Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्राकृतिक स्रोत संरक्षणमा स्थानीय सरकारको भूमिका

प्राकृतिक स्रोत संरक्षणमा स्थानीय सरकारको भूमिका


काठमाडौं । आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याको रूपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकूल असर समेत परिरहेको छ । विश्वमा विकशित देशको विकासका नाममा तीव्र विनाशले हाम्रोजस्ता साना मुलुक समेत यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दो घना बस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्यास उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्विको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ जसका कारण हिमश्रृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमिनको मरुभूमीकरण, बाढीपहिरो, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्ने, वन्यजन्तु लोप हुने, महामारी, रोग फैलने, विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबढ हुँदै जाने आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् । साथै सोबाट विभिन्न माहामारी तथा संक्रमण पनि बढिरहेको अवस्था छ ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि वन जंगल जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वन जंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।

वातावरण विनाशबाट विश्वमा नै खडेरी पर्ने सम्भाना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सिर्जना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्न आजको आवश्यकता हो । यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगतमा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ तरिखमा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन् । सन् २०२२ को विश्व खडेरीविरुद्ध संघर्ष दिवससँगै खडेरीबाट उठ्ने नाराले मानवताको लागि विनाशकारी परिणामबाट बच्न प्रारम्भिक कार्यको आवश्यकतालाई जोड दिएको छ । विश्वमा मानविय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै एक्काईसौँ सताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो । खडेरी दिगो विकासको लागि सबैभन्दा ठूलो खतरा हो । सन् २०५० सम्ममा यसले विश्वको तीन चौथाई जनसंख्यालाई असर गर्न सक्छ भनी अध्ययनले देखाएको छ । अघिल्लो दुई दशकको तुलनामा २००० यता खडेरीको संख्या र अवधि २९ प्रतिशतले बढेको छ । विश्वभरि २ दशमलव ३ विलियनभन्दा बढी मानिसहरू पानीको संकटमा हुन्छन् । यो डरलाग्दो विपत् हो । वास्तवमा कुनै पनि देश योबाट मुक्त हुनेछैन ।

खडेरीलाई प्राकृतिक असरको रूपमा पनि लिइन्छ । प्राकृतिक विनाशको कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमशः अउत्पादक भई खडेरीको कारण मरुभूमिमा परिणत हुँदै गरिबी बढाउँछ । प्राकृतिक स्रोत दोहनको कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरण ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबालीभन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमिन नाश भएको छ । यसको उदाहरणको रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ । वास्तवमा कृषि उपज क्षेत्रमाथि घडेरीमा परिणत गर्दा हामिले बहादुरी सम्झन्छौँ तर खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझपचाइरहेका छौँ । यथार्थ कुरा तितो हुन्छ । तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्दछ । भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषिप्रधान देश हो । यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गमस्थल रहेको छ । समुद्री सतहबाट ६०–८८४८ मी. उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्न लायक छ । ६६ प्रतिशत जनसंख्या पूर्णरूपमा कृषिमा निर्भर रहेको छ जसमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको करिब ३३ दशमलव ६ प्रतिशत योगदान रहेको मानिन्छ ।

विश्व मानचित्रमा भू–माफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुपयोग र भू–उपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् भने हाम्रो देश नेपालमा दुई दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषिकार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने जग्गामा बाटो, नदीनाला तथा पोखरी, ताल, रमणीय प्राकृतिक स्रोत एवं अन्न उत्पादन हुने उर्वरा भूमिको बली चढाएका छौँ ! हामीलाई थाहा नै छैन माटो, पानी, आकास, अग्नी र हावा पञ्चतत्व संरक्षण गर्नुपर्छ भन्ने कुरा । थाहा पाए पनि बुझपचाइरहेका छौँ । अतः प्राकृतिक स्रोत विनाश नहुनेगरी उपयोग गर्नुपर्दछ । माटोलाई खनीखोस्री कृषि कर्ममा लागि खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन हरियाली बनाउने वातावरणको आवश्यकता छ । जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्कता हो । यस कार्यको लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि तथा वातावरण संरक्षणसम्बन्धी दर्जनौँ अध्ययन तथा अनुसन्धान । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x