Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधितोपत्रबाट कसरी फाइदा लिने ?

धितोपत्रबाट कसरी फाइदा लिने ?


बजार जहिले पनि चलायमान हुन्छ । चलायमान बजारमा लगानी गर्नका लागि तपाईं स्वयं अझ बढी चलायमान हुनुपर्छ । अर्थात् बजारको आवश्यकता, माग, आपूर्ति र फाइदाको बारेमा अध्ययन अनुसन्धान गर्ने र सुझबुझसहितको छिटो निर्णय लिन सक्ने क्षमतामा बजारमा प्रवेश गर्ने व्यक्ति अर्थात् भनौँ लगानीकर्ताहरूमा हुनुपर्छ । लगानीकर्ताहरूको लागि फाइदा लिन सक्ने सर्वमान्य सिद्धान्त पनि यही नै । सेयरबजारमा पनि यही सिद्धान्त लागू हुन्छ । बजार बुझेर सेयरबजारमा प्रवेश गर्नेहरूमा सेयर किन्दा र बेच्दा दुवैमा लाभ लिन सक्छन् ।यही कारण पनि सेयरबजारबारे जसले बुझेको छ, बुज्छ सायद उसले सेयरबजारबाट आर्थिक नोक्सानी बेहोर्नु नपर्ला । सेयरबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड हो । बोर्डले यसै साता सेयर लगानीकर्ताहरूलाई ३१ बुँदे सन्देश जारी ग¥यो । उक्त सन्देश सेयरबजारबाट कसरी लाभ लिने, सम्भावित जोखिम अर्थात् नोक्सानीबाट कसरी जोगिने भन्ने विषयमा केन्द्रित रहेको थियो ।

बोर्डका अनुसार देशको अर्थतन्त्र तथा राजनीतिक अवस्था, तरलताको स्थिति एवं ब्याजदरजस्ता पक्षहरूको प्रभाव धितोपत्र बजारमा पर्ने हुँदा लगानीसम्बन्धी निर्णय लिँदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरूलाई ध्यानमा राखी लगानी निर्णय लिनुपर्छ । लगानी क्षमता र प्रतिफलमा समग्र मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकाले मुद्रास्फीतिको असरलाई ध्यान दिँदै लगानीको प्रतिफल मूल्याङ्कनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाएर लगानी गर्न फलदायी हुन्छ । विशेषगरी एकल वा अप्रत्याशित घटना एवं असरबाट हुने घाटाबाट आफ्नो लगानीलाई सुरक्षित राख्न लगानी विविधिकरणको महत्वलाई पहिचान गर्नुपर्छ । इन्टरनेटलगायत अन्य सामाजिक सञ्जालबाट लगानीसम्बन्धी प्राप्त सूचना, जानकारी तथा विवरणहरूलाई सम्बन्धित आधिकारिक पक्षबाट प्रमाणित गरी लगानी निर्णय लिनुपर्छ ।

बोर्डले दिएको सुझावमा धितोपत्रमा गरिने लगानीमा प्रतिफलसँगै जोखिम समेत रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न आफ्नो लगानी क्षमता अनुरुप लगानी विविधीकरणमा ध्यान दिनुपर्छ । धितोपत्र कारोबारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरूबाट सुरक्षित रहन लगानीसम्बन्धी रणनीतिक योजना तयार गर्नुको साथै आपतकालीन कोषको व्यवस्था गर्नुपर्छ । यसैगरी धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूले धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमुखी बनाउन, धितोपत्र कारोबारमा धोका, जालसाजी तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्ररूपमा आफ्नो स्व–विवेकी निर्णय गर्न पनि बोर्डले सुझाव दिएको छ । कुनै पनि धितोपत्रमा लगानी गर्नुअघि हतार नगरी लगानीका सम्बन्धमा स्वतन्त्ररूपमा अध्ययन तथा अनुसन्धान गर्ने, हतारमा लगानी निर्णय गर्न दबाब दिने जो कोहीलाई पनि अविश्वास गर्ने विषयमा पनि बोर्डले सुझाव दिएको छ ।

धितोपत्र बजारमा विभिन्न प्रकृतिका धितोपत्र उपकरणमा लगानी गर्न सकिने अवसर रहने हुँदा आफूले लगानी गर्न लागेको धितोपत्र कुन प्रकारको हो (जस्तैःसंस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर, ऋणपत्र, सामूहिक लगानी योजना आदि) र त्यसको विशेषता, फाइदा वा बेफाइदा, अन्तरनिहीत जोखिम, मूल्य अस्थिरता र लगानी अवधिको बारेमा जानकारी लिएर मात्र लगानीसम्बन्धी निर्णय लिनका लागि पनि बोर्डले सुझाव दिएको छ । लगानीबाट प्राप्त प्रतिफललाई दिगो र सन्तुलित बनाउन लगानी गरिने लगानीका औजारहरू वातावरणीय, सामाजिक र सुशासन अनुकूल रहने गरी लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम बहन गर्ने क्षमता र प्राथमिकताबमोजिम लगानी गर्नुपर्छ । छिटो धनी बन्ने उद्देश्यलाई कम प्राथमिकता दिई धितोपत्र बजारमा लगानी गर्दा तथ्यगत, यथार्थपरक र उचित सूचना लिई संयमित एवं विवेकशील भई लगानीसम्बन्धी निर्णय लिने गर्न, दीर्घकालीन, नियमित तथा अल्पकालीन लगानी अवधि सम्बन्धमा जानकार रही लगानीसम्बन्धी निर्णय लिन पनि बोर्डले अनुरोध गरेको छ ।

धितोपत्र बजारसम्बन्धमा सामाजिक सञ्जाल (जस्तैःफेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक, आदि)मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकाले उक्त अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानीसम्बन्धी निर्णय नलिन बोर्डले सचेत गराएको छ । विद्यमान ऐन, नियम तथा नियमन परिधिबाहिर रही नयाँ उपकरण तथा प्रविधिको प्रयोग गरी हुने जोखिमपूर्ण तथा गैरकानुनी कारोबारका सम्बन्धमा सचेत रहन, धितोपत्रको कारोबारमा प्रयोग गरिएको नयाँ प्रविधिको सम्बन्धमा सचेत रहनुहोस् । प्रविधिको प्रयोगको सम्बन्धमा पर्याप्त ज्ञान हासिल गर्नुको साथै प्रविधिको सुरक्षाका लागि विशेष व्यवस्था गर्न आप्mनो युजर परिचय तथा पासवर्डलगायत अन्य विवरणहरू अन्य कसैलाई जानकारी दिनुहुँदैन । धितोपत्र बजारमा उतारचढाव भइरहने हुँदा बजार हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरणलगायतका विषयमा जानकारी लिएर मात्रै स्वविवेकमा आफ्नो जोखिम बहन गर्ने क्षमताअनुसार लगानीका उपकरण, लगानीको सीमा पहिचान गरी लगानीसम्बन्धी निर्णय लिनुपर्छ । विशेषगरी धितोपत्र बजारमा नवप्रवेशी लगानीकर्ताले धितोपत्रको प्राथमिक बजारमा निष्काशन भएका धितोपत्र खरिदका लागि आवेदन दिई लगानीसम्बन्धी ज्ञान तथा अनुभव हासिल गर्दै लगानी प्रारम्भ गर्नुपर्छ ।

धितोपत्रको प्राथमिक निष्काशन भएका धितोपत्रमा लगानी गर्दा निष्काशन कम्पनीसम्बन्धी पर्याप्त जानकारी हासिल गर्न सम्बन्धित कम्पनी वा निष्काशनकर्तामार्फत प्रकाशित गरिने आह्वानपत्र, विवरणपत्र एवम् सूचनाको अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तरजस्ता समग्र पक्षहरूको विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानी निर्णय लिनुपर्छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा पर्याप्त ज्ञान र यथार्थ सूचना लिई आफ्नो जोखिम बहन क्षमताका आधारमा लगानीसम्बन्धी निर्णय लिनुहोस् । सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणितरूपमा प्रकाशन गरेको वित्तीय विवरण, कार्य सम्पादन स्थिति, मूल्य संवेदनशील सूचना, कम्पनीको भावी योजनाहरू, आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू, मूल्य प्रवृत्ति र सम्बन्धित उद्योग÷क्षेत्रको अवस्थालगायत पक्षहरूको निरन्तर अध्ययन गर्नुपर्छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंकमार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सीआरएन नम्बर लिई बोर्डबाट गरिएको व्यवस्थाको परिपालना गरी सार्वजनिकरूपमा निष्काशन भएका सेयरमा आवेदन गर्नुपर्छ । धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुपर्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिनभित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुपर्छ । धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुपर्छ भने धितोपत्र कारोबारबापत लाग्ने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुपर्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त र नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)को सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)मार्फत मात्र कारोबार गर्नुपर्छ ।

धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरू सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालय, विद्युत् नियमन आयोग तथा नेपाल बीमा प्राधिकरणको वेबसाइट हेर्ने गर्नुपर्छ । धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरू भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सीडीएसी एन्ड क्लियरिङ कम्पनी (सीडीएससी), नेप्से वा बोर्डमा सम्पर्क राख्नुपर्छ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नियमितरूपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन एवं विभिन्न प्रकाशन गरी सचेतना अभिवृद्धि गर्ने गरेकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी हुने एवं प्रकाशित सूचना तथा जानकारीको अध्ययन गरी धितोपत्र बजार तथा लगानीसम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुपर्छ । लगानीकर्ताहरूले आफ्ना लगानीसम्बन्धी विवरणलगायत अन्य व्यक्तिगत विवरणहरू सुरक्षित राख्नका लागि विशेष सुरक्षा व्यवस्था अपनाउनुका साथै यस्ता विवरणहरू अपरिचित व्यक्ति वा समूहहरूलाई कुनै पनि माध्यमबाट प्रदान गर्नुहुँदैन । वित्तीय बजारसँग सम्बन्धित कानुनी व्यवस्था र लगानीकर्ताको हक अधिकारका सम्बन्धमा जानकारी हासिल गर्ने गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा कुनै पनि लगानीकर्ताहरूले धितोपत्र बजारबाट नोक्सानी बेर्होनुनपर्ने हुन सक्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया