Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसहरी फोहर व्यवस्थापनमा नागरिक समन्वय

सहरी फोहर व्यवस्थापनमा नागरिक समन्वय


काठमाडौं । विशेषत बस्ती–विकासका हिसाबले अन्य क्षेत्रको तुलनामा सहर केन्द्रित समूहका बासिन्दालाई प्रदूषणयुक्त वातावरणको संक्रमणीय प्रभावको दरबाट कसरी पृथक राख्ने भन्ने सवाल नै मूल चुनौतीको रूपमा देखा परेको छ । जसको ऋणात्मक प्रभावस्वरूप सम्बद्ध क्षेत्रका नागरिक समाजले सहजरूपमा स्वास्थ्य जीवनयापनको परिकल्पना अवश्य पनि सक्दैनन् । सहरी कंक्रिटयुक्त वातावरणको विकासले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुको साथै फोहर व्यवस्थापनको क्षेत्रमा समेत चुनौती थपेको वर्तमान अवस्था हो ।

वातावरणीय क्षति एवं प्रदूषणको दर न्यूनीकरण गर्दै फोहर व्यवस्थापनको सन्दर्भमा रहन आउने हरेक समस्याको हल खोजिनुपर्ने हुन्छ । किनकि फोहरको उद्गम विन्दु भनेको निश्चितरूपमा मानव सम्प्रदायलगायतका अन्य जीवात्माहरू रहने गरेको तथ्यलाई अन्यथा लिन मिल्दैन । यसका अतिरिक्त सवारी साधनबाट निस्कने प्रदूषणको मात्राले गगनचुम्बी भवनहरूमा विराजमान रहने मानव स्वास्थ्यमा कतिको ऋणात्मक प्रभाव पार्छ भन्ने तथ्यले विशेष महत्व राख्ने गरेको पाइन्छ ।

जसले एकातिर बढ्दो जनघनत्वका लागि आवास प्रयोजनार्थ बढ्दै गएको सहरी कंक्रिटयुक्त वातावरणको विकासले हरितक्षेत्र न्यूनीकरण गर्नुबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक कार्य हासिल हुन सक्दैन । परिणामतः मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । प्राप्त हरित क्षेत्र क्षयीकरणको रक्षार्थ सम्भव भएसम्म कुनै एक प्रयोजनका लागि काटिएका एक वृक्षको सट्टामा कम्तीमा पनि पाँच वटा रुख रोपेर वृक्षारोपण गर्ने कार्यलाई तीव्रता दिनुपर्ने हुन्छ । तदुपरान्त स्वस्थ अक्सिजनयुक्त वातावरणको विकासमा काहीँकतैबाट कुनै पनि प्रकारको व्यवधानको अवस्था सामना गर्नुपर्ने छैन ।

यी नै तथ्यगत विशेषताको अभावमा स्वच्छ सफा–हरियाली सहरी अवधारणाको माग दिन प्रतिदिन बढ्दै गए पनि तत् सन्दर्भमा सोचेअनुरुपको प्रगति देख्न नसकिएको मात्र हो । जसले फोहर गर्यो त्यसैले व्यवस्थापन गर्नुपर्छ भन्ने रणनीतिक व्यवहारलाई आत्मसाथ गर्ने चेष्टा राख्ने हो भने सकारात्मक नतिजाको अपेक्षा अवश्य पनि गर्न सकिनेछ । नीतिगतरूपमा लिइएको महत्वाकांक्षी योजनाको विकासले मात्र सकारात्मक गन्तव्यको लक्ष्य प्राप्त हुन सक्दैन । जबसम्म सम्बद्ध क्षेत्रमा रहने गरेका सभ्य तथा सुशिक्षित ठानिएका हामी सामाजिक प्राणि मानव मात्रले फोहर व्यवस्थापनको सन्दर्भमा आफ्नो मानवीय व्यवहारलाई सुधार गर्दै समन्वयगत सहभागितालाई इमान्दारीपूर्वक व्यवहारतः पालना गर्दैनौ तबसम्म राज्यपक्षद्वारा अख्तियार गरिएका नीतिहरू केवल कागजी दस्तावेजमा मात्र सीमित रहनेछन् भन्ने कुरामा कुनै पनि प्रकारको दुविधा कायम रहनेछैन ।

जसका लागि आवश्यक पर्ने सूचनामैत्री अवधारणाको विकास गर्दै सोमा अन्तर्निहित कार्यव्यवस्थालाई हु–बहु पालना गर्न नागरिक समुदायलाई सुशिक्षित बनाउन सक्ने हो भने तत् सन्दर्भमा आशातीत सफलता हासिल गर्न कुनै प्रकारको कठिनाई व्यर्होनुपर्ने छैन । जसअनुसार फोहर फाल्ने, संकलन तथा व्यवस्थापन गर्ने समय, स्थान आदिका बारेमा अग्रीम जानकारी प्रदान गर्ने हो भने व्यवस्थित सहरीकरणको अवधारणाले मूर्तरूप हासिल गर्न सक्ने देखिन्छ । यसका साथै स्वच्छताको पालना एवं पुनः प्रयोग आउन सक्ने वा नसक्ने वस्तुहरूको आवश्यक पहिचान गरी पृथक–पृथक व्यवस्थापनका लागि फोहर संकलन केन्द्र–बक्साहरूको उचित प्रयोगमा बढी ध्यान केन्द्रित रहनु अर्को महत्वपूर्ण पक्ष हो ।

प्रस्तुत व्यवहारहरू त्यो बेला पूर्णरूपमा सफल रहन्छन् । जतिबेला उल्लेख्य मात्रामा नागरिक समूहको बृहत् सहभागिता कायम रहने अवस्था पैदा हुनेछ । तर यसका लागि सधैं नै फोहर विसर्जन गृहजस्ता स्थान विशेषको अभावमा सहरी क्षेत्रमा दिनहुँजसो थुप्रिने गरेका फोहोरका कारण समस्या समाधानमा अवरोध सिर्जना हुने गरेको मात्र हो । न्यूनरूपमा भए पनि वैकल्पिक व्यवस्थापनस्वरूप प्राङ्गारिक मल प्रशोधन कारखानाको स्थापना गर्ने हो भने स्थानीयस्तरमा खेर गइरहेको फोहोरलाई नै कच्चा पदार्थको रूपमा प्रयोग गर्दा दोहोरो लाभ हासिल गर्न सकिने अवस्था पैदा हुने देखिन्छ ।

पहिलो अवस्था भनेको निश्चितरूपमा व्यवस्थित फोहर नियन्त्रणमा सघाउन पुग्ने देखिन्छ । दोस्रो अवस्थाको रूपमा तत्सँग सम्बन्धित समूहलाई अतिरिक्त आयको मार्ग प्रशस्तको सम्भावना विकासले सम्बद्ध क्षेत्रको व्यवस्थापकीय सहजीकरणको वातावरणमा थप राहत सिर्जना हुने तथ्यगत विशेषतालाई अन्यथा लिन मिल्दैन ।

राज्य वा व्यवस्थापनको जिम्मेवारी बोकेका स्थानीय तह, महानगरपालिका, उप–महानगरपालिका वा नगरपालिकाको एक्लो प्रयासले मात्र सम्बद्ध क्षेत्रको व्यवस्थापनमा सकारात्मक नतिजाको अपेक्षा सहजै गर्न सकिने अवस्था अब पक्कै पनि रहेन । परिमाणात्मक सुधारसहितको अपेक्षाकृत सफलता प्राप्तिका लागि बृहत् नागरिक सहकार्य–सहभागिताको ठूलो महत्व रहने गरेको पाइन्छ ।

गैरजिम्मेवार बनेर जथाभावी फोहर गर्ने संस्कृतिको विकासलाई असभ्यताको प्रतीकात्मक स्वरूपको रूपमा बुझ्नुपर्ने हुन्छ । परिणामतः रोग प्रतिरोघात्मक क्षमताको अभावमा संक्रमणजन्य रोगले थलिएर अकालमा नै अमूल्य जीवन गुमाउनुपर्ने हुँदा समयमा नै सचेत रहँदै फोहर गर्ने मानवीय व्यवहारलाई सुधारात्मकतासाथ क्रमशः अगाडि बढाउने हो भने स्वास्थ्य सुरक्षा संवेदनशीलताको कसीमा अब्बता हासिल गर्न हामीलाई अन्य कुनै पनि शक्ति बाधक बन्न सक्दैन ।

यद्यपि दीर्घकालीन रणनीतिक योजनानुसार निकट भविष्यमा फोहर व्यवस्थापनका लागि छुट्टै दिगो तथा भरपर्दो उपायलाई अवलम्बन गर्नु अत्यन्त जरुरी भइसकेको छ । जुन राज्यको नीति तथा निर्देशनमा निर्भर रहने कुरा हो । स्थानीयतहमा प्राप्त स्रोत तथा साधनलाई चुस्तदुरुस्त बनाउँदै फोहर व्यवस्थापनमा सहजीकरण गर्नुको साथै नागरिकको स्वस्थ्य रहन पाउने संवैधानिक अधिकारलाई सुनिश्चितता प्रदान गर्नु राज्यको पहिलो दायित्व हो । राज्यको सहरी विकास नीतिअन्तर्गत वातावरण संरक्षण, प्रदूषणमुक्त समाजको निमार्णको साथै उचित फोहर व्यवस्थापनमा नागरिक सहभागिता तथा समन्वयमूलक रणनीतिलाई व्यवहार आत्मसाथ गर्ने क्रममा पुरस्कार तथा दण्डव्यवस्थापनको गतिशीलतालाई योजनाबद्ध ढङ्गबाट अगाडि बढाउँदा लक्ष्यअनुरूपको प्रगति सहजै देख्न सकिने अवस्था प्रारम्भ हुनेछ ।

यस प्रकारका उत्प्रेरणाात्मक कार्यक्रमको विकासले सहरी फोहर व्यवस्थापनको क्षेत्रमा उल्लेख्य सुधार आउने अपेक्षा गर्न सकिनेछ । किनकि नागरिकको व्यवहारमा फोहोरमुक्त वातावरणको यथोचित विकास गर्नुपर्छ भन्ने भावनाको विकास नै स्वच्छ सुन्दर सहरीक्षेत्र विकासको अवधारणालाई साकार पार्ने सहयोगात्मक गतिविधिका विकसित रूप हुन् । जसले एक्काइसौं शताब्दीको सभ्य नागरिक समाजको परिचय दिनेछ । तत् सन्दर्भमा प्रविधियुक्त दूरदर्शिता सान्दर्भिक रणनीति नै एक्काइसौं शताब्दीको व्यवस्थापकीय फोहोरमैत्री अवधारणाको आक्रामक रणनीति समेत हो । जसले स्वच्छ, सफा सुन्दर वातावरण विकासमा अहम् भूमिका निर्वाह गर्ने तथ्यलाई कुनै पनि हालतमा सहजै नजरअन्दाज गर्न अवश्य पनि मिल्दैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया