Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगाई खाने विद्या, युवाहरू सिध्या

गाई खाने विद्या, युवाहरू सिध्या


काठमाडौं  । हामी बालक हुँदादेखि नै सुन्ने गरेको एउटा भनाइ थियो– ‘गाई खाने विद्या’ यो भनाइ सुन्नेबित्तिकै मन चसक्क हुन्थ्यो । किनकि गाईलाई लक्ष्मीको रूपमा पुज्ने गरिएकाले हाम्रो मानसपटलमा त्यही छाप नै बसेको थियो । गाई तिहारमा गाईलाई पुज्नुपर्छ, सिंगार्नुपर्छ, माला लगाइदिनुपर्छ, सिङ र खुरमा तेल घसिदिनुपर्छ । साथै, फलफूल तथा अनाज खुवाउनुपर्छ र ढोग्नुपर्छ भन्ने मान्यता नै हाम्रो मनमा गढिसकेको थियो । धर्मशास्त्रमा गाईको शरीरमा तेत्तिसकोटी देवीदेवताको बास हुन्छ भन्ने भनाइ पनि छ । २०२६/२७ सालतिर अर्थात् हामी पाँच छ वर्षको हुँदा विद्यालयमा एसे इङ्लिस/माई इङ्लिसको पढाइ हुन्थ्यो । पाठ्यक्रम भने कुनै निकायबाट निर्धारण भएजस्तो लाग्दैनथ्यो । योग्यता भएका शिक्षकको भने खाँचो नै थियो । घोकाएर पढाएको जस्तो लाग्छ मलाई । हामी दुई कक्षामा नै प्ब क, प्जब ख भन्दै घोक्ने गथ्र्याैँ । घरमा चुमान हमाल अंकलले पनि ती अक्षरहरू सिकाउनुहुन्थ्यो । मास्टरजीहरू छडी समाएर घरी बाहिर र घरी भित्र गरिरहनुहुन्थ्यो । त्यति बेला सर भन्ने चलन आइसकेको थिएन । उहाँहरूलाई हामी ‘माडसाप’ भन्थ्यौँ । हाजिर गर्दा ‘उपस्थितस्मी’ भन्थ्यौँ, ‘एस सर’ को चलन आइसकेको थिएन ।

बुढापाकाहरूले अंग्रेजीलाई ‘गाई खाने विद्या’ भने पनि नेपालमा अंग्रेजी शिक्षाको सुरुवात विसं १९१० दरबार स्कुलको स्थापनासँगै भएको थियो । त्यस्तै विसं १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगै उच्च शिक्षा अध्ययनको सुरुवात भएको थियो । तत्पश्चात् काठमाडौंबाहिर विद्यालयहरू खुल्न थालेपछि अन्य विषयका अतिरिक्त अंग्रेजी विषयको पनि फाट्टफुट्ट अध्ययन अध्यापन हुन थाल्यो । भारतबाट समेत गुरुहरू खोजी ल्याई गुरुकुल स्थापना गरी विभिन्न विषयहरू पढाई पनि हुन थाल्यो । जिल्लाजिल्लामा विद्यालयहरू स्थापना भएपछि व्यवस्थितरूपमा पढाइ हुन थाल्यो ।

हामीले २०२८ सालसम्म तत्कालीन प्युठानको खुंग्रीस्थित श्री संस्कृत माध्यमिक विद्यालयमा पढ्यौँ । नाम मात्रको माध्यमिक विद्यालय थियो । सात कक्षासम्म मात्र पढाइ हुन्थ्यो । २०३२ सालमा खुंग्री गाउँ पञ्चाय प्युठानबाट छुट्टिएर रोल्पामा गाभियो । विसं २०३४ देखि २०३५ सम्म उक्त विद्यालयको भवन भत्काएर नयाँ भवन निर्माण हुँदै गर्दा हामी ब्ल्याक बोर्ड बोक्दै कहिले चौरमा कहिले छहारीमा बसेर पढ्ने गर्र्याैँ । विद्यालयको नयाँ भवन बनिसकेपछि विद्यालयको नाम परिवर्तन भएर श्री त्रिपुरेश्वरी निमावि कायम भयो । २०३५ सालमा सात कक्षा उत्तीर्ण भएपछि हामी माध्यमिकस्तर पढ्नका लागि प्युठानको भिंग्रीस्थित श्री अमर माविमा जान थाल्यौँ । जाँदा र आउँदा पाँच घण्टा लाग्ने नौ किलोमिटरको बाटो हिँडेर २०३९ सालमा एसएलसी पास गरियो । त्यतिबेला उक्त विद्यालयबाट एसएलसीमा प्रथम पटक चार जनाले उत्तीर्ण गरेर नयाँ रेकर्ड राख्यौँ । त्यस बखतसम्म एसएलसीमा रोल्पा केन्द्र भने शून्य हुन्थ्यो । हामीले इतिहास रचेको त्यो एसएलसीपश्चात् चारैजनाले सरकारी जागिर पनि समात्यौँ ।

त्यतिबेलाको पढाई अनुशासित थियो । विद्यालयको मर्यादा, गुरुहरूको सम्मानले गर्दा शिक्षाले खास अर्थ राख्थ्यो । अहिले विश्वविद्यालयजस्तो पवित्र संस्था त तालाबन्दी भइरहन्छ भने दक्ष जनशक्ति कसरी उत्पादन हुन सक्छ ? कसरी शिक्षा प्रदान हुन्छ ? उपकुलपति नियुक्तिमा जहिले पनि राजनीतिक खिचातानी र तँछाडमछाड अनि अस्वस्थ प्रतिस्पर्धा । पहुँच मात्र होइन यहाँ नियुक्ति पाउनेले के–के गुमाउनुपर्छ यहाँ उल्लेख नगर्दा नै बेश हुन्छ । किनकि सबैमा जगजाहेर नै छ नेपाल कस्तो भइसक्यो भनेर । देश जर्जर अवस्थामा पुगिसकेको छ ।

हाम्रो देशमा केही गर्न खोज्ने जो कोहीलाई पनि अवसर दिइँदैन । अझ अर्को शब्दमा भन्नुपर्दा निरुत्साहित गरिन्छ । त्यसमध्येमा पर्छन् प्राविधिक ज्ञान भएका शिक्षित वर्गहरू । यी विषयहरूका बारेमा जानकारहरूले बुझेका छन् । विज्ञहरू अमेरिका, अस्ट्रेलिया र युरोपतिर भासिइसके र बलिया पाखुरा भएकाहरू खाडी मुलुकतिर बरालिँदै छन् । जहाँ काम त पाइएला तर इज्जत पाउन गाह्रो छ । स्वदेशमा जम्न सकेको र सरकारले पनि इज्जत र प्रोत्साहन दिनसकेको भए उनीहरूलाई स्वदेशमै मान र इज्जत मिल्ने थियो । यसतर्फ सरकार गम्भीर भएको देखिँदैन । देश विदेशीको ईशारामा चलिरहेको छ । हामी कराएर हुनेवाला केही पनि छैन भन्नेहरूको कमी छैन यहाँ ।

नेपालमा कम्पनीहरूको संख्या ज्यादै छ, कतिपय कम्पनीहरू झोलाहरूमा थन्किएर बसिरहेका छन् भने कतिपय दर्जनौँ कम्पनीहरू एउटा कोठामा साँघुरिएर बसेका देखिन्छन् । झोलामा खोला भन्ने त हामीहरूले धेरै नै सुन्ने गरेका छौँ । खास सञ्चालनमा आएका कम्पनी, उद्योग तथा व्यवसायहरू देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा त्यसो देखिँदैन । सरकारलाई कटाक्ष गर्दै कतिपयले भन्ने गर्छन् । युवाहरू विदेश पलायनबाट रोक्न सरकारमा बस्नेहरूको दिमागमा घुस्नुपर्छ । दक्ष र शिक्षित प्राविधिक युवाहरूलाई योग्यता र दक्षताअनुसार अध्ययन, अनुसन्धानका कार्यहरूमा संलग्न गराउनुपर्छ । त्यसैले सूचना प्रविधिका विषयमा जस्तै अन्य विषयहरूमा पनि नेपालले फड्को मार्नुपर्छ । कलकारखानाहरू ब्युझाउँनुपर्यो कृषकहरूलाई प्रोत्साहन र बेलाबेलामा पुरस्कारको व्यवस्था गर्नुपर्यो । कृषि, यन्त्र तथा मल बीउको प्रबन्धको लागि ध्यान दिनुपर्यो । त्यतातिर सरकारमा बस्नेले ध्यान दिने त परै जाओस् लाज पचाईपचाई कुरा उठाउन पनि नचाहेको पाइन्छ ।

नेपालमा सरकार पूर्ण अवधिमा चलेको अहिलेसम्म रेकर्ड छैन । देश अनियन्त्रित छ, जसको भक्ति उसको शक्ति भन्ने उखान यहाँ चरितार्थ हुँदै आएको छ । कृषिका लागि छुट्याइएको अनुदानमा समेत नक्कली कृषक बनेर नक्कली कागज बनाएर हजम पार्ने गरेको कुरा सञ्चार माध्यमहरूमा नआएका पनि होइनन् । उद्योग, कारखाना चलाउने, रोजगार दिने कुरा त परै जाओस् । नेपालमा केही गर्न खोज्ने काविल मान्छेलाई हतोत्साही गर्ने परिपाटी छ, सम्बन्धित निकायले चासो लिए पनि त्यसमा भाँजो हाल्ने माफियाहरूको कमी छैन यहाँ । खाडी मुलुकहरूबाट दश वर्षमा दश हजार लास भित्रिँदा तीतो अनुभव होइन, सरकार रेमिट्यान्सको मीठो स्वाद मात्र पाउँछ । तर देशलाई समृद्ध बनाउने खोक्रा भाषण मात्र बक्ने काम हुन्छ । सरकारमा रहनेले भन्न छोड्दैनन् । हामी यो देशलाई यस्तो बनाउछौँ, उस्तो बनाउँछौँ । २०४६ पछि सरकारी उद्योगहरू सबै टाट पल्टेको थाहा पाउँदापाउँदै मन्त्रीहरू नभएको भत्ता पचाएर थोत्रिएका सरकारी कारखानाहरूमा गएर कारखाना चलाएरै छाड्छौँ भनिरहँदा जनताहरू भने चुपचाप बसिरहेका छन् ।

भएका घिस्रिएर चलेका कारखानाहरूबाट उत्पादित वस्तुहरूको बजारीकरण र सम्बन्धित क्षेत्रहरूमा पहुँचको वातावरण गराइदिने काम सरकारको हो । त्यतातिर पनि सरकारको ध्यान जाँदैजाँदैन । बाँझो पल्टिएका खेतबारीतिर सरोकारवालाहरूको पनि ध्यान जाने गरेको पाइँदैन । कृषि अनुसन्धान परिषद्को खासै भूमिका पनि देखिँदैन । कृषि मन्त्रालय र कृषि विभाग पनि औचित्यहीन हुँदै गइरहेका छन् । मलमा सालैपिच्छे राजनीति हुने गरेको सबैलाई थाहा नै छ ।

धन हुनेले त आफ्ना छोराछोरीहरू सहजै महँगा स्कुल र कलेजमा पढाउन सक्लान् । कमजोर आर्थिक अवस्थाका जनताले भएको पैतृक सम्पत्ति बेच्नुपर्ने अवस्था छ । पढाइपछि रोजगारी नपाउँदा अभिभावकहरू तनावमा रहनुबाहेक अरू उपाय छैन र विदेशमा पठाउन फेरि ऋणको भर पर्नुपर्छ । पढ्ने बहाना भए पनि युवा जमात विदेशतिरै हानिएर उतै रमाउन थाल्छन् र आफ्नो देशलाई धिक्कार्न थाल्छन् । धिक्कारिनुपर्ने त देशलाई होइन सरकारमा बस्नेहरूलाई हो । झूट आश्वासनबाट चुनाव बलजफ्ती तवरबाट विजयी हुनेहरूलाई हो । जनताहरूलाई त आफू पिल्सिए पनि सहने बानी परिसकेको छ ।

रोजगारका अवसरहरू सिर्जना गर्नेछौँ भनेर घोषणापत्रमा उल्लेख गर्ने अनि युवायुवतीहरूलाई विदेशमा पलायन हुन बाध्य पार्ने सरकारको दुईजिब्रे नीति तथा व्यवहारबाट जनताले के आशा गर्लान् र ? भएका सरकारी उद्योगहरू त ध्वस्त भएभए, निजी क्षेत्रका उद्योगहरू समेत धराशायी हुँदै जाँदा रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउँछौँ भनेर झूटा कुरा बाँड्दै हिँड्ने नेताहरूलाई अलिकति पनि लाज छैन । हुन त जनता वा मतदाता नै बेबकुफ भएको आभाष पाइन्छ । थोत्रा, असक्षम र अदक्ष नेतालाई भोट दिएर पठाउनु नै मतदाताहरूको ठूलो गल्ती हो । जोस, जाँगर भएका युवा तथा योग्य उम्मेदवारलाई छनौट गर्न नसक्नु मतदाताहरूको नै कमजोरी हो भन्नु कुनै अत्युक्ति हुने छैन । गुण्डा, माफियाहरूलाई साथमा लिने परम्पराले पनि नेताहरूप्रति जनताको वितृष्णा बढ्दै गएको चाहिँ यथार्थ हो । जनता धेरै वाक्क र दिक्क भएर नै स्वतन्त्र उम्मेदवारतिर चासो दिन्छन् र भोट पनि दिन्छन् ।

प्राविधिक एवम् बौद्धिक क्षमता भएका कैयन युवाहरू विदेश पलायनको बाढी बग्न थालेको छ । प्लस टु सकिनासाथ विद्यार्थीहरू विदेशतिर हुर्रिन हतार भएको पाइन्छ । बाबुआमाहरू यस विषयमा बडो चिन्तित हुने गरेका छन् । भएका सन्तान पनि गाउँ र देश छोडेर बाबुआमाबाट टाढिँदा उनीहरू फर्किने हुन् कि होइनन् भन्ने चिन्ता पाल्नु स्वाभाविक नै हो । खेतबारी बाँझो राखेर खाडी मुलुकहरूतर्फ हुर्रिने क्रम झन्पछि झन् बढ्न थालेको छ । देशभक्तिको सोँच राख्नेहरू पनि नभएका होइनन् यहाँ, देशमा केही गर्नुपर्छ भन्ने भावना लिएर उभिएका काविल व्यक्तित्वलाई अगाडि बढ्ने अवसर नदिनु नै सरकारको अदूरदर्शिता हो भन्न सकिन्छ । दक्ष, योग्य र काविल जनशक्तिलगायत देशलाई आवश्यक पर्ने ज्ञान भएकाहरूलाई निरुत्साहित पारिनु देशको हितविपरीतको व्यवहार हो । यस विषयमा सरकारले गम्भीरतापूर्वक लाग्नु अनिवार्य छ । अन्त्यमा आधुनिक शिक्षाले गर्दा युवाहरूको विदेश मोह बढ्दै गएको छ । नेपाली र संस्कृत विषय मात्र पढाइ हुँदो हो त यसरी युवा जमात विदेशतिर हानिने थिएनन् कि ? त्यसैले भन्न सकिन्छ– ‘गाई खाने विद्या युवाहरू सिध्या ।’


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया