Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआलोचना र स्वआलोचना

आलोचना र स्वआलोचना


काठमाडौं । कसैको गल्ती कमजोरीमा आलोचना गर्नु र कमजोरी थाहा भएपछि स्वीकार गर्नु सामान्य प्रक्रिया हो । परिवारमा छोराछोरीको कमीकमजोरी बाबुआमाले देखाइदिनुहुन्छ । छोराछोरी पनि आफ्नो कमजोरी पत्ता लागेपछि त्यसलाई स्वीकार्ने गर्छन् । यसो गर्नु व्यक्ति र पारिवारिक उन्नति प्रगतिका लागि पनि फाइदाजनक छ । जसको घरमा बाबुआमा आफैं आफ्नो अनुशासनमा बस्दैनन् भने यस्तो परिवारमा भाँडभैलो भएको पनि हामीले देखेकै छौं । अभिभावक आफैं पनि अनुशासनमा बस्नु जरुरी छ । बाबुआमाले भनेको छोराछोरीले मान्ने गर्छन् । ज्ञानी भई काम गर्ने भएमा निश्चितैरूपमा यस्तो परिवारको उज्ज्वल भविष्यको अन्दाज गर्न सकिन्छ । परिवारका सबै काम मिलेर गर्ने परिपाटी बस्छ । यसो भएमा समयमा सबै काम सम्पन्न पनि हुन्छन् । यो उन्नतिको बाटो पनि हो । यसैका लागि आलोचना र स्वआलोचनाको सिद्धान्तलाई पहिलो पाइलाको रूपमा परिवारमा प्रयोग र उपयोग भएको हामी पाउँदछौं ।

परिवारमा भएको यही परिपाटीलाई विश्वका प्रायः सबै कम्युनिस्ट पार्टीहरूले आ–आफ्नो आन्तरिक जीवनमा लागू गरे । यसले कम्युनिस्ट पार्टीहरूको आन्तरिक जीवनलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्यो । आलोचना र स्वआलोचनाको माध्यमबाट पार्टीभित्र झ्याङ्गिन लागेको गलत पक्षको सुधार गर्न ठूलो मद्दत पुग्छ । कम्युनिस्ट पार्टीका सदस्यहरू समाजबाटै आएका हुन्छन् । समाजमा भएका राम्रा पक्ष मात्र नभएर नराम्रा पक्ष पनि उनीहरूको बानी व्यवहारमा देखापरिहाल्छन् । नराम्रा पक्षले पार्टीको छविमा आँच आउँछ । यसले संघर्ष र शत्रुसँग मुकाबिला गर्ने क्षमतामा ह्रास ल्याउने हुन्छ । यसैले पनि यो परिपाटीलाई कम्युनिस्ट पार्टीले अवलम्बन गर्नुपरेको हो । आलोचना र स्वआलोचनाको परिपाटीलाई कम्युनिस्ट पार्टीभित्र निकै अनुशासितरूपमा लागू गरिन्थ्यो । आलोचना गर्दा सौहार्दपूर्णरूपमा आलोचना गर्नुपथ्र्यो । स्वीकार्नेले पनि सही र स्वच्छ आलोचनालाई सहर्ष र सौहार्दपूर्णरूपले स्वीकार्दथ्यो ।

यस्तो परिपाटीले त्यतिखेर पनि जो साँच्चै दिलैदेखि समाज परिवर्तनका लागि लागेका हुन्थे उनीहरूलाई मात्र काम गर्दथ्यो । जो सच्चिन मान्दैन’थ्यो त्यस्तो व्यक्ति विस्तारै पार्टीबाट पाखा लाग्दथ्यो । आलोचना र स्वआलोचनाको पद्धति नअपनाउने कम्युनिस्ट पार्टीको जीवन धरापमा पर्छ । किनकि आलोचना र स्वआलोचनाले कम्युनिस्ट पार्टीलाई जीवित राखिराख्न मद्दत गर्छ । जुन कम्युनिस्ट पार्टीमा आलोचना र स्वआलोचनाको सैद्धान्तिक हतियार भुत्ते हुन्छ वा यसलाई लागू नै गरिँदैन त्यस्तो पार्टीलाई कम्युनिस्ट पार्टी भन्न सकिँदैन । पार्टीको नाम त जेसुकै राख्न पनि सकिएला तर यस्तो पार्टी कम्युनिस्ट पार्टीजस्तो हुँदैन । नाममा कम्युनिस्ट पार्टी हुन्छ । व्यवहारमा आ–आफ्नो सुरमा चल्ने पार्टी बन्न जान्छ । उदाहरणका रूपमा मोहनविक्रम सिंह कम्युनिस्ट पार्टीको शीर्ष नेता हुनुहुन्छ । कम्युनिस्ट पार्टीहरूभित्र विनाकारणका बहुविवाहलाई स्वीकारिँदैन । तर उहाँले तीन–तीन वटा विवाह गरी भ्याउनुभयो । यस्तो विवाहले उहाँलाई निकै विवादमा पनि तानेको थियो कुनै बेला । नेपालमा भएका आजका प्रायः सबै कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू उहाँकै चेलाहरू हुन् । तर उहाँको पार्टी खुम्चिएर सानु हुनुमा उहाँकै यस्तै प्रकारका कमजोरी पनि मुख्य दोषी देखिन्छ । जो सौहार्दपूर्ण आलोचनालाई टेरपुच्छर लगाउँदैन उसलाई सार्वजनिक र भाषणको मञ्चबाट गरिने आलोचनाले तहमा ल्याएको पनि देखिएको छ आजकल ।

आजकल नेपालमा लोकतन्त्र आएको छ । आलोचनाहरू गाली बनेर भाषणको मञ्चमा पुग्छन् । स्वआलोचनाको ठाउँमा प्रशंसाको माग हुन थालेको छ । यसैले गालीको रूपमा आउने आलोचना रिसइबीमा परिणत भई प्रतिवादको रूपमा बाहिर आउन थालेको छ । प्रशंसाको पनि अत्यधिक माग बढेकाले यसको रूप चाकडीमा परिणत भएको छ । नेताहरू र पार्टीहरूबाट अत्यधिक आशा बढ्न गएकाले चाकडीका अनेक रूप देखिन थालेका छन् । हजार किलोको मालाले नेतालाई सम्मान गर्ने र सम्मान लिने पनि विकृति देखिएको छ । अत्यधिक आशाका कारण झोले मानसिकताको पनि विकास भएको छ । वास्तवमा राम्रा आलु र कुहिएको एक दुई वटा आलुलाई सँगसँगै राखेर बोरामा प्याक गर्ने कार्यकर्ताले एउटा आलु पनि जोगाउन सक्तैन । नेता भनेको पार्टी हो भन्ने भ्रममा रहेका कारण कतिपय कार्यकर्ताले नेताको कमजोरीको पालनपोषण गर्छन् । नेताले पार्टी र देश डुबाइसक्दा पनि नेताको गुणगान गाइरहने अवस्था छ । नेताले ढुंगा पाक्छ खान हुन्छ भन्यो भने पाक्दैन भन्ने कार्यकर्ता निस्कन गार्हो भयो । यो सबैको कारण आलोचना र स्वआलोचनालाई सही रूपमा पार्टीभित्र सञ्चालन नगर्नु र गर्न नचाहनुको परिणाम हो । यसले पार्टीलाई पुरानै सामन्तवादी र दलाल पुँजीवादी शैलीमा पुर्याएको छ । सक्रिय राजतन्त्र हुँदा राजा संविधानभन्दा माथि हुन्थे । उनको विरोध गरियो भने सजायको भागिदार बन्नुपथ्यो । अहिले पनि नेताको विरोध गर्दा पार्टीभित्र जतिसुकै खटे पनि जतिसुकै जनताको सेवा गरे पनि पार्टीमा स्तरोन्नति नहुने र टिकट पनि नपाउने परिपाटी सामान्य बनेकै छ । एकै जना व्यक्ति लामोसमय टिकट पाइरहने परिपाटी छ । मन्त्री र प्रधानमन्त्री एउटै मानिस भइरहन्छन् । उसले व्यक्तिगत उन्नति र प्रगति गरिरहन्छ । बाँकी सबैले उसलाई समर्थन गरिरहनपर्ने भोट हालिरहनुपर्ने परिस्थिति छ । यसैले जनतामा आशाभन्दा निराशाको अवस्था बढी देखिएको छ । सत्तामा निरन्तर गइरहनेले बढी विरोधको सामना गर्नुपर्ने अवस्था सिर्जना पनि भइरहेको छ । यही नै आजको तथ्य हो । कम्युनिस्ट पार्टीले विज्ञानलाई स्वीकार्ने भएकाले देखिएको तथ्यलाई नस्वीकार्नु युक्तिसंगत हुँदैन ।

आजकल कम्युनिस्ट पार्टीभित्र व्यक्तिवादी र स्वार्थी प्रवृत्ति हाबी भएको देखिन्छ । विभिन्न तहमा जनप्रतिनिधि बनेका पार्टीका सदस्यहरू समाज र देश बनाउनुको सट्टा आफ्नो व्यक्तिगत उन्नति र प्रगतितिर लागेको देखिन्छ । पार्टीका शीर्ष नेताहरू पनि आफूलाई बढी प्रशंसा गर्ने र हजारौं किलोको माला पहिर्याउनेलाई बढी प्राथमिकता दिन थालेका छन् । समाज र देशको उन्नति र प्रगतिको बेवास्ता गर्ने अचम्मको संस्कार हाबी भइरहेको छ । यसको एउटै मात्र कारण आलोचना र स्वआलोचनाको परिपाटीलाई बेवास्ता गर्नु हो । मानी लिऊँ अब कम्युनिस्ट पार्टीको नीति नियम सिद्धान्त अब सबै सकियो । किनभने लोकतन्त्र आइसकेको छ । अब जनप्रतिनिधि र मन्त्रीहरूले आफू बन्ने हो आफ्ना परिवारलाई बनाउने हो भन्ने भाष्य निर्माण भयो । यसो हुँदा कम्युनिस्ट पार्टीभित्र कुनै अनुशासन देखिएन । कसैले अनुशासनको पालना पनि गर्नुपर्ने छैन भन्ने सन्देश गएको छ । फलस्वरूप आजकल जनताको बीचमा कम्युनिस्ट पार्टीहरू पनि फितलो बनिरहेका छन् । अरू पार्टीको त के कुरा भयो र ?

परिवारमा अभिभावकले आफ्ना बालबालिकामा भएका गल्ती र कमजोर पक्षलाई सुधार गर्न यो पद्धति अपनाउँदै आएका छन् । त्यही पद्धति समाजमा आइपुग्दा विभिन्न व्यक्तिले विभिन्नरूपमा लागू गरेको देखिन्छ । चीनमा बौद्धिक दर्शनको आगमन भइसकेपछि नैतिक दर्शनका एक विचारक लावत्से थिए । उनले शत्रुहरूको आलोचना र सुझावहरुको पनि मनन् गर्नुपर्छ भन्थे । यसका लागि उनले एउटा शिविरै खडा गरेका थिए । यस्तो शिविरमा उनले बिहानभर आफ्ना शत्रुहरूलाई जम्मा गरेर गाली सुन्ने र यसपछि दिनभर शत्रुका भनाइहरूको पनि मनन् गर्दै राजकाज सञ्चालन गर्ने परिपाटी अपनाएका थिए ।

आधुनिक युगमा आइपुग्दा हामी आलोचना र स्वआलोचनालाई अरू विकसित रूपमा पाउँछौँ । अब आएर संसदीय व्यवस्थालाई संंसारमा लोकप्रिय व्यवस्थाको रूपमा स्वीकारियो । यसमा विपक्षको भूमिकालाई पनि मनन् गरिएकै हुन्छ । पक्षले गरेको राम्रा कामलाई समर्थन र नराम्रा कामको विरोध गर्नु विपक्षको भूमिका हो । यस्तो किसिमको प्रणाली सर्वप्रथम बेलायतमा प्रादुर्भाव भयो । यही प्रणालीको सिको अरू देशले पनि गर्दै गए । यस्तो प्रणाली विकसित र सचेत नागरिक भएको मुलुकहरूमा केही फलिफाप भएको पनि देख्न सकिन्छ ।

हाम्रोजस्तो अल्पविकसित र गरिब मुलुकहरूमा यो अभिशाप भएकोजस्तो पाइन्छ । विपक्षले आफू विपक्षमा पुग्नेबित्तिकै पक्षको के राम्रो के नराम्रो कुर्लिएर विरोध गर्छ । यसरी पक्षको सबै नराम्रो कुरा मात्र देखाउन सकेमा जनतालाई पक्षप्रति वितृष्णा पैदा गरी जनतामा भ्रम पैदा हुन्छ । उसलाई सत्ताच्युत गर्न सजिलै सकिन्छ भन्ने लाग्दोरहेछ । जनता पनि सोझा उस्तै छन् । यहि विश्वासमा सबै उत्रिँदा सत्ता जहिले पनि धरापमा र अस्थायी मात्र हुने भयो । यसैले सत्तामा हुँदा दिगो विकासतिर लाग्नुभन्दा कसरी आफू छोटो समयमा धनी बन्ने भन्नेतिर मात्र ध्यान केन्द्रित हुने भयो । यसैले देशको विकासभन्दा व्यक्तिको विकास नै ज्यादा भयो । छ÷छ महिनामा सरकार परिवर्तन हुने अस्थिर अवस्थाका कारण विदेशीहरूले पनि उत्तिकै खेल्ने अवस्था आएको छ । यसैले नेपालमा दिगो विकास हुनेभन्दा विदेशीको कसरी चाकरी गर्ने र मन्त्री प्रधानमन्त्री हुने भन्ने ध्यानमा नेपालका नेताहरू देखिन्छन् । यसैले यो प्रणाली नेपालको हावापानी माटो सुहाउँदो भएन कि भन्ने पनि अनुमान गर्न थालिएको छ । यही अवस्था रहिरहँदा जनतामा भएको असन्तुष्टि विष्फोटको संघारमा पुगेको छ । नेपालमा भारतीय भूमिमा जे हुँदै आएको छ त्यही हामीले पनि गर्नुपर्नेछ भन्ने छैन । हामीले आफू अनुकूल यसलाई सुधार गर्न पनि सक्छौं । त्यतातिर कसैको ध्यान गएको पाइँदैन ।

अन्तमा यी सबै समस्याहरूको जड गल्ती कसैलै नस्वीकार्ने प्रशंसा मात्र खोज्ने जुन परिपाटी छ यसले देशको हित गर्दैन । आफूलाई सुधार गरौं, अरूलाई सुधार हुने अवसर दिऔं ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया