Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसञ्चार क्षेत्र र नैतिकता

सञ्चार क्षेत्र र नैतिकता


काठमाडौं ।
एक्काइसौँ शताब्दीअनुरूपको सञ्चार क्षेत्रको विकास एवं विस्तारले नेपाललगायत विश्वका हरेक कुना–कुनामा रहेका समूह/व्यक्तिलाई सञ्चारको एउटै छानामुनि आबद्ध गराउँदै हरेक पल नयाँ–नौलो र कौतुहलताले भरिपूर्ण समाचारका विषयमा साक्षात्कार गराउँदै आवश्यक पर्ने महत्वपूर्ण सूचनामूलक जानकारी नागरिक समाजमा सप्रेषण गर्दै आएको वर्तमान अवस्था हो । जसले संविधान प्रदत्त नागरिकको सुशिक्षित हुने अधिकारको रक्षा गर्न सघाउ पुग्ने देखिन्छ ।

प्रस्तुतीकरणको सन्दर्भमा समाचारजन्य तथ्यलाई थप रोचक बनाउनको लागि आकर्षक शीर्षकको चयन गर्दै प्राप्त सत्यतथ्यलाई आफूअनुकूल रहने गरी बग्याउँदै सञ्चार क्षेत्रको न्यूनतम नैतिक धरातलबाट च्यूत रहँदै भ्रमित, तथ्यहीन तथा द्विविधायुक्त समाचार सम्प्रेषण गर्न चाहने प्रवृत्तिले यस क्षेत्रको गरिमा र साखमा समेत गम्भिर प्रश्नचिह्न खडा गर्नेछ ।

व्यक्ति, समाज र राष्ट्रमा भ्रम छर्नखोज्ने उक्त क्रियाकलापलाई सञ्चारजन्य नैतिक दरिद्रताको संज्ञा दिँदा त्यति फरक नपर्ला । प्रस्तुत व्यवहारको अत्यधिकताले व्यक्ति, नागरिक समाजको चरित्र हत्या हुने मात्र नभई राष्ट्र–राष्ट्रबीचमा वाकयुद्धको आरम्भ हुने प्रबल सम्भावना रहन्छ । त्यसपछि आपसी मैत्रीपूर्ण दौत्यसम्बन्ध विकासमा थप संकट उत्पन्न गराउँदै तिक्तताको अनुभूति प्रारम्भ हुनजाने देखिन्छ ।

प्रस्तुत नकारात्मक व्यवहारको जालोबाट मुलुक र सञ्चार क्षेत्रलाई संरक्षण गर्नु नै आपसी सम्बन्ध विस्तारको क्षेत्रमा नयाँ आयाम थप्नुसरहको अवस्था हो । त्यसो भएको हुँदा सत्यपरक तथ्यसँग आत्मसात् गर्दै कपोलकल्पित व्यवहारबाट अलग रहनुपर्ने हुन्छ । जसले यस क्षेत्रमा रहँदै आएको अमर्यादित गलत क्रियाकलापलाई न्यून गर्दै समस्या समाधानको क्षेत्रमा सहजीकरणको भूमिका निर्वाह गर्ने देखिन्छ ।

प्रस्तुत सन्दर्भमा हालै मात्र भारतीय सञ्चार जगतमा ख्याती प्राप्त गर्न सफल एक समाचार एजेन्सीले सञ्चारको न्यूनतम मूल्य मान्यताविपरीत रहने गरी बहुुसंख्यत नेपालीजनको आत्मसम्मानमा गम्भीर ठेस पु-याउँदै, विश्वको अग्लो हिमश्रृंखला सगरमाथाका बारेमा भ्रामक, कपोलकल्पित समाचार प्रवाह गरेको पाइयो । प्रस्तुत कदम यथार्थपरक नभई सञ्चारजन्य अवैधानिक हमलाको अद्भूत रूपमध्येको एकरूप मात्र भएको विश्लेषण सकिन्छ । जसले प्राप्त ऐतिहासिक तथ्य प्रमाणलाई संकुचित गर्दै आधुनिक सञ्चारको क्षेत्रको चरित्रहत्या गर्न उद्यत रहने संस्कृतिमा आफू र आफ्नो समूहलाई लिप्त गराउने प्रयास गरेको पाइयो ।

तथापि आजभोलि प्रस्तुत तथ्यलाई अनुसरण गर्ने क्रममा छापा–पत्रिकाका अतिरिक्त सञ्चारका अन्य साधनमा सम्प्रेषण रहने समाचारजन्य तथ्य एवं अन्य विषयलाई कतिपय अवस्थामा आकर्षक पार्ने बद्नियतका साथ यस क्षेत्रको नैतिक धरातलबाट अलग रहने संस्कृतिको विकास हुँदै आएको पाइन्छ ।

तसर्थः दृष्य, श्रव्य वा पठनपाठनका आधारमा सञ्चारका विविध क्षेत्र वा छापापत्रिकाका माध्यमबाट प्रवाह हुने विषयगत विधाहरूमा हुनेगरेको नकारात्मक टीकाटिप्पणीबाट टाढा रहनुपर्ने हुन्छ । जसले यस क्षेत्रको साखलाई सधैँ उँचो राख्न मदत पु-याउनेछ । अतः कसैले कुनै रीतले केही काम ग-यो भन्दैमा त्यसमा सम्बद्ध पक्षको हकदाबी रहनुपर्छ भन्ने बाध्यता रहँदैन । यस अर्थमा हेर्दा बेला बखत नेपालविरोधी हुने गरेका अनेकन गतिविधिहरू अरु केही पनि नभई केवल सञ्चारजन्य अनैतिकताको बीभत्स रूप मात्र हो ।

स्वदेशी तथा विदेशी सञ्चार माध्यमबाट हुने नकारात्मक व्यवहारको विकासले नेपाली भावना एवं मुलुकको स्वतन्त्र अस्तित्वमा समेत गम्भिर चोट पु-याउनुको साथै सदियौँदेखि कायम रहँदै आएको उच्चस्तरीय वैदेशिक सम्बन्धको कसीमा धुलो छाप्ने दूष्प्रयासबाहेक अन्यथा केही प्राप्त हुन सक्दैन । सत्यतथ्यलाई तोडमोड गर्ने संस्कृतिले जनविश्वास गुम्ने हुँदा सम्बद्ध क्षेत्रको नैतिक धरालतलाई कुनै पनि पक्षले कुल्चिने कार्य त्यति शोभनीय मान्न सकिँदैन ।

सधैँ नै सत्यको पक्षमा वकालत गर्दै सोही आधारमा आम जनमतलाई सुशिक्षित गराउने महत्वपूर्ण अभिभारा बोकेको सञ्चार क्षेत्रले क्षणिकरूपमा प्राप्त हुने लोकप्रियताको लागि भ्रामक समाचार सम्प्रेषण गर्ने कार्य कत्तिको उपयुक्त हुन्छ भन्ने तथ्यलाई केलाउँदै गलत प्रचारबाजी गर्ने जोसुकैलाई पनि कारबाही घेरामा ल्याउनुपर्ने हुन्छ ।

यस क्षेत्रमा हुनेगरेको गैरलोकतान्त्रिक कदमले क्षणिकरूपमा पाठक, दर्शक र स्रोतालाई प्रफुल्लित तुल्याए पनि विषयवस्तुको गम्भीरतालाई समयमै ध्यान पु-याउन सकिएन भने वैदेशिक सम्बन्धका अतिरिक्त नागरिक समाजमा द्विविधायुक्त ऋणात्मक असर पर्ने देखिन्छ । जुन आधुनिक सञ्चार माध्यम एवं पत्रपत्रिकाको न्यूनतम आधारभूत मूल्य मान्यता तथा नैतिक धरातलविपरीतको हेपाहा हस्तक्षेपकारी रणनीति मान्न सकिन्छ ।

तसर्थः यस क्षेत्रमा हुनेगरेको गैरजीम्मेवारीपूर्ण हस्तक्षेपकारी नीतिबाट मुलुक र जनतालाई अलग राख्नु नै राष्ट्रियतामाथि बाह्य हस्तक्षेपको नांगो नाचबाट संरक्षण गर्नु हो । प्रस्तुत सञ्चारजन्य हमलाको आडमा राष्ट्र र राष्ट्रियतामाथि खलल पार्ने छुट कुनै पनि तह, तप्का वा समूहलाई दिनु न्यायसंगत कार्य हुँदै होइन । जुन नेपाल र नेपालीको लागि घोर आपत्तिजनक मात्र नभई लज्जास्पद कार्य समेत हो ।

गलत मनसायले प्रवाह हुनेगरेको प्रस्तुत सूचनामूलक जानकारीको नकारात्मक पक्षलाई बाह्य सतहबाट अध्ययन गर्दा अत्यन्त प्रभावशाली वा बलशालीजस्तो रहेको अनुभूति गरिए पनि वास्तविक यथार्थ त्यसको सारतत्वलाई खुट्टाउने हो भने निष्प्रवाही एवं कपोलकल्पितसिवाय अन्यथा कुनै उपलब्धिमूलक सूचना प्राप्त हुन सक्दैन भनी ठोकुवा गर्न सकिन्छ ।

तर्कसंगतरूपमा राष्ट्रियताको जर्गेना गर्नसक्ने क्षमताको विकासको प्रतिफलबाट निस्कने निकासले नै नेपालजस्तो भू–परिवेष्ठित राष्ट्रले उच्चस्तरको कूटनीतिक सम्बन्ध विस्तारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्षम रहनेछ । विपरीत अवस्था तयार गर्दै भ्रमित सञ्चारजन्य क्रियाकलापको अभिवृद्धिले क्षेत्रीयस्तरमा कायम रहन जाने औपनिवेशिक सोचलाई मात्र बढ्वा दिन थप मदत पुग्ने अवस्था प्रारम्भ हुने देखिन्छ ।

कथित सञ्चारिक द्वन्द्वले छिमेकी मुलुकहरूबीचमा रहँदै आएको मैत्रीपूर्ण दौत्य सम्बन्धको विकासमा चिसोपनको अभिवृद्धि गर्ने हुँदा यसबाट टाढा रहने प्रण गरौँ । परीणामस्वरूप ऋणात्मक सञ्चारजन्य व्यवहार स्वतः निरुत्साहित हुने अवस्था तयार हुनेछ । जसबाट स्वच्छ एवं पारदर्शी सञ्चार क्षेत्रको विकासको अपेक्षा कायम राख्न सकिनेछ ।

स्वदेश तथा विदेशमा रहेका सञ्चार क्षेत्रले आफ्नो नैतिक आर्दशलाई भुल्ने हो भने यस क्षेत्रमा अराजक गतिविधि हावि भई स्वतन्त्र सञ्चारजन्य अस्तित्वको रक्षा गर्ने कार्यमा अप्रजातान्त्रिक व्यवहारको वर्चस्व कायम रहने हुँदा समयमा नै स्वच्छ सञ्चारिक यात्रालाई क्रमशः अगाडि बढाउने प्रयास गरौं  । जुन यस क्षेत्रको सुदूर भविष्यको लागि सहयात्रीको गतिलो माध्यम बन्न सक्नेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया