Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसांसदहरू व्यक्तिगत स्वार्थमै रमाउने, देशचाहिँ कसले बनाउने ?

सांसदहरू व्यक्तिगत स्वार्थमै रमाउने, देशचाहिँ कसले बनाउने ?


काठमाडौं । निजी कार्यालयमा काम गर्ने कर्मचारीलाई समस्या समस्यै छ । पाँच मिनेट मात्र ढिलो भयो भने साहु रिसाउँछन्, तलब पनि काटिन्छ । त्यही ठाउँमा सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कति आनन्द छ । जनताबाट चुनिएर आएका सांसदले १४ महिनामा के गरे ?

मासिक लाखौँ रुपैयाँ तलबभत्ता बुझे तर प्रगति शून्य ? सांसदहरूलाई तलबभत्ता लिन लाज पनि नलाग्दो रहेछ । निर्वाचित भएर आएको वर्ष दिन कटिसक्दा समेत एउटा मात्र विधेयक पारित भएको छ । त्यो हो मिटरब्याजविरुद्धको विधेयक । सांसदको नाममा राज्यको ढुकुटी दोहन गर्ने काम मात्र भएको छ ।

उपचार खर्च, सरकारी गाडी, घरभाडा सबै सरकारले दिँदै आएको छ । यता उनीहरूको देशविदेश सयरको खर्च समेत राज्यले उठाउनुपरेको छ । सांसदहरू व्यक्तिगत स्वार्थपूर्तिमै दौडिएका छन्, जनताको काम त्यसै । यो अवधिमा कोही सांसद बचतकर्तालाई बिल्लीबाँठ बनाएको सहकारीको साधारणसभामा देखिए ।

उनीहरू त्यहाँ विशेष अतिथि बनेका थिए । कुनै सांसद एवम् मन्त्रीचाहिँ ट्याक्सीको कार्यक्रममा अतिथि बनेको पनि देखियो । सिन्डिकेटधारी यातायात व्यवसायी जसले एकाधिकार जमाएर सर्वसाधारणलाई दुःख दिइरहेका छन्, बाटो कब्जा गरेका छन्, तिनकै कार्यक्रममा मन्त्री अतिथि बनेर पुगेका थिए ।

सेवा दिने नाममा संघसंस्था खोल्ने, जनताको पैसा खाइदिने, ठग्ने, राज्यलाई राजस्व छल्ने, सिन्डिकेट लगाउनेको कार्यक्रममा जानुहुँदैन भन्ने चेतना सांसद एवम् मन्त्रीहरूसँग छैन । वास्तवमा भन्ने हो भने उनीहरूसँग सोच्नलाई दिमाग नै छैन । जनताको काम गर्न छोडेर व्यवसायी आवरण ओढेर बसेका ‘ठग’हरूको कार्यक्रममा जाँदा उनीहरूलाई अलिकति पनि हिनताबोध भएन ?

सांसद र मन्त्रीले आफ्नो समय जनताको काममा लगाउनुपर्ने हो । उनीहरूलाई एनजीओ, सहकारी, यातायातसम्बद्ध संघसंगठनको कार्यक्रम उद्घाटन गर्न वा अतिथि बन्न त जनताले चुनेर पठाएका होइनन् । तर लाज पचाएरै, लाइन लागेरै सांसद र मन्त्रीहरू यस्ता संघसंगठनको कार्यक्रममा पुगेको देखिन्छ ।

अतिथि बन्नका लागि सांसद र मन्त्रीहरूबीच होड चल्ने गरेको छ । २०७९ मंसिर ४ गते निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाको चुनाव गराउँदा जनताले तिरेको खर्बौँ रुपैयाँ खर्च भएको छ । दुई घण्टा लामो बाटो हिँडेर, दिनभर लाइनमा बसेर जनताले आफ्नो प्रतिनिधि चुनेर पठाए ।

तर ती प्रतिनिधि व्यक्तिगत स्वार्थमै रमाउँदा जनता निराश भएका छन् । जनताले तिरेको कर र उनीहरूको दुःख त ‘बालुवामा पानी’ भएको छ । जनताले घामपानी नभनी खुट्टा दुखाइदुखाइ मतदान गर्नुको पछाडि त्यति ठूलो कुनै आश राखेका छैनन् । बस्, आफ्नो क्षेत्रमा विकास गरिदेलान् र ऐन, कानुन बनाउलान् भन्ने मात्र हो ।

तर अहिले आएर जनतालाई बेकार मतदान गर्न गएछुजस्तो अनुभव भएको छ । न विकास छ न ऐन, कानुन नै बन्छ । राज्यको ढुकुटी सोत्तर पार्नेबाहेक कुनै प्रगति हुन सकेको छैन । चुनावअघि भोट माग्दै घरदैलोमा पुगेका जनप्रतिनिधिहरू अहिले फर्किएर जाँदैनन् । आफ्नो क्षेत्रको जनताको अवस्था के छ, तिनलाई मतलब छैन ।

मतलब छ त कार्यक्रममा अतिथि बन्न पाइन्छ कि पाइँदैन ? विदेश भ्रमणमा जान पाइन्छ कि पाइँदैन ? ठेक्कापट्टाबाट कमिसन खान पाइन्छ कि पाइँदैन ? राज्यबाट बढीबढी सेवासुविधा लिन पाइन्छ कि पाइँदैन ? जनता मरून् कि बाँचून् तिनलाई चासो छैन । जनप्रतिनिधिप्रति सर्वसाधारणको गुनासो मात्र छ ।

सांसदहरू एकपछि अर्को गर्दै विभिन्न आरोपमा मुछिरहेका छन् । नमुछिऊन् पनि किन ? दलालीले संसद् भरिएको छ । घरजग्गा दलाली, सेयर दलाली, मेडिकल क्षेत्रका माफिया, सहकारी क्षेत्रका दलाली, यातायात दलाली, निर्माण क्षेत्रका दलालीलगायतले संसद् भरिपूर्ण छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएका छन् । यता, नेपाली कांग्रेसबाट सांसद बनेका डलर अर्बपति एवम् विवादास्पद व्यवसायी विनोद चौधरीमाथि सरकारी जग्गा हिनामिनाको आरोप लागिसकेको छ । राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको आरोप चौधरी ग्रुपमाथि लाग्दै आएको छ ।

देश बनाउन होइन, आफ्नो काण्ड लुकाउन सांसद बनेको त प्रष्टै भएको छ । संसद् चले पनि अवस्था त्यही नै छ । जतिबेला पनि जुहारी चलिरहेको हुन्छ । एउटा पार्टीले अर्कोमाथि हिलो छ्याप्नेबाहेक केही उपलब्धि हासिल हुन सकेको छैन । कानुन बनाउन सदनमा पुगेकाहरू जनताको विषयमा बोल्दैनन्, हाम्रो पार्टी यस्तोउस्तो भन्दै गुनगान गाएर निस्किन्छन् ।

अधिकांश समय संसद् ‘चिडियाखाना’ जस्तो देखिन्छ । सत्तापक्ष होस् या विपक्ष कोही पनि जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन् । देश र जनताका लागि उनीहरूले कहिले पनि गम्भीर भएर बोलेनन् । सहकारीले बचतकर्तालाई धुरुधुरु रुवाएको छ । लाखौँ बचतकर्ताको खर्बाैँ रुपैयाँ सहकारी सञ्चालकले खाइदिए ।

बचतकर्ताहरूको ‘बिल्लीबाठ’ भएको छ । तर सांसदहरू यस विषयमा चुइक्क बोल्दैनन् । आफ्नो जिन्दगीभरको कमाइ डुबेको तनाव सहन नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन् । कतिपय डिप्रेसनमा गएका छन् । सहकारी काण्डमा जोडिएको सांसद पनि सदनमै छन् ।

तर यो विषयमा अन्य सांसदको मुख खुल्दैन । देशमा आर्थिक मन्दी छ । सटरहरू धमाधम खाली भइरहेका छन् । कोठा छोडेर सर्वसाधारण आफ्नै गाउँघर फर्किएका छन् । घरजग्गा, सेयर, गाडीको कारोबारमा पूरै मन्दी आएको छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि समस्या भएको छ ।

रोजगारीका लागि देश छोड्नेको लर्को लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको आँशुको धारा बगिरहेको छ । विमानस्थलमा दिनहुँ खाडी छिर्नेको भिड देखिन्छ । स्वदेशमै केही गर्छु भन्नेहरू पनि अहिले निराश छन् । काम गरेको ठाउँबाट तलब पाइरहेका छैनन्, कामदारले ।

महँगीले जनताको ढाड सेकिएको छ । बाटोमा माग्नेहरू छ्याप्छ्याप्ती देखिन्छ । तर सांसदहरूलाई कुनै मतलब छैन । जनता कुन समस्याबाट जुधिरहेका छन्, तिनलाई चासो छैन । नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स र देश धितो राखेर लिएको ऋणबाट तलबभत्ता खानेहरूलाई जनताको के मतलब ?

उनीहरूलाई बस् आफ्नो धोक्रो भर्न पाए हुन्छ । सर्वसाधारणलाई बिहान खाए बेलुका के खाऊँ भन्ने चिन्ता छ । तर सांसदहरूलाई त्यत्रो सेवासुविधा दिँदा पनि पुगेको छैन । कतिपय सांसद मुख खोलेरै यतिजाबो तलबभत्ताले के हुन्छ, भन्छन् ? काम नै नगरी बसीबसी त्यत्रो तलबभत्ता र सेवासुविधा पाएका छन् ।

तैपनि उनीहरूलाई थप माग्न लाज लाग्दैन । देशको अर्थतन्त्र समस्यामा छ भन्ने कुरा भुरादेखि बुढासम्मलाई थाहा छ । आम्दानीभन्दा खर्च धेरै रहेको र सरकारले ऋण लिएको धानिरहेको विषयहरू पछिल्लो समय व्यापक बाहिर आइरहेको छ । यद्यपि यो विषयमा सांसदहरू मौन छन् ।

उनीहरूलाई देश बेचेर भए पनि तलबभत्ता र सेवासुविधा जो चाहिएको छ अनि किन बोल्थे ? जनताले खर्च कटौती गर्नुपर्ने माग राख्दै आएका छन् । तर सांसदहरूचाहिँ थाहा पाएर पनि नपाएझैँ गर्छन् । जनताले तिरेको करले सरकारको खर्च धानिँदैन । अनि विकास कसरी हुन्छ ? यो गर्छु, त्यो गर्छु भन्नेहरूले यसको जवाफ दिन सक्छन् ?

देशले फड्को मार्न त अर्थतन्त्र बलियो हुनुपर्यो । अर्थतन्त्रचाहिँ घिटिघिटिको अवस्थामा छ । जनतालाई भ्रममा राख्ने अनि आफू खाइरहनेतिर मात्र सांसदहरू केन्द्रित छन् । जनताले यिनीहरूबाट केही अपेक्षा नराखे पनि हुन्छ । कुनै पनि सांसदसँग आफ्नो धारणा राख्ने हिम्मत छैन ।

पार्टीले जे–जे भनेको छ, त्यहीत्यही सुनाउँछन् । त्योबाहेक उनीहरूले एक शब्द बढी बोल्दैनन् । फेरि भोलि टिकट जो चाहिएको छ । पार्टीका झोलेहरूले देश बनाउने भाषण ठोक्छन् । जुन आफैँमा हास्यास्पद छ । वर्तमान सदनले नेपाललाई स्वरूप दिने होइन, नेपाललाई सकाउनेचाहिँ प्रष्टै छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया