Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलगानी सम्मेलनमा नेपालको अपेक्षा

लगानी सम्मेलनमा नेपालको अपेक्षा


काठमाडौं । जब देशको अर्थतन्त्र कमजोर हुँदै जान्छ अनि विभिन्न प्रकारका बहस हुन थाल्छन् । अहिले कोही अर्थतन्त्रले लय समात्दै छ भन्छन् भने कोही अर्थतन्त्र संकटमा गइरहेको छ भनिरहेका छन् । कतिले जुनसुकै समयमा अर्थतन्त्रमा संकट आउन सक्छ भन्ने पनि गरेका छन् । सत्तामा बस्नेहरूमा पनि एकै किसिमको विचार आउन सकेको छैन । सामान्य नागरिकले पनि देशको अर्थतन्त्र सहज भएको अनुभव गरेको अवस्था देखिँदैन ।

अहिले देशको अर्थतन्त्र फस्टाउनुको सट्टा खुम्चिँदै गएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रको एक मात्र सूचक विप्रेषण धनात्मक हुँदैमा अर्थतन्त्रले लय समातेको छ भन्न सकिँदैन । किनभने अर्थतन्त्रमा न्यून गार्हस्थ बचत, न्यून लगानी, पुँजी निर्माणको अभाव, न्यून उत्पादन, न्यून लगानी, पुँजीगत बजेट खर्च गर्न नसक्नु, चालूगत बजेट वृद्धि हुनुजस्ता कुरामा सुधार हुन सकिरहेको छैन । जसको परिणामस्वरूप देशको अर्थतन्त्र खस्किँदै गएको अहिलेको अवस्था हो । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अग्रणी भूमिका रहेको छ । किनभने कुल जनसंख्याको ६४ प्रतिशत यही कृषि पेशामा लागेका छन् र कुल गार्हस्थ उत्पादनमा करिब २३ प्रतिशत यसैको योगदान छ । यद्यपि यस क्षेत्र उत्पादनमुखी बन्न सकिरहेको छैन । कृषिप्रधान देश भनिए पनि आयातमा नै भर पर्नुपरेको छ । कषि क्षेत्रमात्र होइन स्वास्थ्य, शिक्षा, खाद्यान्न लगायतका क्षेत्रहरू समेत खस्कदै गएका छन् र जनता चरम निरासा परेका छन् । अहिले देश हरेक क्षेत्रमा कमजोर हुंदै गएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नै आर्थिक क्रियाकलाप खस्कदै गएको कारणले गर्दा पनि नेपालको अर्थतन्त्र प्रभावित भएको छ । यसको लागि देशमा वित्तीय साधन स्रोतको अपर्याप्तता भएको र बाह्य मुलुकबाट पनि सहयोगको वाताबरण त्यति बन्न नसकेको हुनाले विकल्पको रूपमा वैदेशिक लगानी भित्र्याएर भए पनि देशको अर्थतन्त्र प्रभावकारी बनाउने मुख्य उद्देश्य रहेको देखिन्छ । यसैलाई मध्यनजर राखेर सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि आगामी ०८१ साल वैशाख ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भनेको छ र यसका लागि केही प्रारम्भिक कार्य प्रारम्भ गरिएको देखिन्छ ।

यसै विषयलाई लिएर अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको सार्वभौम साख मूल्याङ्कन कन्ट्री रेटिङ गर्ने कुरा बताएका छन् । देशको अर्थतन्त्र कमजोर हुँदै गएको अवस्था र उद्योग तथा व्यवसायहरू धराशायी भएको समयमा कन्ट्री रेटिङ कस्तो गरिने छ भन्ने कुरा अहिले बहसको विषय बन्न गएको छ । कन्ट्री रेटिङबाट लगानीकर्ता कतिसम्म विश्वस्त हुने छन् त्यो अहिले नै भन्न सकिँदैन । यसअघि पनि अन्तर्राष्ट्रिय सम्मेलन दुई पटकसम्म भएका थिए । ती सम्मेलनबाट नेपालले खासै फाइदा लिन सकेको देखिँदैन । अहिले त झनै देशमा लगानीको वातावरण खस्किँदै गएको अवस्था छ ।

हो, अहिले अर्थतन्त्रमा चौतर्फी दबाब सिर्जना हुँदै गएको छ । अर्थतन्त्रका आधारभूत पक्ष भनेका सरकारी, सहकारी र निजी क्षेत्र नै हुन् । यी तीनै क्षेत्र खस्किँदै गएको अवस्था छ । सरकारी क्षेत्रमा भ्रष्टाचार बढ्दै गएको छ । सानो काम लिनको लागि पनि जनताले ठूलो मूल्य चुकाउनुपर्छ । मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकेको छ । जनतालाई दैनिकी सञ्चालन गर्न कठिन हुँदै गएको छ । भ्रष्टाचारका समाचारहरूले अखबारका पृष्ठ भरिएका हुन्छन् । सहकारीमा भएका बेथितिले जनताको बचत जोखिममा परेको छ ।

त्यस्तैगरी निजी क्षेत्र तहसनहस हुन पुगेको छ । उद्योग व्यवसाय थला परेका छन् । उत्पादन प्रायः ठप्प भएको अवस्था छ । कर्जाको सावाँब्याज भुक्तानी गर्न सकिरहेका छैनन् । त्यसकारण औद्योगिक वातावरण निर्माण गरिदिन उद्योगी व्यवसायीहरूले सरकारसँग माग गरिरहेका छन् । सरकारले केही सुधारका प्रयास प्रारम्भ गरेर संबोधन गरेको भए पनि लगानीकर्ता विश्वस्त हुन सकिरहेका छैनन् । यसरी देशमा औद्योगिक लगानीको वातावरण कमजोर भएको हुनाले नै सरकारले अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्मेलन गरेर विश्व समुदायलाई विश्वस्त बनाएर नेपालमा लगानी भित्र्याउन जुन सम्मेलन गर्दैछ त्यो आफैँमा निकै महत्वपूर्ण हुनेछ । मुख्य प्रश्न भनेको अन्तर्राष्ट्रिय समुदायलाई कति विश्वस्त बनाउन सकिन्छ त्यसमा लगानी भरपर्ने हुन आउँछ ।

अहिले देशको अर्थतन्त्रमा मात्र होइन राजनीति क्षेत्र पनि कमजोर भएको अवस्था छ । जबसम्म स्थिर सरकार हुँदैन तबसम्म लगानीको वातावरण बन्न सक्दैन । अस्थिर सरकारले स्थायी प्रकृतिको आर्थिक नीति निर्माण गर्न सकिरहेको हुँदैन भने अर्कोतर्फ भएका नीति कार्यान्वयनमा पनि उत्तिकै समस्या आएका हुन्छन् । पटक–पटक सरकार परिवर्तन भइरहँदा नीतिहरू पनि फेरिँदै जाने हुन्छन् । यस प्रकारको अवस्थामा वैदेशिक लगानी आउन सक्ने देखिँदैन । वैदेशिक लगानीको लागि त राजनीति, आर्थिक र सामाजिक वातावरण लगानीमैत्री हुनुपर्छ । यी क्षेत्रमा सुधार हुन नसकिरहेको अहिलेको अवस्थामा वैदेशिक लगानी सजिलै आउंँछ भन्ने विषयमा त्यति आशावादी हुन सकिँदैन ।

यसअघिको लगानी सम्मेलनमा अमेरिकी व्यापारीहरूले नेपालमा यदि भ्रष्टाचार नियन्त्रण हुन्छ भने लगानी आउन सक्छ भनेका थिए । यो भनाइको अर्थ नेपालमा भ्रष्टाचार व्याप्त छ भन्नु नै हो । अहिले एनसेल प्रकरणले पनि निश्चय नै अन्तर्राष्ट्रिय लगानीकर्तालाई झसङ्ग पारेको छ नै । वैदेशिक लगानी त्यस्तो देशमा आकर्षित हुन्छ जहाँ लगानीकर्ताले आफूले गरेको लगानीबाट बढी फाइदा लिन सकिने हुन्छ । नेपालमा राजनीतिक तथा प्रशासनिक वातावरण लगानीमैत्री नभएको हुँदा सजिलैसँग लगानी आउन सक्ने सम्भावना भने न्यून नै देखिन्छ । यति छोटो अवधिमा लगानीको लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनामा परिवर्तन ल्याउन पनि त्यति सम्भव देखिँदैन । जुन कुरा लगानीकर्ताको लागि आवश्यक हुन्छन् ।

अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त तुल्याउन नेपालले गर्नुपर्ने कामहरू धेरै नै रहेका छन् । लगानीको लागि पूर्वाधारको रूपमा रहेका समसामयिक ऐन कानुन निर्माण र संशोधन गर्नुपर्ने हुन आउँछ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कतिपय कानुन संसद्बाट पारित गराउनुपर्ने हुन्छ । भनिन्छ, राजनीतिक दबाब, प्रशासनिक झण्झट र बढ्दो भ्रष्टाचारले गर्दा पनि लगानी सजिलोसँग आउन सक्ने अवस्था देखिँदैन । साथै, लगानी आकर्षणको लागि खासै पूर्वाधार र तयारी नेपालले गरेको पनि देखिँदैन । तर अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले भने लगानी गरिने देश र लगानीका क्षेत्रको विषयमा पहिले नै गहन अध्ययन अनुसन्धान गरेर मात्र लगानी गरेका हुन्छन् । त्यसकारण लगानीको लागि आवश्यक पर्ने पूर्वाधारको अभावमा सरकारले भनेजस्तो गरी सजिलोसँग वैदेशिक लगानी आउने देखिँदैन ।

अहिले नेपालको आर्थिक अवस्था ज्यादै कमजोर हुँदै गएको छ । नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीहरू पनि आफ्नो कम्पनीहरू बेचेर जाने अवस्थामा छन् । हालै एनसेलको खरिद बिक्री प्रकरणले लगानीको वातावरण झनै बिग्रिने सम्भावना बढ्दै गएको छ । एकमात्र ठूलो वैदेशिक लगानीकर्ता एनसेलले नेपालमा लगानीको वातावरण नरहेको भन्दै बाहिरिएको अवस्थामा नयाँ विदेशी लगानीकर्ता प्रवेश गर्न सक्ने अवस्था कमजोर हुँदै गएको छ । यसले गर्दा पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि नराम्रो प्रवाह भएको छ र लगानीमा धक्का अवश्य नै पर्ने देखिन्छ ।

अर्थतन्त्र खस्किँदै गएको अवस्थामा सुधारको प्रयास गरिनुलाई राम्रै मानिन्छ । स्वयम् अर्थमन्त्रीले लगानीका सबै समस्या र चुनौती समाधान गर्न लागिपरेको भने पनि के–के सुधार गरियो र कति कुरा सुधार गर्न बाँकी छन् भन्ने कुरा वस्तुगतरूपमा आउन सकेको छैन । त्यसकारण अन्तर्राष्ट्रिय जगत अहिले नै विश्वस्त हुन सक्ने अवस्था देखिँदैन । लगानीका पूर्वाधार बनी नसकेको अवस्थामा ह्वात्तै लगानी आउने अवस्था हुँदैन । छोटो समयमा धेरै काम गर्नुपर्ने र त्यसमा पनि संसद्मा विधेयक प्रस्तुत नैै नभएको अवस्थामा आगामी वैशाख ९ र १० गते सम्मेलन हुन सक्छ भन्ने कुरामा शंका गर्न सकिन्छ नै । नेपाल विदेशी लगानीको लागि उपयुक्त भए पनि विश्वस्त हुन सक्ने आधारहरू भने निर्माण भइनसकेको अहिलेको अवस्था हो । यदि अन्तर्राष्ट्रिय लगानी ल्याउन सकियो भने लगानीका क्षेत्रहरू भने प्रशस्त नै देखिन्छन् । मुख्यरूपमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, सिँचाइ, सडकजस्ता क्षेत्रहरू रहेका छन् । आफ्नो स्रोत साधनको अभावको कारणले सञ्चालन गर्न नसकिने भएकाले यी क्षेत्रहरूमा विदेशी लगानीको आवश्यकता अनिवार्य नै हुन्छ । मुख्य प्रश्न भनेको कसरी लगानी भित्र्याउने भन्ने हो किनभने विकास निर्माणमा हामी निकै कमजोर अवस्थामा गुज्रिएका छौँ ।

बिदेशी लगानीकर्तालाई विश्वासमा लिनको लागि धेरै काम गर्नुपर्ने बाँकी देखिन्छ । एकातिर सम्मेलनको आन्तरिक तयारीको प्रारम्भिक काम नै सुरु भएका छैनन् भने अर्कोतर्फ लगानीकर्तालाई आकर्षण गर्नका लागि यो–यो काम भइसकेको र अब कुनै समस्या छैनन् भन्ने विश्वास दिलाउन सक्ने आधार निर्माण भई नसकेकाले यस दिशातर्फ सरकार आक्रामकरूपले अघि बढ्नुपर्ने देखिन्छ ।

यसअघिका सम्मेलनबाट के–कति उपलब्धि हासिल भयो भन्नेबारेमा जनतालाई जानकारी हुन सकेको छैन । सम्मेलनको उपलब्धिको मूल्याङ्कनबाट अब हुने सम्मेलनमा राखिने एजेन्डा प्रभावकारी बन्न सक्छन् । साथै, लगानीको अवधारणा, पहिचान तथा स्थितिको विश्लेषण गरी परियोजनाको अवधारणा तयार गरेर लगानीकर्तालाई विश्वस्त बनाउनुपर्छ । यदि नेपालले अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई विश्वास दिलाउन सक्यो भने निश्चय नै लगानी आउन सक्नेछ र विकासले गति लिन सक्ने अपेक्षा गर्न सकिने छ । कतिपय सानातिना सुधारका काम पनि हुन नसकेको अहिलेको अवस्था छ । एकद्वार प्रणाली भनिए पनि प्रभावकारी भएको छैन । पूर्वसम्मेलनमा गरिएका प्रतिबद्धताबमोजिम लगानी आउन किन सकेनन् सम्मेलनमा छलफलको विषय बनाउनुपर्छ । यसरी नै सम्मेलनमा भाग लिँदै जाने उपलब्धि केही नहुने हो भने सहभागिता जनाउनुको के अर्थ भयो र ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया