Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्व सहरीकरण दिवस र नेपाल

विश्व सहरीकरण दिवस र नेपाल


काठमाडौं । प्रत्येक वर्ष अक्टोबर ३१ तारिखका दिन विश्वव्यापीरूपमा नै विश्व सहरीकरण दिवस मनाउने गरिन्छ । यसरी सन् २०२२ को सहरीकरण दिवसको अंग्रेजी नारा भने ‘एडप्टिङ सिटीज फर क्कलाइमेट रिजिलिन्स’ तय भएको छ । यसलाई नेपालीकरण गर्ने हो भने जलवायु परिवर्तनमा सहरीकरणको भूमिका र व्यवस्थित सहरीकरणको महत्वलाई यस वर्ष विशेष ध्यान दिइएको छ । यो दिवस पहिलो पटक सन् २०१४ मा संसारभर मनाइएको थियो । अहिले ८औँ विश्व सहरीकरण दिवस नेपाललगायत विश्वभरि नै विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष भने कात्तिक १४ गते यो दिवस परेको छ । फलतः पछिल्ला वर्षहरूमा विश्वमा कोरोना भाइरस कहर र विभिन्न रोगव्याधिको फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका थिएनन् । खासगरीकन यसलाई अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ । यसलाई सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । यसमा पनि उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ ।

संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रमअनुसार विश्व सहरी प्रतिवेदन सन् २०२२ मा उल्लेख भएअनुसार सहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस सहरी क्षेत्रमा र २१ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा बस्दछन् । यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म सहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत र ग्रामीण क्षेत्रमा १३ प्रतिशत जनसंख्या पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसंख्या वृद्धिदर शून्य दशमलव ४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै गरी सन् २०३० देखि २०३५ भित्र विकसित देशमा सहरी क्षेत्रको जनसंख्या शून्य दशमलव ४० प्रतिशत पुग्ने पनि सोही प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी हाम्रो देशको कुरा गर्ने हो भने कुल नेपालको जनसंख्यामध्ये सहरी क्षेत्रको जनसंख्या एक करोड ९२ लाख ९१ हजार ३१ अर्थात् ६६ दशमलव शून्य ८ प्रतिशत पुगेको छ ।

त्यस्तै, ग्रामीण जनसंख्या भने कुल देशको जनसंख्याको ९९ लाख एक हजार चार सय ४९ अर्थात् ३३ दशमलव ९२ प्रतिशत मात्र रहेको जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ । त्यसरी नै जनगणना विसं २०७८ को प्रारम्भिक तथ्यांकअनुसार सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी विसं २०६८ सालमा सहरी क्षेत्रको जनसंख्या ६३ दशमलव १९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसंख्या ३६ दशमलव ८१ प्रतिशत थियो ।

विश्वस्तरमा अवलोकन गर्ने हो भने गाउँ र सहरबीच ठूलो भिन्नता रहेको पाइन्छ । त्यसमा पनि गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, सहर भन्नेबित्तिकै सबैको अनुमानमा सुविधासम्पन्न संसार भन्ने धारणा हुन्छ । अतः सहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत हो । त्यसरी नै सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगतको स्थापना गर्नु पनि हो । मूलतः सहरी विकास भरी व्यवस्थित बसोबासको व्यवस्थालाई प्रवर्द्धन गर्ने तथा आम जनताको आधारभूत आवश्यकताको रूपमा रहेको भवन निर्माणको उपयुक्त मापदण्ड तय गरी सुरक्षित, किफायती भवन निर्माणको विधामा निरन्तर क्रियाशील संगठन हो । यसरी नै सहरी विकास विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्द्धन हुनेगरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगोरूपले सहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तः सम्बन्धलाई सुदृढ गर्ने हुन्छ । तसर्थ विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्द्धन हुनेगरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगोरूपले सहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तरसम्बन्धलाई सुदृढ गर्ने एकातिर हुन्छ भने अर्कोतिर आवास तथा व्यवस्थित बसोबासको प्रवर्द्धन गर्दै सुरक्षित तथा किफायती खालका आवासहरू उपलब्ध गराउने हुन्छ ।

त्यस्तैगरी राम्रो भवन सुरक्षित, किफायती र वातावरणअनुकूल सकभर स्वदेशी वास्तुकला झल्कने खालका भवनहरू निर्माण तथा विकास गराउने खालको हुनुपर्छ । यसको अलावामा सहरी बस्तीहरूको व्यवस्थित विकास गर्दा आइपर्ने समस्याहरू समाधान गर्न र बढ्दो वातावरणीय समस्याको निराकरण गर्न आवश्यक कार्यनीति र विस्तृत योजना तर्जुमा गरी स्थानीय निकायहरूसँग समन्वय र साझेदारी कायम गर्दै क्रमशः लागू गर्दै जानुपर्ने हुन्छ । यसमा पनि स्थानीय निकायहरूलाई आफ्नो योजना तथा कार्यक्रम सञ्चालन गर्नसक्ने तुल्याउन ती निकायहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने खालका योजनाहरू छनोट गर्नु आवश्यक हुन्छ । त्यसरी नै स्थानीय निकायहरूका बीच ती निकायहरूलाई प्रभाव पार्ने विकास योजनाको तर्जुमा र कार्यान्वयनमा समन्वय र साझेदारी कायम गर्ने हुनुपर्छ ।

समग्रमा भन्नुपर्दा सर्वप्रथम सन् २०१४ मा चीनमा प्रमुख सहरी रूपान्तरण भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो । यसको साथसाथै सन् २०२२ को विश्व सहरीकरण दिवस आठौँ संस्करण पनि हो । यसर्थ अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबीचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पु-याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।

हाम्रो देश संघीयतामा जानुभन्दा पहिले अर्थात् भनौँ ०७२ को नयाँ संविधान नबन्दासम्म नेपाल १४ अञ्चल, ७५ जिल्ला, पाँच विकास क्षेत्र, तीन हजार नौ सय १३ गाउँ विकास समिति र ५८ नगरपालिकामा विभाजित थियो । त्यस्तैगरी ०७२ असोज ३ मा जारी नयाँ संविधानअनुसार पुराना संरचनाहरूमा परिवर्तन गरिएको छ । हाल १४ अञ्चल, ७७ जिल्ला, सात प्रदेश र सात सय ५३ स्थानीय तहहरू रहेका छन् । यसरी यी सात सय ५३ स्थानीय तहमा स्थानीय तहअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका, चार सय ६० गाउँपालिका रहेका छन् ।

देशको प्रदेशगत रूपमा सहर र गाउँको संख्यालाई समष्टिरूपमा अध्ययन गर्ने हो भने प्रदेश १ मा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी जम्मा एक सय ३७ स्थानीय तहहरू रहेका छन् । त्यसरी नै मदेश प्रदेशमा यहाँ एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी एक सय ३६ स्थानीय तह छन् । त्यसरी नै बागमती प्रदेशमा ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल एक सय १९ वटा स्थानीय तहहरू रहेका छन् । त्यस्तै, गण्डकी प्रदेशमा स्थानीय तहहरूमध्ये एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल एक सय नौवटा स्थानीय तह रहेका छन् । त्यसरी नै कर्णाली प्रदेशभित्र २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी ७९ स्थानीय तह रहेका छन् र सुदूरपश्चिमाञ्चल प्रदेशमा भने चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७४ गाउँपालिका गरी कुल एक सय १० वटा स्थानीय तह रहेका छन् । त्यसरी नै सुदूरपश्चिमाञ्चलमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह र सात सय ३४ वडा रहेका छन् । यसरी यी आँकडालाई समष्टिरूपमा विश्लेषणात्मकरूपले अध्ययन गर्ने हो भने गाउँबाट सहरतिर बसाइ सर्ने प्रवृत्ति तीव्र रूपमा दिनपरदिन वृद्धि भएको तथ्य यसबाट पनि स्पष्ट हुन जान्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x