Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना कहरमा खोपको रहर

कोरोना कहरमा खोपको रहर


काठमाडौं ।
प्राणीमा सर्वश्रेष्ठ मानिएको मानव समुदायको मूल चाहना भनेको सुखमय जीवनयापनको कामना हो । जसका लागि पूर्ण स्वास्थ्यलाभ कायम रहनुपर्ने हुन्छ । किनकि विश्वमा रहेको अन्य वैभवशाली धनदौलतको तुलनामा मानव स्वास्थ्य उच्चकोटीको धनको रूपमा लिने गरिन्छ । भनिन्छ सुनचाँदी, रुपैयाँ पैसाजन्य धन नासिए पनि पुनः प्राप्तिको सम्भावना जीवन्त रहन्छ तर मानव स्वास्थ्य प्रतिकूल रहन गई नष्ट भए प्राप्तिको सम्भावना रहँदैन । तसर्थ नाशवान् अमूल्य मानव स्वास्थ्यको रक्षा गर्नु हामी सबैको कर्तव्य । तथापि विगत केही समय यता विश्व समुदायमा महामारीको हलचल मच्चाउँदै संक्रमणजन्य कोरोना कहरले कोहलतापूर्ण त्रासदीको अवस्था सिर्जना गरेको वर्तमान अवस्था हो ।

प्रकोपजन्य चपेटाको पीडामा नेपाल पनि पृथक रहन सक्दैन । विश्वमा कायम रहेको अत्यधिक जनघनत्व कारण संक्रमणको जोखिमको दर तीव्ररूपमा अभिवृद्धि हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । यसका साथै सुरुवाती अवस्थामा प्रकोप निदानका लागि औषधि–खोपको पहिचान एवं विकास नभएकोले समस्या समाधानको क्षेत्रमा समेत विलम्ब उत्पन्न हुनगई महामारी न्यूनीकरणको क्षेत्रमा मानव चाहनाअनुकुलको सुधारको अपेक्षा प्राप्त गर्न नसकिएको मात्र हो ।

जीवनप्रतिको मोहका कारण मृत्यको भयलाई केही समयको लागि भए पनि थाती राख्दै दीर्घजीवनको आकांक्षा हरेक मानव समुदायको आजको चाहना हो । यद्यपि मृत्यु मानवलगायत सम्पूर्ण प्राणीजगतको शाश्वत सत्य समेत रहेको तथ्यसँग हामीहरू कोही पनि अनभिज्ञ रहेका छैनौँ । मानव सम्यतालाई महाव्याधिको विकराल अवस्थाबाट मुक्त गर्ने उद्देश्यअनुरूप सम्पूर्ण चिकित्साजगतको अहोरात्र कर्तव्यनिष्ठ लगनशीलताको परिणाम स्वरूप कोभिड १९ कोरोना कहरको क्षेत्रमा केही हदसम्म आसाका नयाँ किरणहरू प्रस्टरूपमा देखिन थालेका छन् । जसअनुसार कहरविरुद्धको खोपको विकास समेत भइसकेको पाइन्छ ।

प्राप्त जानकारीअनुसार निर्माण गरिएको खोपको परिमाण प्रारम्भिक अवस्थामा रहनुको साथै संख्यात्मक हिसाबले समेत न्यून रहेको हुँदा सहजरूपमा आम जनसमुदायमा पहुँच अभिवृद्धिको लागि भने अझै केही समय प्रतीक्षा गर्नुबाहेक अर्को विकल्प मानव समुदायसँग रहेको पाइएन । त्यसो भएको हुँदा सरल एवं सहजरूपमा खोपको पहुँच उपलब्ध नभएसम्मको लागि हाल अपनाउँदै आएको महामारीविरुद्धको सुरक्षा कवजअनुसारको व्यवहारलाई अक्षरंश पालना गर्नुपर्ने हुन्छ । जसले जोखिम न्यून गर्न सक्दो सहयोग पु¥याउनेछ भन्ने विश्वास लिन सकिन्छ ।

यसका अतिरिक्त जोखिम न्यूनीकरणको लागि खोपको प्रभावकारिताका आधारमा मुलुकको अवस्थाअनुसार कुन खोप उपयुक्त रहन्छ भन्ने तथ्यलाई अध्ययन गर्नुपर्ने हुन्छ । जसबाट खोपप्रति जनविश्वास बढ्न गई बहुसंख्यत जनसमुदाय लाभान्वित हुने अवस्था प्रारम्भ हुने देखिन्छ ।

नागरिक स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मनन गर्दै राज्यका तर्फबाट कोरोनाविरुद्धको खोप अनुदानबापत भारत सरकारका तर्फबाट प्रदान गरिएको कोभिसिड नामक खोपको दश लाख डोज हालै मात्र मुलुक भित्रिसकेको वर्तमान अवस्था हो । महामारीको विपतजन्य अवस्थामा मित्रराष्ट्र भारत तथा भारतीय जनताको सद्भाव स्वरूप भित्रिएको प्रस्तुत खोपलाई कुनै पनि पक्षले राजनीतीकरण गर्ने प्रयास नगर्दा राम्रो हुन्छ । जसले केही हदसम्म भए पनि मृत्युको कहालीलाग्दो अवस्थाबाट मानव सभ्यतालाई राहत प्रदान गर्नेछ ।

प्रस्तुत प्रवृत्तिको खोपको विकास भारतमा नै हुने भएकोले नेपालका लागि सबै पक्षबाट उपयुक्त रहनेछ भन्ने सरोकारवाला तथा विज्ञहरूको बुझाइ छ । उक्त खोपलाई दुईदेखि आठ डिग्री सेल्सियससम्म भण्डारण गर्न सहज हुने भएकोले पनि उपयुक्त मानिएको छ । सम्बद्ध क्षेत्रका जानकारको भनाइलाई हेर्ने हो भने पनि शून्य डिग्री सेल्सियसभन्दा तलको तापक्रममा भण्डारण गर्ने खोप प्राविधिक दृष्टिले पनि मुलुकका लागि उपयुक्त हुन नसक्नुको साथै मूल्य, भण्डारण आदिका विविध पक्षलाई ध्यानमा राख्दै सोहीअनुसारको खोपलाई पहिलो प्राथमिकतामा राखी मुलुक भित्र्याउन आवश्वयक पहलकदमी गर्नुपर्ने हुन्छ ।

अत्यधिक जनसरोकारको विषय भएकोले खोप आयातका लागि केवल राज्यमा मात्र निर्भर नरही अन्य प्रभावकारी माध्यमका विभिन्न उपायहरू अवलम्बन गर्नुको साथै निजी क्षेत्रसँग आपसी समन्वय गरी जतिसक्दो चाँडो संख्यात्मक तथा गुणस्तरीय खोप मुलुक भित्र्याउन सके आम नेपाली जनताले महामारीविरुद्धको यस लडाइँमा अवश्य पनि विजय प्राप्त गर्न सक्नेछन् ।

राज्यका तर्फबाट आफ्ना नागरिक समूहलाई निःशुल्क खोप वितरणका लागि आवश्यक पर्ने रकमको जोहो समेत गरिसकेको देखिन्छ । तथापि खोप लगाएपछि मानव स्वास्थ्यमा पर्नसक्ने सम्भावित जोखिमका बारेमा विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने हुन्छ । नौलो संक्रमण भएकोले खोपका लागि आवश्यक पर्ने विश्वासी वातावरण तयार पार्न राज्यतर्फबाट कुनै प्रकारको कसर बाँकी राख्नु हुँदैन ।

प्रस्तुत जोखिमपूर्ण कहरका कारण विश्वमा बिसौँ लाख मानिसले मृत्यु धारण गरिसकेपछिको अवस्थामा चिकित्सा विज्ञानको सोधखोज र सफलतापश्चात् प्राप्त खोपको आगमनले मानव समुदायमा जीवनप्रतिको आशा अत्यधिकरूपमा चुलिएको छ । मित्रराष्ट्रबाट सहयोगका रूपमा भित्रिने खोपको सन्दर्भमा नयाँ र नौलो योजनासमेत बाहिरिँदै आएको वर्तमान अवस्था हो ।

खोपको विकासले महामारीलाई न्यूनीकरण गर्ने मात्र नभई आर्थिक विकास र सामाजिक जीवनमा पर्नगएको ऋणात्मक असरलाई क्रमशः न्यूनीकरण गर्दै सकारात्मक सन्देशहरू प्रवाह गर्न कोशेढुंगा साबित हुने देखिन्छ । तथापि यसको उपयोगबाट मानव जीवनमा पर्नसक्ने अनुकूल वा प्रतिकूल असरका बारेमा अहिल्यै केही भन्न सक्ने अवस्था रहँदैन जसका लागि केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ, । खोपको विकास, विस्तार एवं वितरणका सम्बन्धमा आम जनमानसको विश्वासको मत हासिल गर्नसक्ने अवस्था सिर्जना गर्नु नै यसको विश्वसनीयता तथा प्रभावकारिताकोे अभिवृद्धि गर्नुसरहको अवस्था हो ।

जसले निश्चितरूपमा जनस्वाथ्यप्रति राज्यको अवधारणा प्रस्टरूपमा मुखरित हुने देखिन्छ । अन्यथा जनविश्वास गुम्न गई महामारीले उग्ररूप धारण गर्दै हालको भन्दा मानव मृत्युको दर कहालीलाग्दो अवस्थामा पुग्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । नेपालजस्तो जनचेतनाको अभाव रहेको क्षेत्रमा यसको दूष्प्रचारबाट हुनसक्ने सम्भावित नकारात्मक जालोबाट नागरिक समुदायलाई सुरक्षित राख्नु अर्को चुनौती हुनसक्ने देखिन्छ ।

साथै खोप भण्डारणगृहमा हुनसक्ने आपराधिक गतिविधिबाट पृथक राख्दै जनसाधारणलाई छोटो समयमा नै अन्य मुलुकले विकास गरेका खोपहरू भित्र्याएरै भए पनि वितरण गर्नसक्ने अवस्था पैदा गर्नु आजको प्रमुख आवश्यकता हो । जसका कारण कोरोना कहरले सुस्तायमान रहेको मुलुकको अर्थतन्त्रलगायत सामाजिक क्षेत्रले गतिशीलता हासिल गर्ने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । प्रस्तुत गहन तथ्यलाई हृदयंगम गर्दै राज्यले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रताका साथ निरन्तरता दिँदै आएको पाइन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया