Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन आवश्यक छ सवारी दुर्घटना न्यूनीकरण ?

किन आवश्यक छ सवारी दुर्घटना न्यूनीकरण ?


काठमाडौं । मानिसको सभ्यता विकाससँगै सुविधाका लागि विभिन्न यन्त्र, मेसिनरी, उपकरणको आविष्कार भए र प्रचलनमा आए । यसै क्रममा एक ठाउँबाट अर्को ठाउँमा सहजरूपमा पुग्नका लागि सवारी साधनहरू जस्तै– हवाईजहाज, पानीजहाज, रेल, मालवाहक गाडी, यात्रुवाहक गाडीहरू प्रयोग हुँदै आएका छन् । पहिलेजस्तो पैदल यात्रा गर्नु नपर्ने अवस्था छ । प्रकृतिले त हिँड्नकै लागि प्राणीहरूलाई खुट्टा दिएकै छ । तर आधुनिक युगमा मानवलाई एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा पुग्नका लागि हवाईजहाज तथा पानीजहाज उपयुक्त सवारी साधनका रूपमा उपयोग हुँदै आएको छ । त्यस्तै, लामो दूरी र छोटो दूरीका यात्राका लागि बस जिप र अन्य यात्रुवाहक गाडीहरू सञ्चालनमा छन् । ग्रहहरूमा पुग्नका लागि एक मात्र साधन रकेटको उपयोग हुन्छ ।

आधुनिक युगमा प्रयोगमा आउने सवारी साधनको राम्रोसँग उपयोग गर्न नजान्दा तथा नसक्दा सवारी दुर्घटनाहरू बढ्दै जाने गरेको पनि पाइन्छ । कुनै पनि वस्तु तथा साधनको पक्ष नराकारात्मक र सकारात्मक दुवै हुन्छन् । यसै क्रममा सवारी साधनहरूको सञ्चालन राम्रोसँग गर्न सकियो भने राम्रो र नराम्रोसँग गरियो भने नराम्रो हुने हुन्छ ।

अत्यासलाग्दो जाम: राजधानी काठमाडौं उपत्यकाका विभिन्न नाकाहरूमा हुने जामहरू निकै अत्यासलाग्दा हुने गरेका छन् । कलंकी नाका, कोटेश्वर नाका, बालाजु नाका, महाराजगञ्ज नाका, सातदोबाटो नाका, चाबहिल नाकाहरूमा कहिलेकाहीँ त आधा घण्टासम्म जाम हुने गरेको पाइन्छ । कार्यालय हिँडेका कर्मचारीहरू सवारीसाधन जामका कारण समयमा नपुग्दा छड्केमा पर्ने गरेको पनि पाइन्छ । त्यस्तै, क्याम्पस तथा स्कुलका गाडीहरू पनि लामो समयसम्म जाममा पर्दा विद्यार्थीहरूको पढाइमा बाधा पनि पर्ने गरेको पाइन्छ । यो समस्या राजधानी काठमाडौं उपत्यकाबाहिर भने हुँदैन । किनकि राजधानीबाहिरका सहरहरूमा फराकिला सडक र सवारी साधनहरूको संख्या न्यून छ । जहाँ जनसंख्या बढी छ, त्यहाँ सवारी साधनको संख्या ज्यादा बढी हुनु स्वाभाविकै हो। राजधानीबाहिर पनि महानगरहरूको संख्या बढे पनि काठमाडौंजति भिडभाड र घुइँचो देखिने सम्भावना छैन ।

ट्राफिक व्यवस्थापन: राजधानीबाट बाहिरिने र भित्रिने सवारी साधनहरूका कतिपय चालकहरूले ट्राफिक नियमको पालनामा हेलचेक्य्राइँ गरेको पनि पाइन्छ । ट्राफिक चोकमा बसेका प्रहरीलाई देख्नेबित्तिकै चालकले सिट बेल्ट लगाउने र चोक पार गरिसकेपछि बेल्ट तुरुन्तै झिक्ने गरेको एउटा उदाहरण हो । यो लापरबाही राजधानीमा मात्र होइन मोफसलमा पनि छ । चालकले कुनै किसिमको गल्ती गरेमा ट्राफिक प्रहरीले चिट काट्नखोज्दा रिसाउने गरेको, बाझ्ने गरेको र कहिलेकाहीँ हातपात गर्ने गरेको पनि सुनिन्छ ।

हतार र ओभरटेक: कतिपय चालकले राजमार्गहरूमा अगाडिका गाडीहरूलाई उछिन्ने वा ओभरटेक गर्ने गरिन्छ । यात्रुवाहक गाडीहरूलाई मालवाहक गाडीहरूले साइड दिनु मनासिव हो । धैर्यता नअपनाउँदा हतारमा ओभरटेक गर्दा बेलाबेलामा गाडीहरू नदी खोलामा खस्ने गरेको पाइन्छ ।

चेकअप र सर्भिसिङ: गाडीको हालत के छ भनेर समय–समयमा परीक्षण वा चेकअप तथा सर्भिसिङ गर्नु गाडीधनी, चालक र सहचालकहरूको कर्तव्य नै हुन आउँछ । खाली पैसालाई मात्र प्राथमिकता दिने र जथाभावीरूपमा सवारी साधन सञ्चालन गर्ने हो भने कुनै पनि बेला दुर्घटना हुन सक्छ ।

मादक पदार्थ सेवन: चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्तिले पनि सवारी दुर्घटना हुने अर्को कारण हो । क्षमताभन्दा बढी सामान बोक्नु र क्षमताभन्दा बढी यात्रु बोक्नु पनि दुर्घटना हुने अर्को कारण हो । सवारीसम्बन्धी ऐन नियमको ख्याल नगर्नु । लामो दूरीमा चल्ने सवारी साधनमा एउटै चालकले पूरै हाँक्नु पनि दुर्घटनाको अर्को कारण हो । त्यसकारण बीचमा चालक फेरेर चलाउने नियम कडाइका साथ लागू गर्नुपर्छ । संकेत र इसारातिर ध्यान दिनुपर्छ । लेन अनुशासन पालना गर्नु र सवारीको गति नियन्त्रण गर्नु पनि आवश्यक छ । सवारी साधन अनुमतिपत्र प्रदान गर्नपूर्व ट्रायल दिँदा कडाइ गर्नु पनि आवश्यक छ। नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगका कारण पनि सवारी दुर्घटनाको अर्को कारण हो । यसका लागि अनुगमन र निरीक्षणलाई पनि कडाइका साथ लागू गर्नुपर्छ ।

ट्रिपर खतरामा गनिने गाडी: ट्रिपरले स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएर ज्यान जाने गरेको सञ्चार माध्यमहरूबाट बेलाबेलामा खबर पनि धेरै सुनिन्छ । अगाडि गुडिरहने स्कुटर तथा मोटरसाइकल चालकले पछाडिबाट आउँदै गरेको ट्रिपरलाई ऐनाबाट देख्नेबित्तिकै आफूलाई नियन्त्रण गर्नु आवश्यक छ । ट्रिपर गइसकेपछि मात्र अगाडि बढ्नुपर्छ । आजकल बोलीचालीमा ट्रिपरलाई खतरनाक गाडी भनेर पनि भनिन्छ । हालका दिनहरूमा राजधानी काठमाडौंलगायत बाहिरका सहरहरूका बासिन्दाले समेत विभिन्न प्रकारका सवारी साधन किन्ने गरेको पाइन्छ । शौखका लागि भए पनि किस्ताबन्दीमा गाडी किन्नेहरू र सान देखाउनेहरूको पनि कमी छैन यहाँ ।

राजधानीमा वार्षिक करिब दुई सय जनाको मृत्यु:
राजधानी काठमाडौंमा वर्षेनि हजारौंको संख्यामा सवारी साधनहरू खरिद बिक्री हुनेगर्छ । त्यसमध्ये कार, मोटरसाइकल, स्कुटर बढी खरिद बिक्री हुन्छ । सबैभन्दा बढी मोटरसाइकल र स्कुटरको खरिद बिक्री हुन्छ । काठमाडौंको जामको लागि बढी भूमिका खेल्नेमा मोटरसाइकल र स्कुटी पनि पर्छ । सानो खाली ठाउँ देख्दाबित्तिकै जथाभावी स्वाट्ट छिरिहाल्ने मोटरसाइकल र स्कुटीका कारण पनि च्याप्पिएर र ठोक्किएर मृत्यु हुनेको संख्या पनि बढ्दो छ । ठूला–साना सवारी साधनहरूबाट जम्माजम्मी गरी वार्षिक दुई जनाको मृत्यु हुने गरेको तथ्याङ्कले बताउँछ ।

युवाहरूमा बढ्दो लापरवाही: सवारी साधन सञ्चालनमा मात्र होइन हरेक कार्यमा युवा जोस सतर्कताविहीन नै हुने गरेको पाइन्छ । युवाहरूले भन्दा पाका चालकहरूमा सतर्कता अपनाउने गरेका हुन्छन् । सवारी दुर्घटनामा हालसम्मको तथ्याङ्क हेर्दा मृत्यु हुनेमध्ये ८० प्रतिशत ३० वर्षमुनिका रहेको पाइन्छ ।

सडकका खाल्डाखुल्डी: राजधानीका सडक होस् वा राजमार्गहरूमा ठाउँठाउँमा खाल्डाखुल्डी देखिन्छन् । जसका कारण सवारी साधन अनियन्त्रित भई पल्टिने र ठोक्किने भई दुर्घटना हुने गरेको पाइन्छ । जसका कारण कैयन घाइतेका साथै कतिपय मृत्यु हुने गरेको पनि पाइन्छ ।

सवारी दुर्घटना न्यूनीकरणका उपाय:
१. विद्यालय र क्याम्पसस्तरका पाठ्यक्रममा समेत ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा व्यवस्था गरेमा सवारी साधनका धनी, चालक, सहचालकहरूमा सचेतना बढ्ने छ ।
२. हाल सवारी साधनमा तीन किसिमका नम्बर प्लेट जडान गरिएको पाइन्छ– प्रदेशगत, अञ्चलगत र इम्बोस्ड । सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिएमा पनि चालकहरू सचेत हुने थिए ।
३. सवारी साधन प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने समयको लागि टाइम कार्ड लागू गर्नु पनि जरुरी छ ।
४. गति नाप्ने यन्त्र राडार गन, सीसीटीभीलगायतका उपकरणहरूको उपयोग गर्नु पनि जरुरी देखिन्छ ।
५. लामो दूरीमा चल्ने साना ठूला सबै सवारी साधनका चालक र सहचालकहरूलाई बीचबीचमा आराम गर्ने स्थानहरू तोकिनु जरुरी छ । जसले गर्दा थकानमा कमी हुन्छ ।
६. सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सबै निकायहरूबीच समन्वय हुनु पनि जरुरी छ ।
७. लेन मार्किङ, ट्राफिक लाइन, जेब्रा क्रसिङ, कन्भेन्स ग्लास, फुटपाथ लेन, साइकल लेन, चेक प्वाइन्टको समुचित व्यवस्था गरिनु पनि जरुरी देखिन्छ ।
८. दुर्घटना सम्भावित ठाउँहरूमा संकेतहरू राखेको त देखिन्छ । ती ठाउँहरू आउनुअघि सचेत जनशक्तिबाट पनि सो जानकारी गराउनुपर्छ ।
९. सडकमा रहेका खाल्डाखुल्डीहरू यथासमयमा मर्मत गर्नुपर्छ।
१०. ठाउँठाउँमा कन्भेक्स मिरर र डिभाइडरको व्यवस्था गर्नुपर्छ ।
११. सडकको क्षमताअनुसार सवारी साधन सञ्चालन गर्न दिनु पनि आवश्यक छ । साँघुरा सडकमा ठूला सवारी साधनहरू निषेध गर्नुपर्छ ।
१२. पुराना सवारी साधनहरूको सञ्चालननमा कडाइ अपनाउनुपर्छ । साथै, थोत्रा र पुराना गाडीहरू विस्थापन गर्नुपर्छ ।
१३. ट्राफिक जनशक्तिमा वृद्धि गरी ठाउँठाउँमा खटाउनुपर्छ । ग्रामीण भेगहरूमा समेत बाटोको निर्माण र विस्तार हुँदै गएकाले त्यहाँ पनि ट्राफिक प्रहरीको व्यवस्था गर्नु जरुरी छ ।

अन्त्यमा, ट्राफिक नियमको पूर्णरूपमा पालना गर्नु हरेक चालक तथा सहचालकहरूको कर्तव्य हुन आउँछ । सवारीधनीले पनि सवारी साधन सही हालतमा छ वा छैन भनि यकिन गरेर सर्भिसिङ र मर्मत गराइहाल्नुपर्छ । यातायातसँग सम्बन्धित निकाय तथा ट्राफिक प्रहरी कार्यालयहरूले सवारीसम्बन्धी ऐन तथा नियम कडाइका साथ पालना गर्नका लागि समयसमयमा प्रशिक्षण दिइराख्नु जरुरी छ । जथाभावी सवारी चालक अनुमतिपत्र प्रदान कार्यमा कडाइ गर्नुपर्छ । साथै, नक्कली सवारी चालक अनुमति पत्र उपलब्ध गराउने र प्राप्त गर्नेलाई कडा कारबाही गर्ने र त्यस्ता अनुमतिपत्र खोजी गरेर तत्काल रद्द गरी कारबाही समेत गर्नु जरुरी छ । ट्राफिक प्रहरीलाई देखेपछि मात्र नियम पालना गरेजस्तो गर्ने तरपछि पालना नगर्ने परिपाटीलाई निरुत्साहित गर्नु पनि टड्कारो देखिन्छ ।

ग्रामीण भेगमा चल्ने सवारी साधनहरूमा छतमा समेत खचाखच यात्रुहरू राख्ने कार्य भइरहेको हुँदा यस्तो कार्यलाई निरुत्साहित गर्न जिल्लास्तरमा सम्वन्धित निकायहरूको समन्वयमा एक शक्तिशाली समिति पनि गठन गर्नु जरुरी छ । थोत्रा र पुराना सवारी साधनलाई पूर्णतया बन्द गराउने काम पनि उक्त समितिले कार्यान्वयन गर्नु आवश्यक छ । यात्रुहरूलाई समेत सचेत गराउनु जरुरी छ । कच्ची बाटोमा समेत तीनपाङ्ग्रे साधन अर्थात् टेम्पोको सट्टा जिप वा माइक्रो बस चलाउने नियम बनाइएमा पनि दुर्घटनामा कमी हुने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया