । अर्थात् एकैचोटि लगभग एक तिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो । हुन पनि तथ्याङ्ककै आधारमा भन्नुपर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माइनस ३१ प्रतिशतले कमी रहेको थियो । उता सन् २०१४ मा भने सात लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलब नौ प्रतिशतले मात्रै कमी रहेको थियो । त्यस्तै, गरेर सन् २०१३ मा चाहिँ सात लाख ९७ हजार छ सय १६ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए । यो तथ्याङ्क हेर्दाखेरि सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यासँग तुलना गरेर हेर्दा शून्य दशमलव सात प्रतिशत कमी रहेको थियो । तथ्यांकअनुसार सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् २०११ को तुलनामा नौ दशमलव एक प्रतिशतले बढोत्तरी भएको थियो ।

यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्य–तथ्याङ्क हेर्दाखेरि सन् २०१३ देखि सन् २०२३ को ११ वर्ष लामो अवधिमा बल्ल ७२ लाख चानचुन पुगेको देखिन्छ भने उनीहरूको नेपाल बसाइँ अवधि चाहिँ खासै घटेको छैन । अर्थात्, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति बसाइँ अवधि सन् २०१३ मा १२ दशमलव छ दिन, सन् २०१४ मा १२ दशमलव ४४ दिन, सन् २०१५ मा १३ दशमलव १६ दिन, सन् २०१६ मा १३ दशमलव चार दिन, सन् २०१७ मा १२ दशमलव छ दिन, सन् २०१८ मा १२ दशमलव चार दिन, सन् २०१९ मा १२ दशमलव सात सन् २०२० मा १५ दशमलव एक दिन, सन् २०२१ मा १५ दशमलव पाँच दिन र सन् २०२२ मा १३ दशमलव एक दिन रहेको देखिन्छ । तर सन् २०२३ को भने प्रतिव्यक्ति प्रतिदिन कति दिन बसे ? भन्ने विदेशी पर्यटकहरूको नेपाल बसाइँ अवधिको तथ्याङ्क आइसकेको छैन ।

सरकार र निजी क्षेत्रका पर्यटन उद्योगी–व्यवसायीहरूले विगत १०–११ वर्षदेखि वार्षिकरूपमा नेपालमा कम्तीमा पनि १०, १२ लाखदेखि १५ लाखसम्म विदेशी पर्यटक भित्र्याउने घोषणा गर्दै आएका थिए । त्यस्तैगरी बितेको चार, पाँच वर्षदेखि त वार्षिकरूपमा नेपाल भित्र्याउने पर्यटकको संख्या बढेर १२–१५ लाखबाट वार्षिकरूपमा २५, २६, ३० लाखदेखि ३५ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भित्र्याउने घोषणा हुन थालेको देखिन्छ । अथवा भनौँ नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायी तथा उद्योगीहरूले वार्षिक १२, १३, १४, १५ लाख होइन वार्षिकरूपमा २५, २६ ३०, ३५ लाख विदेशी पर्यटकहरू नेपाल भित्र्याउने घोषणा गर्न र लक्ष्य लिन थालेका छन् ।

अझ भएन, नेपालका ठूला राजनीतिक दल र नेताहरूले त तत्काल असम्भव हुने र पत्याउनै नसक्ने गरी वार्षिकरूपमा २५ लाख, ३० लाख, ३५ लाख, ४० विदेशी पर्यकटहरू नेपाल भित्र्याउने भनी सार्वजनिकरूपमा भाषण गर्ने, चुनावी घोषणापत्रमा लेख्ने, उल्लेख गर्ने गर्छन् । यथार्थचाहिँ कस्तो छ भने नेपालले जति सक्दो चाँडो धेरै देशहरूसँग अन्तर्राष्ट्रिय हवाई सेवा स्थापना नगरेसम्म, हवाई उडान धेरैभन्दा धेरै देशहरूमा सक्दो धेरै (एकै हप्तामा कम्तीमा चार, पाँच पटक) हवाई उडान गर्न नसकेसम्म नेपालमा वार्षिकरूपमा विदेशी पर्यटकको संख्या १३, १४ लाख पुग्न पनि मुस्किल पर्छ । त्यसैले हामीले जति नै गफ लगाए पनि अहिलेकै अवस्थामा चाहिँ बढीमा १४, १५, १६ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भ्रमण गराउन सक्छौँ, त्योभन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउन पर्याप्त संख्यामा हवाई उडानको अभावका कारण सम्भावना नै छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया