Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदेशको मियो

देशको मियो


काठमाडौं । उहिले–उहिले परालमा रहेको बाँकीटाकी धान झार्न गाउँघरतिर दाइँ गर्ने चलन थियो । दाइँ गर्न आँगनको बीचमा एउटा ठूलै खाँबो गाडिन्थ्यो । खाँबोमा डोरी र दाम्लोको सहायताले दुईतिन हल गोरु बाँधिन्थ्यो र उक्त खाँबोलाई केन्द्रमा राखेर वरपर गोरु घुमाइन्थ्यो । यसरी गोरु घुमाउने क्रमसँगै आँगनमा छिरली राखेको परालबाट बाँकी सबै धान झर्दथ्यो । परालबाट धान निखार्ने यो एउटा परम्परागत तरिका थियो । यसरी आँगनको बीचमा गाडिने खाँबोलाई नै मियो भन्ने चलन छ । यसैले समाजमा कामको कुनै पारा मिलेन भने कसैले भनेको कसैले मानेन भने विनामियोको दाइँ भन्ने चलन आज पनि यथावत् छ ।

हाम्रो नेपाली समाजमा चारैतिर विकृति र विसंगति छ । यो भर्खरै देखिएको समस्या भने होइन । सामाजिक आर्थिक र राजनीतिक क्षेत्रमा समेत चरम बेथिति छ । समग्रमा भन्दा अराजकताले सीमा नाघेको छ । पुर्खाको आहानलाई मान्ने हो भने पनि हाम्रो देशमा विनामियोको दाइँ भएकै छ । यसमा कसको दोष छ ? मियोको दोष कि, गोरुको दोष ? मियो बन्नेको दोष कि ? मियो घुम्नेको दोष ? कि मियोमा घुम्दै नघुम्नेको दोष ? कसको दोष हो ? यसलाई हामी आधुनिक विज्ञान प्रविधिको युगमा यसरी पनि कल्पना गर्न सक्छौँ ।

मनिसको वरिपरि घुम्ने होइन, नीतिको वरिपरि घुम्ने हो । नेतादेखि जनतासम्म नीतिनियमको वरपर घुम्ने गरी परिस्थति र वातावरण निर्माण हुनुपर्यो । यसरी राम्रो थिति बसाली नीतिगतरूपमा चल्ने एउटा बलियो सिस्टमको निर्माण गर्न सकियो भने मात्र एउटा बलियो मियो बन्नेछ । सबैलाई यसको वरिपरि घुम्नैपर्ने जबरजस्त वा स्वतस्फूर्त परिस्थितिको निर्माण हुनेछ ।

सौर्य प्रणाली एउटा नमुना मियो वा केन्द्र हो । यसमा पनि सूर्यको वरिपरि ग्रहहरू घुम्छन् । ग्रहका पनि वरिपरि उपग्रहरू घुमीरहेका हुन्छन् । यसरी ग्रहहरू सूर्यका वरिपरि घुम्दा आफ्नो कक्षमा रहेर घुम्छन् । ग्रहहरू आफैँ पनि घुम्छन् । यसरी घुम्दा ग्रहहरूमा दिन र रात हुने गर्छ । सूर्यको वरिपरि अण्डाकारमा घुम्ने हुदा सूर्यको किरण कहिले नजिक र कहिले टाढा पर्ने भएकाले ऋतुहरू बदलिन यसले मद्दत गर्छ ।

यस्तो उदाहरण दिनुको तात्पर्य यो हो कि घुम्न त यी सबै मियोकै वरिपरि घुम्ने रहेछन् नि त ! तर यी एउटा सिस्टममा रहेर घुम्छन् । सूर्यले मेरो वरिपरि घुम्नै पर्छ भनेर कहिल्यै कुनै ग्रहलाई कर गर्दैन । अरूले पनि म तेरो वरिपरि घुम्दिनँ भनेर कहिल्यै भनेको छैन । नघुमेमा यिनीहरूको अस्तित्व रहँदा पनि रहँदैन । वास्तवमा यी सबै जतिसुकै साना र जतिसुकै टाढा भए पनि एउटा निश्चित सिस्टममा चलायमान हुन्छन् ।

माथिका उदाहरणले नीति, नियम र सिस्टम सबैभन्दा महत्वपूर्ण हो भन्ने कुरामा जोड गरेको छ । जनता हुन् कि कार्यकर्ता । कार्यकर्ता हुन् कि नेता । धनी हुन् कि गरिब । सबै एउटा सिस्टममा चल्नुपर्ने भयमा यसको खिलाफमा को जान सक्छ ? त्यसपछि विचार गर्नुहोस् !

विकसित देशमा जो पुँजीवादी होस् कि समाजवादी यिनै नियमलाई ख्याल गरिएको हुन्छ । यसैले देश एउटा सिस्टममा चलिरहन्छ । विकसित देशमा कार्यकर्ता र जनतालाई मियोको वरिपरि घुमिरहने गोरुको रूपमा लिइँदैन । हरेकको सोच विज्ञानसम्मत रूपमा अघि बढिरहेको हुन्छ । यसैले हामीलाई महावीर पुनले एकल नेतृत्वमा भए पनि झक्झक्याइरहेझै लाग्छ । विज्ञान हाम्रो हरेक पाइलामा अत्यावश्यक छ ।

हिजोआज एउटा गजबको कानुनी र संवैधानिक अवस्थाको निर्माण भएको छ । संविधानमा धर्मनिरपेक्ष शब्द राखिएको छ । पर्यटनमन्त्री एउटा क्रिश्चियन धर्मको कार्यक्रममा गएर ‘क्रिश्चियन नमान्ने जतिलाई जेलमा कोचिन्छ ‘भनेर भाषण ठोक्छन् । उहाँको मनभित्रको कुरो के हो ? भनाइले बुझिन आउनेचाहिँ त्यही हो ।

संविधानमा सार्वभौमसत्ता जनतामा लेखिएको छ । देश संविधानका अनुसार लोकतान्त्रिक गणतन्त्र हो । कानुन नियम सबैलाई बराबरी भन्ने छ । यो हाम्रो लागि खुसीको कुरा हो । तर यहाँ कृष्णबहादुर महरा र क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई लाग्ने कानुन फरक–फरक छ । सन्दीप र धर्म गुरु रामबहादुर बम्जनलाई लाग्ने हतकडी पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लाग्दैन । अथवा मन्त्री भइसकेकाहरूलाई हतकडी लगाउन नपाउने एउटा नजीर नै स्थापित भइसकेको छ । अथवा यसरी भनु हाम्रो लोकतन्त्रको विशेषता नै यही हो । पावर हुने र नहुनेलाई लाग्ने कानुन, धनी र गरिबलाई लाग्ने कानुन फरक–फरक छ ।

यसैगरी ललिता निवास जग्गा प्रकरणमा छानबिन सोधपुछ गर्ने तरिका हेर्दा माधव नेपाल र बाबुराम भट्टराईलाई गर्ने व्यवहार पनि फरक देखियो । अरूलाई अपराधी नै किटान गरी हिरासतमा लिएर सोधपुछ भयो । उहाँहरूलाई घरमै गएर नमस्कार गरी चिया खाई भलाकुसारी गरी सकियो । यसरी पावरमा हुने र पावर नहुनेहरूलाई गर्ने न्यायमा फरकपना देखिएको छ । लोकतन्त्रको सक्कली रूप यही हो भनी सबैको अगाडि छर्लङ्ग पार्ने काम सरकार पक्षबाट भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सरकार काम देखाउन विभिन्न काण्डका फाइलहरू खोल्छन । तर सत्ता पक्षकै विभिन्न नेताहरू विशेष गरेर तानिन्छन् । मानिसहरू पक्राउ पर्छन्, अनि केही पछि छोडिन्छन् । अथवा ‘माझीले जाल त हान्यो । माछा पनि पर्यो । तर बजारमा खपत नभएकाले माछा पुनः खोलामै छोडियो’ भन्ने कहानीजस्तै छ ।

फायलहरू कहिले बन्द हुन्छन्, कहिले खुल्छन् । भर्खरै बाँसबारी छाला जुत्ता कारखानाको जमिन हडपेको भनेर अरुण चौधरीलगायत तीन जना पक्राउ परे । उता एयरपोर्टको जिम्मा भारतीयलाई दिने हल्ला छ । कतै यता तानेर उता खुम्च्याउन त खोजिएको हैन ? भन्ने आशंका पनि बढेको छ जनतामा । फेरि राजदरबार हत्याकाण्डको पनि फाइल खुल्ने भन्ने हल्ला गाइगुइ सुनिन्छ । यसरी जनताको ध्यान तान्ने र खुम्चने क्रम जारी छ । जे होस राम्रो काम भए जनताले पत्याउलान्, नभए हल्लाको भरमा पत्याई बस्ने अबको जनता छन् जस्तो लाग्दैन ।

रावणका दश टाउको भए पनि एउटै कुरा सोच्ने गथ्र्यो । सरकारको टाउकाहरू फरक–फरक सिद्धान्त र विचारहरू छन् । कुरा मिल्न र मिलाउन पनि गार्हो छ । खाने पिउने कुरामा कुरो मिले पनि राम्रा असल तथा नीतिगत कुरामा कुरो मिलाउन गा¥हो छ । यसै पनि फरक विचारका झुण्ड मिलेर चुनावमै भाग लिने कुरा संविधान र कानुनीरूपमै वैधानिक हो भन्न सकिन्नँ । यो लोकतन्त्रको मर्मविपरीत कुरा हो ।

आयल निगम र नेपाल वायु सेवा निगम नाफामा गयो रे भन्ने हल्ला पनि पिटिएको छ । गएको भए तारिफ गर्ने विषय रह्यो । सबैको ध्यान तान्ने अर्को विषय रुग्ण उद्योग सञ्चालन गर्ने कुरो आएको छ । यो पनि तान्ने र खुम्चिने प्रक्रिया मात्र हो भने त तान्नुको के अर्थ ? अरू जेसुकै गरे पनि बिग्रेको आजको देश र समाजको परिस्थितिलाई सुनियोजितरूपमा राम्रो बनाउन लाग्ने हो भने तलका निम्न कार्यहरू गर्नुपर्ने देखिन्छ ।

(१) घुसखोरी नियन्त्रण २) भ्रष्टाचारको न्यूनीकरण ३) सच्चा र इमान्दार राष्ट्रसेवक कर्मचारीको मनोबल उठाउने कार्य ४) खराब र भ्रष्टलाई सामाजिकरूपमा मनोबल गिराउने परिस्थितिको निर्माण ५) कृषिमा आधुनिकीकरणको कार्यारम्भ ६) राष्ट्रिय उद्योगधन्दाको स्थापना र यसको उन्नतिको कार्यारम्भ ७) महँगी नियन्त्रण ८) व्यापार र नाफा कमाउने धन्दामा बिचौलियाको नियन्त्रण ९) खनिज तत्वहरूको अन्वेषण खोदाई र असंलग्न परराष्ट्र नीतिको अवलम्बन ।

माथिका यी कामहरू गर्न सच्चा र इमान्दार कर्मचारी आवश्यक पर्छ । यस्ता कर्मचारी, इमान्दार र विचारवान् नेता, बौद्धिक व्यक्तित्व कतै खोज्न जानुपर्दैन । यसको माग त नेतृत्वले गर्नुपर्यो नि । आपूर्तिको चिन्ता गर्नुपर्दैन नेपालभित्रै पाइन्छन् । पाँच आठ वर्षअघिसम्म निकै निराशाको परिस्थिति थियो । राम्रा मानिस यो देशमा पाइँदैनन् कि भन्ने जस्तो थियो । केही त देखा परे त ! कति त अवसर नपाएर छायामा छन् । देशका सच्चा हितकारीहरू एकजुट हुनुपर्ने बेला पनि यही हो । सयौँ वर्षदेखि हाम्रो समाजमा चाकको पिलोको रूपमा संस्कारगतरूपमा रहेको विविध विकृतिहरू हटाउने कुरा हेर्दा सामान्य लागे पनि सजिलो भने छैन । यसका लागि नेतृत्व पनि आफैँ निकै अनुशासित संयम र निर्मम हुनु त्यतिकै आवश्यक छ । निर्मम यसकारण कि यसमा आफ्नो अर्काको नछुटयाई काम गर्नुपर्नेछ ।

मानिसको वरिपरि घुम्ने होइन, नीतिको वरिपरि घुम्ने हो । नेतादेखि जनतासम्म नीति नियमको वरिपरि घुम्ने गरी परिस्थति र वातावरण निर्माण हुनुपर्यो । यसरी राम्रो थिति बसाली नीतिगतरूपमा चल्ने एउटा बलियो सिस्टमको निर्माण गर्न सकियो भने मात्र एउटा बलियो मियो बन्नेछ । सबैलाई यसको वरिपरि घुम्नैपर्ने जबर्जस्त वा स्वतःस्फूर्त परिस्थितिको निर्माण हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया