Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानवीय संवेग मानव हुनुको पहिचान हो

मानवीय संवेग मानव हुनुको पहिचान हो


काठमाडौं । भोक रोग र गरिबी उन्मूलनको कुरा सबैले गर्छन् । कम्युनिज्मको सिद्धान्तमा त शोषणविहीन समाज र आर्थिक समानताको कुरा पनि छ । वीपीको प्रजातान्त्रिक समाजवादमा पनि किसानलाई सुखी र सम्पन्न बनाउने तथा जीवनस्तर परिवर्तन गर्ने कुरा छ । तर के हाम्रा राजनेताहरू यही लक्ष्यका साथ अघि बढ्नु भएको छ त ? आजकल सर्वसाधारण कसैलाई पनि यो कुरा पत्यार लाग्दैन ।

मानिस गरिब वा धनी भएर असल वा खराव विचार आउँछ, यो कुरा पनि व्यबहारमा मिल्दैन रहेछ । हाम्रा धेरै नेताहरू गरिबीबाट गुज्रेर नै आलिसान महलका हकदार बनेका हुन् । किसान मजदुरको अवस्था त अहिले पनि जस्ताको त्यस्तै छ नि । माथिका कुराबाट के बुझिन्छ भने खानदानी र आलिसान महलमा जन्मिँदैमा उसका विचार खराब हुन्छन् भन्ने पनि होइन रहेछ । दरबारमा जन्मेका बालक सिद्धार्थ, गौतम बुद्ध बनेर निस्किए । फ्रेडरिक एङ्गेल्स ठूला उद्योगपतिका छोरा थिए । तर कार्लमाक्र्सका सबैभन्दा ठूला सहयोगी पनि उनै हुन् । हाम्रो देशमा पनि यस्ता उदाहरणहरू धेरै छन् । आन्दोलनले अलग मोड लियो छुट्टै कुरा हो । परिवर्तनका लागि दुःख कष्ट गरी हिँड्ने भूमिगत कालमा थुप्रै उच्च घरानाका महिला पुरुषहरू पनि हुनुहुन्थ्यो । उनीहरूले घरैबाट विद्रोह गरी हिँडेका थिए ।

मुख्य कुरा मानिसमा मानवीय संवेदनाका विम्बहरू हुन्छन् । अरूका दुःखमा उसलाई कत्तिको घोच्छ भन्ने कुरा प्रमुख हो । बुद्धमा यो प्रचुर मात्रामा रहेछ । समाजवादी चिन्तनको प्रस्फुस्टन यहि विम्बको उत्पादन हो । यो मानिस र पशुलाई छुट्याउने स्पष्ट मापदण्ड पनि हो । रिसाउनु, हर्षित हुनु, दुःखी हुनु मानवीय संवेगहरू हुन् । मानवीय संवेगहरू मानिसका जन्मजात स्वभाव वा गुणहरू हुन् । यस्ता मानवीय स्वभाव र गुणहरूको प्रभाव समाजमा पनि परेको हुन्छ । दुःखी गरिब तथा विपद्मा परेकालाई सघाउन मानिस हमेसा चाहन्छ । हुनेले नहुनेलाई सहयोग गर्ने कुरा एउटा विशुद्ध सामाजिक भावना हो । यस्ता सामाज सेवाको भावना मानिसमा पलाउनु मानवीय संवेदनाका सकारात्मक पक्षहरू हुन् । यदि यसो नहुने हो भने आजकल युट्युबहरू कसरी चल्थे र ? मानवीय संवेगहरूका रूप नकारात्मक पनि हुन्छन् । सकारात्मक संवेगहरूले चाहिँ समाजको हितमा राम्रो काम गर्छ । आपसमा मिलेर बाँडीचुँडी खाने, मिलेर बस्ने, भावनाको विकास भएदेखि नै मानिसलाई पशुबाट अलग बनायो । तैपनि मानिसमा अहिले पनि स्वार्थी वा पशुवत प्रवृत्ति नभएका भने होइनन् । यही स्वार्थी विचार र आदर्श विचारको बीच पौंठेजोरी खेल्दै मानिस आजको युगसम्म आइपुग्यो । कुनै पनि देशमा अनेक नियम कानुनहरू बन्नु सामाजिक थितिहरू बसाल्न हो । यस्ता नियम कानुनहरूले समाजमा बेथितिहरूको अन्त्य गर्छ । यसैले नेतादेखि जनतासम्म, पावरमा हुनेदेखि नहुनेसम्मले एउटै नीति र थितिमा चल्नुपर्ने भएमा समाजमा अमनचयनको वातावरण सिर्जना भइजानेछ । नीति लागू गर्नुपर्ने नियमन निकायले नीति नामान्ने रोगका कारण सबै समस्याहरूको उठान भइरहेको छ । यसैले अबको क्रान्ति भनेको राम्राको समर्थन र नराम्राको विरोध गर्नु हो । तपाईं कुनै पार्टीभित्र हुनुहुन्छ भने खराब आचरण र खराब कुराको त्यहीभित्र विरोध गर्न सक्नुपर्छ । नत्र तपाईंले जतिसुकै ठूला क्रान्तिकारी युद्धमा भाग लिएर आएको भए पनि तपाईंको विचार तुहिन थालेको संकेतको रूपमा लिन सकिन्छ । हिजो गरेको तपाईँको क्रान्तिकारी कामले वास्तविक व्यवहारमा कुनै सकारात्मक सन्देश दिन सक्दैन । यसैले बाहिर होस् वा भित्र राम्राको समर्थन र नराम्राको खरो विरोध गर्न सक्नु नै आजको अवस्थामा सबैभन्दा क्रान्तिकारी काम हो भन्न सकिन्छ । चाकडी चाप्लुसी गरेर आफ्नो काम पट्याउने मात्र लालची प्रवृत्तिले समाजलाई कहाँ पुर्याउँछ ? हामीले नजरअन्दाज गर्दै आइरहेकै कुरा हो । यत्तिको लागि तपाईंले त्यति ठूलो क्रान्ति गर्नु कुनै आवश्यकता नै थिएन ।

यसैले ठण्डा दिमागले सोच्नुहोस् आफ्नो कर्तव्य के हो ? क्रान्ति सकियो अबको काम कमाउनु खानु मात्र हो भन्ने तपाईँलाई लागेको छ भने तपाईँ ठूलो भ्रममा हुनुहुन्छ । सामाजिक विकृति विसंगति तथा सरकारी निकायका विसंगतिहरू त डम्पिङ साइडमा फोहर थुप्रे सरी थुप्रिरहेको छ । यसलाई त तपाईँको क्रान्तिले अलिकति पनि छुन सकेको छैन । बस् ‘राजा गए गणतन्त्र आयो । एकात्मकता गयो संघीयता आयो । यो हामीले नै गरेको हो ।’ ठूलो उपलब्धि यसैलाई मान्नुहुन्छ भने तपाईं पश्चगामी लाइनमा उभिइसकेको मान्नुपर्छ । पुरानाभन्दा पुराना सोच राख्ने राजनीतिज्ञले पनि तपाईंलाई सजिलै पछि पार्न सक्छन् । यसको कारण हो देशको आजको ज्वलन्त समस्यामा तपाईं आँखा चिम्लिरहनुभएको छ । वर्तमानको राजनीतिक आर्थिक र सामाजिक समस्या हल गर्ने तपाईँसँग कुनै दृष्टिकोण नै छैन तैपनि तपाईं सत्ताको तालाचाबी सधैं आफैँसँग राख्न चाहनुहुन्छ भने योभन्दा पश्चगामी र प्रतिक्रियावादी सोच अरू के हुन सक्छ ?

‘शिक्षा मन्त्रालयमा विभिन्न शाखाहरूमा एकअर्का बीचमा के–कसरी काम भइरहेको छ । कसैलाई थाहा हुँदैन । कुनै पनि शाखामा सुधारका लागि एउटा बैठक बसेको कुनै जानकारी छैन । विसंगतिहरू प्रशस्तै छन् । यसलाई सुधार गर्न कसैको पनि चासो छैन । नयाँ शिक्षामन्त्रीले कसरी काम गर्न सक्नुहोला ?’ भुक्तभोगी एक रिटायर वाला उपसचिवले गरेको प्रश्न हो यो । सरकारका सबै निकायको अवस्था नियाल्ने हो भने उस्तै छ ।

यसैले क्रान्तिकारी हुँ भन्नेले आफ्नो बानी व्यवहारमा फरकपना ल्याउनुपर्यो । आफूले जिम्मा लिएको काम इमान्दारीका साथ पूरा गर्नुपर्यो । गाउँगाउँमा जाने योजनाहरू कार्यकर्ता केन्द्रित हैन । आवश्यकता केन्द्रित हुनुपर्यो । आजकल कार्यकर्ताहरू पनि सबै एउटैखाले छैनन् । लोभीपापी संस्कृतिले सबैलाई लछप्पै छोइसकेको छ । यस्तै, ठेकेदारसँग चोसोमोसो मिलाउने राजनीतिज्ञको पहिचान गर्ने निकाय पनि जागरुक हुनुपर्यो । कार्यकर्ता केन्द्रित बजेट र आयोजनाले तपाईंलाई तत्कालको लागि सान्त्वना मिल्ला, चुनावको बेला तपाईँका कार्यकर्ताले तपाईँको पक्षमा प्रचार पनि गरिदेलान् । तर दीर्घकालीनरूपमा जनता तपाईँसँग रुष्ट भइसकेका हुन्छन् । तपाईँका कार्यकर्ता पनि जनताबाट विस्थापित भइसकेका हुन्छन् । सामाजिक अन्तरविरोध जटिलरूपमा अगाडि बढिसकेको हुन्छ । त्यसको हल गर्ने आजका कुनै पनि नेतृत्वसँग ताकत हुने छैन ।

हालैका दिनमा डा सिके राउतले एउटा अनौठो सूचना सार्वजनिक गर्नुभयो, ‘लोकतन्त्रवादी र निरंकुशतावादी यहीँनेर छुट्टिन्छ । यदि शेरबहादुर देउवाले नरोकेको भए काठमाडौंका मेयर बालेन शाह अहिले कार्यबाहीको निशानामा परिसकेका हुन्थे ।’ प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उहाँले इङ्गित गर्दै भन्नुभएको थियो । यदि यो कुरा सत्य हो भने परिस्थिति अझ जटिल हुन्थ्यो । प्रधानमन्त्री प्रचण्डले भनेजस्तो देशमा उथलपुथल त हुन्थ्यो नै उहाँहरूको नाम पनि इतिहासमा नराम्रो काम गर्ने मानिसको रूपमा दर्ज हुन्थ्यो । विश्वमा कम्युनिस्टहरूको सम्बन्धमा जे–जति खराब कुराहरू प्रचार भइरहेका छन् ती सबै व्यक्तिगतरूपमा कसैले कोहीसँग साँध्न चाहेको पूर्वाग्रहका उपजहरू हुन् । मार्क्सले कहाँ आफ्ना विरोधीहरू सबै सिध्याउनुपर्छ भनेका छन् ? सैद्धान्तिकरूपमा माक्र्सवाद भनेको श्रम सम्पत्ति र सत्ताको बीच सन्तुलन राख्न बनेको सिद्धान्त हो । यसैकारण मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रम अगाडि सार्नुभएको हो । जनताका मौलिक हक अधिकारका कुरामा निषेध लगाउने कुराले संसारमा कम्युनिस्ट सत्ता धराशायी हुन पुग्यो । यसको मतलब यो हैन कि सामाजिक थिति बिगार्न उद्दत हुने, राम्रा काममा तँगारो बन्ने सबैलाई छुट दिनुपर्छ । यो हुन सक्दैन । सत्ता राम्रा नीतिनियम लागू गर्न अलिकति निर्मम पनि हुनुपर्छ । तर व्यक्तिगत फाइदा र पूर्वाग्रह साँध्न कसैमाथि दमन गर्ने प्रवृत्ति नित्तान्त अलोकतान्त्रिक हो ।

मैले यहाँ मानवीय संवेग र संवेदनाको बारेमा केही चर्चा गर्न लागेको हुँ । भर्खरै चितौनको एउटा विद्यालयमा घटेको घटनामा शालीन पोख्रेल नाम गरेको चौध वर्षीया एउटा बालिकाको मृत्यु भएको छ । उनको मृत्यु आत्महत्या हो वा बलात्कारपछिको हत्या हो ? त्यो त सम्बन्धित निकायले छुट्याउला नै । तर सुरुमा सामाजिक सञ्जालमा बलात्कारपछिको हत्या हो भनि धेरै मानिसहरूले वार्डेन र विद्यालय प्रशासनको विरोध गरे । जब उनको आमाबुबा दुवैले दोस्रो विवाह गरेको खबर सम्प्रेसित भयो तब सबैले आमाबुबाको नै दोष हो भन्न थाले । के दोस्रो विवाह गरेका कारण तीनको हत्या उनको आमा बुबाले नै गरेका हुन् ? त्यसो भए ती नानीलाई त्यति सुविधा सम्पन्न विद्यालयमा लगेर कसले भर्ना गर्यो ? मार्नलाई हो ? आमाबाबु नभएका बालबालिकाहरूले यो समाजमा सुरक्षितरूपमा बाँच्ने र पढ्न पाउने अधिकार छैन ? मानवीय संवेगका अनेकरूप छन् । मानवीय संवेगलाई सही ठाउँमा प्रयोग गर्न व्यक्ति, समाज, विद्यालय र राज्य समेतले सधैँ सजग भएर लागिपर्नुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page 2

तपाईको प्रतिक्रिया