Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसामाजिक सञ्जाल, आजको युवा र आर्थिक शोषण

सामाजिक सञ्जाल, आजको युवा र आर्थिक शोषण


काठमाडौँ ।
निर्मला (नाम परिवर्तन) उच्च शिक्षा अध्ययन गर्न भनेर गाउँदेखि सहर आइन् । गाउँमा छँदा उनी सामाजिक सञ्जालप्रति उति धेरै चासो राख्दिनथिन् । जब सहर आइन् आधुनिक साथीहरूको सङ्गतले गर्दा उनी सामाजिक सञ्जालको कुलतमा फसिन् । दैनिकजसो फेसबुक, टुइटर टिकटकमा उनी रमाउन थालिन् । गाउँ हुँदा एक÷दुई सय साथी थिए फेसबुकमा तर सहर आएपछि त्यो संख्या ह्वात्तै बढ्यो । केटी साथीभन्दा केटा साथीहरू बन्दै गए ।

दिउँसो कलेज गए पनि उनलाई कतिबेला कोठामा पुगुँला र टुइटरमा भिडियो अप्लोड गरुँला भन्ने हतार हुनथाल्यो । घरपेटटीसँग सहकार्य गरी आफ्नो कोठामा इन्टरनेट राखेकी थिइन् । घरपेटीलाई पनि सजिलो भो आधा पैसा उनले बेहोर्ने भएपछि ।एकदिन फेसबुकमा घरपेटीले फ्रेन्ड रिक्वयस्ट पठाए । निर्मलाले खुसी भएर स्वीकार गरिन् । बेलुकी–बेलुकी उनीहरू घन्टौँ च्याट गर्नथाले । उनीहरूबीच मायापिरिम बस्यो । घरपेटीको बिहे भैसकेको थियो । श्रीमतीसँग पनि उनको दोस्ती थियो । यो थाहा हँुदाहँुदै पनि निर्मला घरपेटीसँगको प्रेममा पागल भएकी थिइन् । एकदिन च्याट गर्दै जाँदा घरपेटीले निर्मलाको गोप्य अङ्ग हेर्ने इच्छा व्यक्त गरे । प्रेममा पागल भएकी निर्मलालार्ई आफ्नो गोप्य अङ्ग देखाउनु सामान्यजस्तै भयो । आदेश आउनासाथ उनी सर्वाङ्ग भइन् ।

आफू सर्वाङ्ग भएको भिडियो समेत पठाइन् । उनले पनि आफ्नो प्रेमी घरपेटीको गोप्य अङ्ग हेर्न खोजिन् तर उताबाट पछि देखाउँछु है भन्ने कुरा आयो । उनले मानिन् ।घरपेटी जति च्याटमा रमाउँथे उति भेट हँुदा बोल्दैनथे । उनी सामान्य पुरुष । भलाद्मी लाग्थे । निर्मला सोच्ने गर्थिन् उसको श्रीमतीले थाहा पाउली भनेर नाटक गरेको होला भनेर । फेसबुकको च्याटमा नाङ्गा तस्बिर समेत साटासाट गरिएको पुरुष बाहिर भेट्दा त्यति वास्ता नगरेसी निर्मलालार्ई दिक्क लाग्यो । उन्ले बाहिर प्रत्यक्षरूपमा घरपेटीसँग यतिका महिना भो कुरा समेत गरेकी छैनन् केवल फेसबुक म्यासेन्जरमा मात्रै आफ्ना सबै कुरा खोलेकी र बोलेकी थिइन् ।

एकदिन कलेजमा निर्मलाको साथी रोजिनाले ‘तिम्रो नाङ्गो फोटो त गुगलमा देखिन्छ नि किन त्यस्तो छाडा फोटो गुगलमा अप्लोड गरेको ?’ भनेर भन्दा निर्मला छाँगाबाट खसेजस्तो भइन् । उनलाई घरपेटी सम्झेर धेरै रिस उठेर आयो । कलेजबाट फर्केपछि सिधै घरपेटीलाई भनिन् कि मेरो यस्तो बेज्जत किन गरेको ? घरपेटी एकछिन् अकमकाए । यो घटना आफूलाई थाहा नभएको कुरा व्यक्त गरे । उनको फेसबुक आईडी खोलेर देखाइन् निर्मलाले । तर फेसबुकमा फोटो मात्रै उनको रहेछ । कुरो गम्भीर थियो । घरपेटी पनि गम्भीर भए कि उनको फोटो राखेर कसले यो अपराध कर्म ग¥यो । जब बेलुकी भयो । निर्मलाले त्यो मान्छेसँग प्रत्येक्ष च्याट गरी देखाइन् तर घरपेटी मोबाइल नलिई उनको रुममा आए ।

उनको नाम गरेको पुरुष निर्मलासँग प्रत्यक्ष च्याट गरेको देखे । निर्मला गम्भीर भइन् । घरपेटी होइन भन्ने कुरा एकिन भयो । भोलिपल्ट बिहान थाहा भयो कि त्यो सबै कुकृत्य गर्ने घरपेटी नभएर उनको श्रीमती सोहना रहेछिन् । श्रीमतीको तर्फबाट घरपेटीले माफी मागे । आफ्नो श्रीमतीको यस्तो चरित्र देखेर आफैँलाई धिक्कारे । लोग्नेलार्ई गुमराहमा राखेर यस्तासम्म काम गर्लिन् भनेर ती घरपेटीले सोचेका पनि थिएनन् । यो घटनाको उदेश्य के थियो केस टुंगोमा पुगेको छैन मात्रै प्रहरीमा केस दर्ता भएको छ ।

यो सत्य घटना हो । तर दुर्भाग्य यति हुँदाहुँदै पनि अहिलेको युवा सामाजिक सञ्जाल भनेपछि भुत्तुक्कै हुन्छ । यो लतमा अहिलेको युवा नराम्ररी फसिरहेको छ । प्रहरीमा साइबर अपराधसम्बन्धी जति पनि केस परिरहेका छन् ती सबै कुनै न कुनै रूपमा यौन हिंसा र आर्थिक ठगीसँग सम्बन्धित छन् । स्त्रीले स्त्रीकै विरुद्धमा धावा बोल्न थालेपछि स्थिति अझै बिग्रने सम्भावना रहन्छ । माथिको घटना एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता लाखौँ घटना समाजमा क्यान्सरझैँ फैलिरहेका छन् । सामाजिक सञ्जाल कतिपय मान्छेको कमाइखाने भाँडो भएको छ । यौन र आर्थिक चलेखेल गरेर कसैलार्ई धम्क्याएर प्रत्यक्षरूपमा आर्थिक ठगी गर्नेहरूको जमात एकातिर छ भने अर्कोतिर सामाजिक सञ्जाललाई मनोरञ्जनका रूपमा टाइम पासको रूपमा लिने पनि छन् । अहिलेको युवामा सामाजिक सञ्जालप्रतिको मोह अनि विकृति यति भयङ्कर छ कि जो फस्यो उसलार्ई फर्किएर आउन समेत भइरहेको छ ।

१२ वर्ष पार नगर्दै यौनको अनुभव साटासाटा गर्न चाहन्छ आजको युवा । अरुलाई भ¥याङ बनाएर आफू उचाइ छुन खोज्छन् आजको युवा । आजका युवाहरू प्रायः सबै हतार, हतास र हत्पतमा छन् । आजको युवामा स्थिरता छैन । आजको युवामा पैसाको र यौनको भोक तीव्र छ । आजको युवाले देशको गीत, कला, सस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, धर्म, मान, सम्मान र आदर्श सबैलाई तोडफोड र तोडमोड गरिरहेछ । आजको युवा सकेसम्म नेपाल बस्न नपरे हुन्थ्यो भनेर कल्पना गर्छन् । आजको युवाहरूलार्ई आफू मात्रै सबथोक र आफू नै जान्नेसुन्ने आफू नै सक्षम छु भन्ने अहंकार छ । अहिलेको युवा सकेसम्म आफूलाई जन्मदिने बाबुआमा पाल्न नपरोस् भन्ने चाहन्छ । अहिलेको युवा आडम्बर र फोस्रो नक्कलमा रमाइरहेका छन् ।

आजको युवा वृद्धावस्थामा पुगेपछि बाबुआमाको लागि वृद्धाश्रम सबैभन्दा उपयुक्त स्थान हो भन्छ । आजको युवामा प्रेम कम आशक्ति बढी अनि भ्रमरजस्तै डालीडाली रस चुसेर हिँड्न रुचाउँछन् ।आजको युवायुवतीमा यौन अस्मिताको कुनै अर्थ छैन् । बिहे गर्दासम्म दुई÷चार जना यौन पार्टनर हुनुलार्ई सामान्य रूपमा लिन्छन् । आजको युवा अमेरिका र अस्ट्रेलिया पुगेपछि खोक्रो राष्ट्रवादको बमन बहस गर्न थाल्छन् । आजको युवाहरू अरुले गरेको प्रगतिलार्ई होइन विकृतिलार्ई अनुसरण गर्छन् । आजको युवाले आफ्नो जन्मदिन कुनै मन्दिर र आमाबाबु वा पुरेतको आशीर्वचन लिएर होइन फेसबुकको भित्तामा मनाउँछन् ।

आजको युवापुस्ता पश्चिमीकणको दलदलमा फसेको छ । आजको युवापुस्ता आफूभन्दा बाहेक अरु कोहीलार्ई गन्दैन । आजको युवाले टोलछिमेकीको निद्रा र सकसको बारेमा सोच्दैन र रातभर अङ्ग्रेजी गीत घन्काएर बर्थडे पार्टी गर्छ । अहिलेको युवापुस्ता आफ्नो आनन्दमा रमाइलो गर्दा अर्कोलार्ई बाधा पुगेको मतलब दिँदैन ।अहिलेको युवापुस्ता देखावटी संसारमा बाँचेको छ । अहिलेको युवापुस्ता सधैँ हतार र हतासमा छ । अहिलेको युवालार्ई खानामा स्वाद चाहिन्छ चाहे त्यसले शरीरलार्ई हानी किन नगरोस् । अहिलेको युवापुस्ता वाइवाइ चाउचाउ हो । छिटोभन्दा छिटो खान मिल्ने तर नपच्ने । अहिलेको युवापुस्ता अजिनोमोटोजस्तो हेर्दा मीठो टल्किने खाँदै गएसी रोग लाग्ने । अहिलेको युवापुस्तामा सहने बानी छैन । धैर्यता छैन । शान्ति छैन । मिजास छैन ।

अहिलेको युवापुस्तामा धर्म हराउँदै गएको छ । मन्दिर किन भनेर प्रश्न गर्छ अहिलेको युवापुस्ता । अहिलेको युवापुस्ताले नेपाली भाषालाई बिगार्दै छन् । अहिलेको युवापुस्तामा अग्रेजी अहंकार छ । अहिलेको युवापुस्ता अधिकार मात्रै खोज्ने तर कर्तव्य ननिभाउने प्रवृत्तिको छ ।अझै सहरी क्षेत्रमा बस्ने युवापुस्तालार्ई धान कहाँ फल्छ कसरी फल्छ किसान कोहो खेतबारी केहो फन्ने कुरा नै थाहा छैन । ग्रामीण भेकका भन्दा सहरका युवायुवतीमा जंगली स्वाभाव हुन्छ । ऊ समुदाय चिन्दैन । ऊ समुदाय र भिडलार्ई रुचाउँदैन । एउटा ल्यापटप र मोबाइल नै उसको सबैथोक हो ।

फेसबुक सोसियल मिडिया नै सबैभन्दा नजिकको साथी हो । अहिलेको पुस्तासँगै बसेको साथीसँग बोल्दैन सोसियल मिडियाको साथीसँग गफ गरिरहेको हुन्छ । पहिले कुनै काम गर्दा थकाइ लाग्यो भन्ने चौतारामा बसेर चिसो हावा खाँदै मन र शरीरलार्ई शान्त पारिन्थ्यो । अहिले थकाइ लाग्यो भने मोबाइल चलाउने कुनै विकृत फिल्महरू हेर्ने प्रवृत्ति छ । अहिलेको युवाका लागि सबै कुरा सामाजिक सञ्जाल हो ।

अहिलेको युवा थोरै मिहिनेत गरेर धेरै कमाउन चाहन्छ । अहिलेको युवापुस्ता नाउँको भोको छ । अहिलेको युवा समाजमा गएर होइन सोसल मिडियामा देखाउनको लागि गर्छ । अहिलेको पुस्ताले गर्ने सामाजिक सञ्जालका लागि हो समाजका लागि होइन् । ऊ देखाउँछ । ऊ अरुले आफूलाई हेरिदिऊन् भन्छ । आफूले सोसल मिडियामा राखेको कुरालार्ई धेरैभन्दा धेरैले लाइक र कमेन्ट गर्दिऊन् भन्छ ।

यो पुस्ता यति घातक बन्दै गइरहेछ कि अरुको ध्यान खिच्न अब स्त्रीहरू नाङ्गै पो हुनथालेका छन् । शारीरिक नाङ्गो मात्रै होइन विचार र चिन्तन पनि नाङ्गो प्रवृत्तिका आउन थालेका छन् । सिर्जनात्मक कुराले भन्दा भल्गर र सस्ता प्रेमका कुराले सोसल मिडियाका भित्ताहरू रङ्गिन थालेका छन् । मानिसहरू यतिसम्म तल गिर्दै गए कि हस्पिटलमा रहेको कोही आफन्त कतिबेला मर्छ र फेसबुकमा अप्लोड गरुँ भनी कुर्न थालेका छन् । हाम्री सालीको देवरको दिदीको सानिमाको छोरीको नातीको आज परेको बर्थडेको बधाई भन्दै एकाबिहानै फेसबुकको भित्तो रङ्ग्याउने अहिलेको युवापुस्ताले पुरानो पुस्ताका मनस्थिति समेत बिगारिसकेका छन् । नातिले हजुरबुबा बिगारिरहेको समय हो ।

यो पुस्ता असंवेदनशील र अधैर्य बन्दै गएको छ । अरुको ध्यान आफूतिर खिच्ने निहुँमा स्त्रीहरू सर्वाङ्ग हुँदै गइरहेका छन् । समाज के स्त्रीका नाङ्गोपन हेर्नलाई त्यति धेरै लालयित छ होला र ? स्त्री आफूलाई के सम्झिन्छे ? के उसको नाङ्गो शरीरलार्ई सबैले हेरुन् देखुन महसुस गरून् कि म कति राम्री र सेक्सी छु भनेर । नाङ्गै देखेर सुरम्यित हुने भए जनावरहरू पनि नाङ्गै छन् । वर्षामा अहाल बसेको भैँसी नाङ्गै छ । पशुहरूको मर्यादा आ–आफ्नै छन् र पशुले आफ्नो मर्यादा भुल्दैन । मानिस मर्यादा भुल्छ । मानिस आमानुष भएर बाँच्दा उसलार्ई कुनै फरक नपरेको जस्तो गर्छ ।

हिजोआज स्त्रीहरू रात्री लुगामा विविध मोडल हन्टमा नृत्य गरिरहेका छन् । स्त्रीको विरोध गर्ने छुट छैन । स्त्रीका लागि संसारभर कडा कानुन बनेका छन् । हामी चाहन्छौँ स्त्रीहरू सुरक्षित बाँचून् । यो समाजले स्त्रीलाई मर्यादाभित्र राखेर व्यवहार गर्छन् र फेरि किन तिनै स्त्री असुरक्षित छन् ।त्रीहरू स्त्रीकै कारणबाट असुरक्षित छन् । खराब मान्छेका कारण असल मान्छेलार्ई बाँच्न गाह्रो परिरहेको छ । खराबहरू त जसरी नि बाँचिरहेका छन् ऊ बाँच्नलाई उसले असल मान्छेहरूलाई प्रयोग गरिरहेको हुन्छ । केही असल मान्छेका कारण खराबहरूलाई बाँच्न सहज भइरहेको छ । असलले कसैको अहित गर्दैन तर खराबले असललार्ई पनि अहित गरिरहेको हुन्छ ।

हामी देख्छौँ हामी बाँचिरहेको समाजमा असल मान्छेहरू छोडिँदै गएका र कमसल मान्छेहरू अगाडि बढ्दै गएका । खराब मान्छे चोरबाटो बाट भएर पनि आफ्नो निहित स्वार्थ र उद्देश्य पूर्तिका लागि अगाडि बढ्छ तर असल मान्छे चोरबाटोबाट हिँड्न चाहँदैन बरु आफ्नो उद्देश्य पूर्ति नहोस् ।अहम् सबैसँग हुन्छ तिनै अहंम्को सहारामा बाँचेको छ आजको निरीह मनुष्य । हिजो अहम् थिएन त्यसैले शान्त बाँच्यो मनुष्य । हिजो बुद्धले यशोधरालाई जवानीमै छोडेर जाँदा उनी कतै विचलित भइनन् । किनकि हिजोका मान्छेमा त्यो छटपटी थिएन । आज हरेक मनुष्य अमौन र अमर्यादित बाँचिरहेछन् ।

प्रकृतिको मौनता सायद मनुष्यले बुझेको भए ऊ पनि मौन बस्न रुचाउँथ्यो । आजका मनुष्य अहंकारको आगोमा दन्दन्ती जलिरहेछ त्यो राप बाट मुक्ति पाउन पनि उसले धेरै बोल्नुपरेको छ । आजका मनुष्य हल्लाखोर हुन् । हिजोका मनुष्य मौन थिए त्यसैले देवता बने । देवता पनि मौन छन् । यदि कोही देवतामा विश्वास गर्छन् भने उनीहरूलार्ई थाहा हुनुपर्छ कि उनीहरूले पुजेका देवता कहिले उनीहरूसँग बोल्न आएनन् । नबोल्ने जति सबै ढुङ्गा हँुदैनन् र सबै ढुङ्गाहरू देवता हुन पनि सक्तैनन् । कैलाश पर्वत कहिले पनि बोलेनन् । तर किन करोडौँ मान्छे कैलाश पर्वतको दर्शन गर्न मरिहत्ते हाल्छन् ? कैलाश पर्वतले के मनुष्यलार्ई मेरो दर्शन गर्न आओ भक्तहरू भनेर विज्ञापन गरेका थिए र कहिले ? स्त्रीहरू आफ्नो शरीर अरुलाई देखाउन विज्ञापन गरिरहेछन् ।

थाहा छैन उनीहरू जो नाङ्गिरहेछन् त्यसको असर बलात्कारमा गएर टुंगिनु कति दुखान्त छ । नाङ्गिने स्त्रीले सोचुन मेरो कारण अर्को निर्दोष र सज्जन स्त्रीले सजाय पाउन सक्छे भन्ने कुरा ।कुनै कुनै चिजप्रति मनुष्यको श्रद्धा जाग्छ । त्यही श्रद्धा जाग्छ जहाँ मौनता छ, जहाँ शून्य छ, जहाँ शान्ति छ, जहाँ एकलास छ, त्यही कैलाश छ । मनुष्यको चरित्र र स्वाभाव त शून्यप्रति नै हो, शान्ति र सद्भावप्रति नै हो तर अहिलेका नूतन मनुष्यले भने आफ्नो आदीय चरित्र बिर्सँदै गयो फलतः ऊ अहंकारी भोगबिलासी भ्रष्टाचारी र पापी बन्दै गयो । अहिले सोसल मिडियाका भित्ताहरूमा देखिन्छन् मनुष्यका असली रूप, चरीत्र, बकबास र हल्लाहरू । ऊ धेरै ज्ञानी जस्तो, ऊ आफैँ सर्वेश्वर जस्तो, ऊ आफै प्रबुद्धजस्तो, ऊ आफैँ अमरजस्तो र ऊभन्दा बाँकी रहेका सबै मनुष्य अल्पज्ञानीजस्तो सम्झन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया