Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराजनीतिक नेतृत्व अलोकप्रिय बन्दै गए, किन ?

राजनीतिक नेतृत्व अलोकप्रिय बन्दै गए, किन ?


काठमाडौं । हिजो नेपालमा प्रजातन्त्रका लागि जेलनेल खाने, परिवार गुमाउने, सम्पत्ति र खुसी गुमाउनेमाथि आज प्रहार भइरहेको छ । नयाँ पुस्ता उनीहरूको विरुद्धमा केन्द्रित हुँदै गइरहेका छन् । सामाजिक सञ्जाल र सडक सबैतिर आक्रोश मात्र व्यक्त भएको देखिन्छ । नयाँ पुस्ताले उनीहरूमाथि दलाल, नोकरशाही, घुसखोरीसँगको साँठगाँठ, नवसम्भ्रान्त वर्गको विकास, देश आर्थिकरूपमा जर्जर, प्रजातान्त्रिक शासन व्यवस्थाका मान्यताहरूको धज्जी उडाउने, आफैँ भ्रष्टाचार र अस्तव्यस्ततामा डुबेको आरोप लगाइरहेको छ । प्रजातन्त्रका लागि लडेका यस्ता आदर्श राजनीतिक नेतृत्वप्रति किन यस्तो आक्रोश बढ्यो ? आरोप लाग्यो भन्नेबारे सम्बन्धित निकायले बुझ्ने प्रयास गरेन ।

नेपालले जति–जति नयाँ राजनीतिक व्यवस्थाको अभ्यास गर्दै गयो त्यति नै राजनीतिक नेतृत्व विकर्षित हुँदै गयो । नागरिकको अपेक्षाअनुरूपको राजनीतिक व्यवस्थाभन्दा पनि राजनीतिक व्यवस्था अनुरूपको नागरिक बनिदिनुपर्ने अवस्था बन्दै गयो । यसलाई राजनीतिक नेतृत्वले अध्ययन र अनुसन्धान गरेन । नेतृत्व आफ्नो अभिष्ट पूरा गर्न मात्र लाग्यो, जसरी नै आफू र आफ्नो हित हुने व्यक्तिगत अपेक्षाले निर्देशित भयो । वर्तमानको राजनीतिक, आर्थिक र सामाजिक परिदृश्यबाट नागरिकको पहिचान गरिएन, मानवीय मनोवृत्ति, व्यवहार, सोच, विचार, चाहना र आवश्यकतालाई सम्बोधन गर्नबाट राजनीतिक नेतृत्व चुक्यो ।

आजको युवा वर्तमानको परिणाम खोजिरहेको छ । हिजोको इतिहासभन्दा पनि भविष्यको आशा र भरोसा उनीहरूलाई चाहिएको छ । अहिलेको युवा पढाइ÷लेखाइमा अगाडि छ । इन्टरनेटको सञ्जालले उसलाई विश्वको कुनाकुनामा पु¥याएको छ । विश्वका घटना परिघटनालाई ऊ नियालिरहेको छ । विश्व सञ्जालसँग जोडिएर संसारभरिका आविष्कार, प्रविधि प्रगति र विकासबारे युवा जानकार बन्दै गइरहेको छ । हालको राजनीतिक नेतृत्व विश्वव्यापीरूपमा फैलिरहेको इन्टरनेटको सञ्जाल र यसले ल्याएको राजनीतिक, सामाजिक र सांस्कृतिक उथलपुथलसँग झस्किएको छ । यसका आयाम र चुनौती बुझ्न चाहेको छैन बरु उल्टै सामाजिक सञ्जालले नयाँ पुस्तालाई अनुशासनहीन र अराजक बनायो भनेर गुनासो गरिरहेको छ । यसकै परिणामस्वरूप सरकारले कात्तिक अत्यतिरबाट सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगायो ।

लगभग चार दशकसम्म राजनीतिक नेतृत्वमा खासै परिवर्तन हुन सकेन । व्यवस्था त परिवर्तन भए तर राजनीतिक संस्कार परिवर्तन भएन । यो हुनका लागि पुस्तान्तरण आवश्यक हुन्छ । नेपालको राजनीतिमा पुस्तान्तरणले प्रश्रय पाएन । जसका कारण राजनीति नै चुनौतीको मोडमाका रुमल्लिरहेको छ । वर्तमान समस्याको गहिराइ बुझ्न पुस्तान्तरको अध्ययन जरूरी छ । विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणबाट पुस्तान्तरको विषय गहिरिएर गएको छ । तर नेतृत्वले समस्याको रूपमा यसलाई देखेन । पछिल्ला दिनमा पुस्तान्तरणको असर हाम्रो समाजमा पनि गहिरोसँग देखिन थालेको छ । सम्बोधन भइरहेको छैन । यसले विस्फोटन गराउन सक्ने सम्भावना बढाउँछ ।

लामो समयसम्म जीवन गुजारेका वर्गहरू इतिहासमा उनीहरूले समाज र देशका लागि त्याग गरेका विषयमा गर्व गर्छन् । देशको दूरदराजमा बस्ने मानिस कुनै नेताको भाषण सुन्न घण्टौँ पैदल हिँडेर आउँथे र दिनभरि भाषण सुनेर बेलुका घर फर्किन्थे । नेताप्रति उसको कति सम्मान थियो, नेताको छेउमा जान लालायित हुन्थे, नेतालाई सबैभन्दा ज्ञानी, विद्वान र असल ठान्थे । उनीहरूले बोलेको शब्दको नक्कल गर्दै हाम्रा नेताले भनेको भन्थे । नेताले बोलेका शब्दलाई सूत्र बनाउँथे, तथ्यगत सूचनाको स्रोत मान्थे ।

हिजोआज हेर्दा नयाँ युवा पुस्ताले नयाँ नेतृत्व गर्ने अनुहार खोजिरहेको छ । यी युवा नयाँ पुस्ताको समर्थनमा छ, नयाँ पुस्ताको कुनै गल्तीलाई पनि उनीहरू बेवास्ता गर्दै बचाउमा लागेका छन् । यसको वर्तमान उदाहरण हो, हर्क र बालेन । हर्क बालेनले जे–जस्तो बोले पनि बजारमा समर्थन नै पाइरहेको छ । उनीहरूले जे गर्छन् ठीक गर्छन् भन्नेमा नयाँ पुस्ता विश्वस्त बनिरहेको छ । वास्तवमा यो सबै आजसम्म नेतृत्व तहमा बसेर शासन गरिरहेका पुराना नेताहरूप्रतिको वितृष्णा हो । जनतालाई हाम्रा नेताले यतिसम्म त गरिरहेका छन् है भन्ने विषयमा आश्वस्त पार्न नसक्नु उनीहरूमा रहेको ठूलो कमजोरी नै हो ।

हो नी यो पुस्ताले घर छोडेर विदेशिएको बुबा, आमा, दाइभाइ, दिदीबहिनीलाई देखेको छ । घर बनाउने सपना बुनेर गएकाहरूको लासको कोफिन देखेको छ । सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचार र ठूला नीतिगत भ्रष्टाचार देखेको छ । नेताहरू जनताले तिरेको कर खर्च गरेर विदेशमा महँगो उपचार गर्न गएको देखेको छ । सामान्य परिवारले उपचारका लागि भोगेको सास्ती देखेको छ । महँगीले उपभोगमा हुन गएको कटौती देखेको छ । गरिबी र बेरोजगारीले उजाडिएको जीवन देखेको छ । जीवनको असुरक्षा र दैनिक बढ्दो अस्तव्यस्तता देखेको छ । अनी ऊ राज्य र राज्य चलाउने नेतृत्वप्रति आक्रोशित नहोस् पनि कसरी ?

देशमा प्रजातन्त्र, प्रजातान्त्रिक शासन व्यवस्था तर सरकारबाट नागरिकलाई पु¥याइने सेवा सुविधा घट्दै गइरहेको, न्याय दिने न्यायालय र सुरक्षा निकाय नागरिक विमुख बनिरहेको अवस्था छ । भनिन्छ, एक मुर्ख सैनिकभन्दा एक निर्वाचित नेताले प्रजातन्त्रलाई खतरामा पार्न सक्छ । प्रजातान्त्रिक नेताले प्रजातान्त्रिक तरिकाले प्रजातन्त्रलाई पलपलमा मार्छ । हो, नेपालको वर्तमान गणतन्त्र यसै परिस्थितिबाट गुज्रिरहेको छ । यसैकारण प्रजातान्त्रिक नेतालाई आफू जनताबाट अलोकप्रिय हुन थालेको महसुस हुन थाल्यो र उनीहरू असुरक्षाको अनुभूतिले निरंकुशताको बाटो लिन पुगेका छन् । आज व्यक्ति, व्यवसाय असुरक्षित छ भने यिनै नेता कार्यकर्ताहरूबाटै असुरक्षित छ ।

मुलुकमा प्रजातन्त्र पुनस्र्थापनापश्चात् निष्पक्ष रहनुपर्ने निकाय न्यायालय, भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरूपयोग आयोग, कैयौँ संस्थाहरू राजनीतिक दलहरूबीच भागबन्डा लगाउने काम भयो । नागरिकलाई सेवा प्रदान गर्ने सरकारका निकायहरू निकम्मा र भ्रष्ट बन्दै गए । पढेलेखेका लाखौँ युवा स्वदेशमा भविष्य नदेखेर मुलुक छाडेर परदेश जान बाध्य बने । राजनीतिक नेतृत्वमा रहेकाहरू, राजनीतिले संरक्षण गरिदिन्छ भन्ने विकृत सोच राखेर यसै अस्तव्यस्त राजनीतिको मतियार बने । देशभित्रको सबै विसंगतिमा जानेर पनि मतियार बनी आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नेहरूको कमी छैन । यस्ता विकृत सोचले नागरिकको समस्या, आवश्यकता र चाहनालाई कसरी समाधान गर्न सक्छ र ? यस्तो अवस्थामा जनता राजनीतिक नेतृत्वप्रति आक्रोशित हुनु आश्चर्य होइन, स्वाभाविक हो । आज मुलुकबाट करिब एक करोडको हाराहारीमा जनता बाहिरिएका छन् । उनीहरू रोजगारीको खोजी, गुणस्तरी शिक्षाको खोजी, सुरक्षित स्वास्थ्य प्रणाली, जीउधनको सुरक्षा, आधारभूत वस्तुमा सरकारको ग्यारेन्टी खोज्दै बाहिरिएका हुन् । अघिल्लो वर्ष मात्र ७१ हजारले आफ्नो देशै छाडेर सदाका लागि विदेशिए । आजभोलि, सहर रित्तिँदै छ, गाउँ रित्तियो, कलेज रित्तिए र अन्ततः घाट पनि रित्तिँदै जाने अवस्थामा छन् । यी सबै दुर्धन्यको पक्षधर राजनीति नै बन्न पुग्यो । उसले अध्यात्म, सामाजिक संस्कार, इतिहास, संस्कृति धर्मलाई विनाअध्ययन अनुसन्धान क्षय गर्दै लग्यो । जसका कारण उसलाई देशको यो दूरावस्थाको दोष लगाउनु गलत होइन । नत्र त्यो कृषकले, उद्यमीले, शिक्षकले, कर्मचारीले के बिगा¥यो र के नै बिगार्न सक्छ र ? पछिल्ला दिनमा जनाधार डरलाग्दो गरी कमजोर बन्दै गएका हाम्रा प्रजातान्त्रिक नेताहरूले बेलैमा बुझ्नु जरूरी छ । अब उनीहरूले आफ्ना दलका सक्षम पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिलो गर्नै हुँदैन । नयाँ पुस्ता पनि सशक्त ढंगबाट भावी योजना र कार्यक्रमसहित नागरिकसँग आउन जरुरी छ । नागरिकले नयाँ युवा भन्दैमा चुल्ठे मुन्द्रे, तिघ्रे, पाखुरे खोजेका होइनन् । मुलुकको आर्थिक समृद्धिको खाका तयार गर्न सक्ने र जनताको घरदैलोमा पुगेर यो व्यवस्था र प्रक्रियाप्रति उनीहरूलाई आश्वस्त बनाउन जरूरी छ । नत्र नेताका विरूद्धको यो आक्रोश व्यवस्थाविरुद्धकै आक्रोश बन्न सक्ने खतरा देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया