Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाको माहामारी र खोप

कोरोनाको माहामारी र खोप


काठमाडौं ।
कोरोनाको विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन । यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुनथालेको छ । यसबाट विश्वभरि नयाँ आशाका किरण र विश्वासको सञ्चार भएको छ ।

मूलतः सर्वप्रथम हाम्रो छिमेकी देश चीनको वुहानबाट देखिएको यो भाइरस संसारका सबै देशहरूमा पुगिसकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका छन् । यसरी वर्षदिन पुगिसक्दा पनि यस भाइरसको नियन्त्रण हुन सकेको छैन । तर चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरूमा भने फेरि यसका सङ्क्रमितहरू देखिन थालेका चीन सरकारले जनाएको छ । हाम्रो देशको कुरा गर्ने हो भने कोभिड १९ को संक्रमण देखिएको वर्षदिन पूरा भएको छ ।

नेपालमा पनि गत २०७६ साल माघ ९ गते कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो । चीनबाट स्वदेश फर्किएका विद्यार्थीलाई नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । हङकङको ल्याबमा लगेर उनको स्वाब परीक्षण गरिएको थियो । उनमा संक्रमण पुष्टि भएपछि नेपालमा महामारीको भय बढ्यो । विसं २०७६ चैत ११ गतेदेखि त एक सय २० दिन लामो लकडाउन र त्यसपछि पनि लामै समय निषेधाज्ञा भयो । यसले मुलुकमा मानवीय, आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्र अस्तव्यस्त बन्यो । गत साउनसम्म आइपुग्दा संक्रमणको दर उच्च देखियो ।

अहिले संक्रमण कम देखिए पनि संक्रमित संख्या बढिरहेकै छ । यो वर्षदिन पुग्दा भारतले अनुदानमा दिएको १० लाख खोप बल्ल वितरण सुरु भएको छ । तर पनि ढुक्क हुने अवस्था भने रहेको छैन । यसको साथसाथै यो वर्षदिनमा नेपालमा दुई लाख ७० हजारमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये दुई हजार १७ जनाको मृत्यु भइसकेको छ । अझै तीन हजार दुर्य सय ५२ संक्रमित उपचारत छन् । सरकारले यो वर्षभरमा २० लाख ५२ हजारमा पीसीआर परीक्षण गरेको छ । विश्वभर अहिलेसम्म १० करोडमा संक्रमण पुष्टि भएको छ ।

२१ लाख ५१ हजारभन्दा बढीको त संक्रमणबाट मृत्यु भएको छ । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी दुई करोड ५८ लाखभन्दा बढी संक्रमित भए भने दोस्रोमा छिमेकी भारतमा एक करोड छ लाखमा संक्रमण पुष्टि भयो । अमेरिकामा मात्रै चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना महामारी सुरु भएको चीनले भने सफलतापूर्वक नियन्त्रणमा लियो । संक्रमण महामारी भन्ने थाहा हुँदा ८० हजारभन्दा बढीमा संक्रमण भइसकेको चीनमा अहिलेसम्म ८९ हजारमा संक्रमण पुष्टि भएको छ । यसको अर्थ चीनको व्यवस्थापकीय क्षमता अद्भूत देखियो ।

संसारमा सन् २०२१ समाधानको किरण लिएर उदाएको छ । कोरोनामहामारीलाई उपचार गर्नको लागि खोपमार्फत सम्भव छ । विश्व बिस्तारै आशा, भरोसा र विश्वासको सुस्केरा फेर्ने तरखरमा रहेको छ । जसले गर्दा यस महामारीबाट बच्न सकिनेछ । यो विजयप्राप्त गर्ने शक्ति मानिसको हातमा नै रहेको छ । महामारीको फैलावटसँगै विकसित देशहरू संक्रमणविरुद्ध खोप बनाउन सफल हुँदै आएपछि यसले मानवजीवन सुरक्षाको दीर्घकालीन प्रत्याभूति दिएको छ ।

नेपालले आधुनिक र परम्परागत उपचार विधिमार्फत महामारीलाई सीमित दायरामा खुम्च्याउन सफलता पाउँदै आएको छ । महामारीले सम्पन्न देश वा अर्थतन्त्र चिन्दो रहनेछ । देशभरका ६२ अस्पताल र एक सय २० वटा खोप केन्द्रबाट एकसाथ सुरु गरिने अभियानले खोप आकाङ्क्षी नेपालीको तीव्र प्रतीक्षा पूरा गर्नेछ । यस्तै, विश्व स्वास्थ्य संगठनअन्तर्गतको (कोभ्याक्स) मार्फत प्राप्त हुने खोपका लागि सरकारले पहल गरिरहेको छ ।

भारतलगायतका देशबाट नेपालको आवश्यकताअनुसार खोप किनेर नागरिकलाई निःशुल्क उपलब्ध गराउने तयारीमा पनि सरकार जुटेको छ । । गत माघ ८ गते भारत सरकारको अनुदानमा ल्याइएको कोरोनाविरुद्धको १० लाख डोज खोप सुरुमा चार लाख ३० हजार व्यक्तिलाई लगाइने र पुनः खोप आएपछि जनसमुदायस्तरमा लगाइने भएकाले खोपको उपलब्धतामा पूर्ण विश्वस्त हुन सकिनेछ ।

यसरी देशमा प्रथम चरणको कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाहरूमा गत माघ १४ गते एकैसाथ सातै प्रदेशका ६४ जिल्ला र ९३ खोप केन्द्रबाट पहिलो दिनमा नौ हजार ८४ जनालाई खोप लगाइएको थियो । सो पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, सुरक्षाकर्मीलगायतले खोप लगाएका छन् । उक्तखोप १० दिनभित्र अरु बाँकीलाई खोप लगाउने लक्ष्य राखेको सरकारले जनाउँदै आएको छ । अतः खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाल सरकारले विनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने बताइएको छ ।

समग्रमा भन्नुपर्दा स्वास्थ्य मूलतः हातको सफाइ, मास्कको प्रयोग, घरेलु स्वास्थ्य वस्तुको उपयोग तथा अनावश्यक भिडभाडमा नजानेजस्ता कार्यलाई निरन्तरता दिएर सुरक्षित हुन सकिने सत्य यस सन्दर्भमा बिर्सनु हुँदैन । उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमत्ता हुनेमा तर्क गरिरहनु पर्दैन । विश्वभरि कोरोना भाइरस संक्रमणबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।

नेपालमा भने कोरोना निको हुनेको प्रतिशत ९८ भन्दा माथि उक्लेको नेपाल सरकारले प्रकाशित गरेको तथ्यांकमा देखाइएको छ । यसरी नै माघ १५ गतेसम्ममा देशमा कोभिडबाट मृत्यु हुने दुई हजार २० जना पुगेका छन् । नेपालमा केही महिनायता गत माघ १५ गते पहिलो पटक कोही पनि सङ्क्रमित मृत्यु नभएको जनाइएको छ । यसै क्रममा तीन हजार दुई सय तीन जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार दुई सय तीन जना आइसोलेसनमा र एक सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

देशको कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्याको लागि खोप अर्थात् चार करोड ३२ लाख डोज लगाउनुपर्ने लक्ष्य नेपाल सरकारले राखेको छ । यसको लागि आर्थिक भार भने ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार आठ सय ८९ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले पहिलो चरणमा तीन प्रतिशत, दोस्रो चरणमा २० प्रतिशत र बाँकीलाई तेस्रो चरणमा लगाउने तयारी गरेको छ । सरकारले सात प्रदेशका ६२ वटा अस्पताल र देशभरका एक सय २० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउन थालेको छ ।

यसरी नै छिमेकी देशले दिएको अनुदानको खोपलाई नै सरकारले सफलता सोचिरहेको छ । अहिले असंवैधानिक कदमविरुद्ध पूरै देश आन्दोलित हुने अवस्था बनेको छ भने त्यसको काउन्टरमा वर्तमान सरकार पनि उत्रिएका छन् । महामारीको यो वर्ष नेपाली जनताले एकपछि अर्को संकटको सामना गर्नुप-यो । यसर्थ यो संकट सामनामै वर्षदिन बितेको छ, जसलाई सच्याउन एक पटक नागरिक सडकदेखि सदनसम्म देखिएका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया