Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘नौमती बाजा’ सबैको साझा बनाउने महिलाहरू

‘नौमती बाजा’ सबैको साझा बनाउने महिलाहरू


काठमाडौं । नौमती या पञ्चेबाजा आफैँमा नेपाली सभ्यता र संस्कृतिका परिचय दिने बाजा हुन् । मज्जाले ताल मिलेर नौमती बाजा या पञ्चेबाजा घन्किएको बेलामा नाच्न नजान्ने मानिसलाई पनि नाचौँनाचौँ बनाएको हुन्छ । थप्पडी बजाउँदै वरिपरि नझुम्मिने त सायदै हुन्छन् । नौमती बाजा विगतमा हरेक विवाह उत्सवको रौनक थियो । अघिअघि नौमती बाजाको तालमा दमाईहरूको लर्को र पछिपछि बेहुलाको साथमा जन्तीहरूको लर्को आफैँमा गरिमामय उत्सव हुन्थ्यो । नौमती बाजा अझ नरसिङ्गाको तुथुडी थुडीथुडीको आवाजले डाँडाकाँढा थर्काउँदै परसम्म आगमनको सूचना दिएको हुन्छ ।

मान्छेहरू थालको भात छोडेर ‘ऊ बे आयो’ भनेर बाटाका दुवैतिर लाम लागेर रमित हेर्न बसेका हुन्थे । आज बेहुलो हेरियो भोलि बेहुली हेर्नै भनेर भोलिको नरसिङ्गा बाजा र दमाहा बाजाको आवाज सुन्न कान ठाडा पारेर बसेका हुन्छन् बाटादेखि टाढाटाढा समेतका गाउँलेहरू ।

विवाहमा मात्र होइन रोपाइँको बेठीको बेलामा पनि नौमती वा पञ्चेबाजा बजाउने चलन पनि थियो र छ । पूजा आदिमा पनि यस्ता बाजा बजाउने गरिन्छ । नौमती बाजाको एक सदस्य सनाईले कसैको मन छुन्छ त कसैको मन रुन्छ । बेहुली अन्माउँदा बेहुली तथा उनका आफन्त साथीहरूलाई रुवाउने मुख्य बाजा नै सनाई वा यसको विरहको धुन हो । त्यसैले श्रष्टाहरूले सनाईलाई गीत बनाएर बजाएका होलान् सनाईको स्वरले पहाडै ढाक्यो लौ विवाह सजायो । वास्तवमा नेपाली विवाहलाई मौलिकता दिएर सजाउने बाजाहरूको सामूहिक नाम नै नौमती बाजा नै हो । नौमती बाजा भन्नाले सनाई दुई, नरसिंङ्गा दुई, दमाह, टेम्को, बामताल, ढोलाकी र झेम्टाको समूहलाई बुझिन्छ ।

पछिल्ला केही दशकमा नेपाली नौमती बाजाको विवाहको एकछत्र राजमाथि पश्चिमा बाजाहरूले भत्काउँदै लगेको तितो यथार्थ हो । पश्चिमा शैलीको कर्कस ध्वानिको बाजाभन्दा नेपाली शैलीको बाजाको धुन कता हो कता मिठासपूर्ण भए पनि यो बाजा किनारामा धकेलिँदै गएको अवस्था हो । अझ यो बाजा लोप हुने अवस्थामा पनि गएको हो । यसको अर्को कारण छुवाछुतविरोधी अभियान्ताको कारण पनि हो । सामन्यतया नौमती बाजा बजाउने आधिकारिक दमाई समूह थिए । यो बाजा दमाईले मात्र बजाउँथे । अभियान्ताहरूले यो बाजा बजाउने दमाईलाई एक कुनामा राखेर अपमानजनक अछुत व्यवहार गरिने भएकोले हामीले अछुतको पहिचान दिने बाजा बजाउन छोड्नुपर्छ भन्ने अभियान चलाए । यसले पनि बाजा बजाउनेमाथि नकारात्मक असर बढाएर लग्यो । अर्कोतिर नयाँ पुस्ताहरू या त बाजा नै नबजाउने या त पश्चिमा बाजातिर आकर्षित भएर जाने स्वदेशी तथा विदेशी रोजगारमा गएपछि परम्पपरागत बाजा बजाउने काम या पहिचानलाई चटक्कै छोडेर जान थालेपछि नौमती बाजा अतितको कथा भएर जाने खतरा बढेर गएको यथार्थ थियो । अर्थात् नौमती बाजाको स्वर पातलो भएर गएको थियो । नौमती बाजा बजेको सुन्न छाडिएको अथवा यदाकदा मात्र सुन्ने अवस्थामा पुगेको थियो ।

तर समय एकनासले मात्र बग्दैन धार बदलेर पनि बग्दोरहेछ । नौमती बाजाले पनि धार बदलेर आफूलाई बगाउन सक्यो । अब फेरि नौमती बाजा लयमा फर्कन थाल्यो र विवाह आदि कार्यमा फर्केर मान्छेको मन मुटुलाई छुन थाल्यो र नयाँ रौनकको साथ विवाह र अनेक शुभकार्यमा गुञ्जन थाल्यो । नौमती बाजाको नयाँ धार नयाँ जीवनबारे सानो चर्चा गरौँ ।

नौमती बाजा दमाईले मात्रै बजाउने वा बजाउन पाउने बाजा होइन सबैले बजाउन मिल्ने सबैको साझा बाजा हो यसमा जाति बन्धन छैन भनेर युवा युवतीहरू जागरुक प्रौढहरूले नयाँ जागरणको अभियान चलाएर यो बाजालाई मर्न नदिने अठोट गरे देशका विभिन्न जातीय तथा सांस्कृतिक समूहमा । धेरै जातका अनेक उमेरसमूहका युवायुवतीहरूले यो बाजा बजाउन सिक्न थाले र निपुण भए र व्यावसायिक पनि भए । केही दृष्टान्तहरूले यसलाई पुष्टि गर्दछ । हामी एकछिन झापातिर झरौँ र नौमती बाजाहरूको आनन्द लिआँै । हामी एकछिन चारपानेको सेरोफेरामा नौमती बाजाका केही समूह र तिनका क्रियाकलापमा एकछिन घुमौँ ।

झापा जिल्लाको साबिक चारपाने गाविस हालको बिर्तामोड नगरपालिकाको वडाका केही प्रतिनिधिमूलक नौमतीबाजा समूहले नौमती बाजालाई जीवन्तता दिएका मात्रै छैनन् कि यसलाई व्यावसयिक पनि बनाएका छन् भन्ने उदाहरण याहाँ भेटिन्छ । अझ गजबको उदाहरण त नौमतीबाजाका अलग समूह बनाएर एक समूहमा ७३ वर्षकी सासु माया सिटौला सक्रिय छन् भने अर्को समूहमा सरकारी कर्मचारी बुहारी चन्द्रकला ढकाल सिटौला सक्रिय छन् । यस्ता उदाहरण विरलै पाइन्छन् । चन्द्रकला ढकाल रहेको नौमती बाजा समूहमा दुईवटा समूह सक्रिय छन् । उनीहरूका समूहमा रहेका नाम र थरले कुन जातीय समूहको उपस्थिति रहेछ भन्ने तथ्यको जाहेर हुन्छ ।

चन्द्रकला ढकाल सिटौला जो भद्रपुर नगरपालिका वडा कार्यालयकी प्रमुख याने वडासचिव पनि हुन् । उनी समेत मिलेर करिब पाँच वर्षअघि पूर्वेली महिला नौमती बाजा समूह बनाएर नगरपालिका तथा कम्पनी कार्यालयमा समेत विधिवत संस्था दर्ता गरेका छन् । उनका समूह क मा १० जना महिला र एक जना सनार्ईविज्ञ दर्जी समेत गरेर ११ जनाको समूह छ । जसमा शोभा दाहल बिमली, निरा चम्लागाई, मनिषा पाठक सिटौला, धनकुमारी भट्टराई, सुशिला दाहल पोखरेल, चन्द्रकला ढकाल सिटौला, कृष्णमाया बुढाथोकी, कल्पना भट्टराई, कल्पना खतिवडा, मेनुका चुडाल छन् । प्रशिक्षक तथा सनाई विशेषज्ञको रूपमा अम्बरबहादुर दर्नाल छन् । उनी प्रारम्भदेखिका प्रशिक्षक पनि हुन् । यस समूहमा रहेका शोभा दाहाल बिमली र सुशिला दाहल पोखरेल झापा सुखानी सहिद रामनाथ दाहालका छोरी समेत हुन । सुरुमा कथित तल्लोजात दमाईले बजाउने बाजा कथित माथिल्लो जातका बाहुन क्षेत्रीले बजाउन मिल्दैन भनेर विरोध गर्ने समाजलाई चिर्न चन्द्रकला जस्ती सरकारी हाकिम कर्मचारीको अग्रसरताले बल दिएको अन्य सहकर्मी बताउँछन् ।

त्यस्तै पूर्वेली नौमतीबाजा संस्थाको दोस्रो समूहमा रहेका सदस्यहरूको नामले पनि माथिकै कुरोलाई पुष्टि गर्दछ । संगिता पाठक उप्रेती, पुजन बारकोटी, एलिना बुढाथोकी, स्मृती बारकोटी, अञ्जना अर्याल, टीका अर्याल, चन्द्रकला पाठक र गोमा सैढाई । दुवै समूहका महिला सदस्यहरू प्राय विवाहित छन् । १८ देखि ६० वर्षका क्षेत्री बाहुन समूहका छन् ।

यता बुहारी चन्द्रकला छिन् भने उता लामो समयदेखि विभिन्न टेलिसिरियलमा र केही चलचित्रमा समेत अभिनय गरिरहेकी हाल क्षितिज नाटक समूह झापामा सक्रिय भएकी ७२ वर्षीय सासू मायादेवी सिटौला क्षितिज नौमती बाजा समूहमा सक्रिय छिन् । कथित दलितले बजाउने बाजा कथित उच्च जातका त्यसमा पनि महिलाले दमाई दमिनीले जस्तै बजाउँदै हिँड्नु हुदैन भन्ने रुढीवादी, जातिवादी कट्टरपन्थी समाजलाई झापट हान्दै अघि बढ्ने र अरुलाई प्रोत्साहन गर्दै अघि बढ्ने ७२ वर्षीय माया देवी सिटौला आफैँमा क्रान्तिकारी महिलाकी दृष्टान्त पनि हुन् । उनी रहेको समूहको नामले पनि माथिकै प्रगतिशील चित्रलाई पुष्टि गर्दछ । सासू माया सिटौला रहेको समूहका सदस्यहरूको नामवाली निम्नानुसार छ माया सिटौला, सीता प्रसाई, जानुका चापागाई, संगिता रिजाल, सम्झना अधिकारी, कला प्रसाई, विद्या प्रसाई, देवीमायाँ प्रसाई, दुर्गा ढुंगेल, संझना अधिकारी र प्रशिक्षक जीत बहादुर पाँचकोटी ।

नौमती बाजा समूहकी एक सक्रिय सदस्य मनिषा पाठक भन्छिन् हामीले निमती बाजाको अभियानले नेपालको मौलिक नौमती बाजा मात्र बचेको छैन यसले केबल मनोरञ्जन मात्र दिएको छैन सानोतिनो आय आर्जन पनि दिएको छ । त्यतिमात्र होइन महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने सन्देश पनि दिएको छ । उनीहरूको एउटा विवाहमा नौमतीबाजा बजाएको ३०हजार लिँदारहेछन् । त्यसमा यातायत खर्च खाने बस्ने आदि सबै आयोजकले नै बेहोर्ने नियम बनाएका रहेछन् । उनीहरूलाई भारतका विभिन्न भागबाट पनि निम्तो आउँदोरहेछ । उनीहरूको टोली भर्खरै भारतको कलकत्तामा एकजना बडो सैनिक अफिसरको विवाहको निम्तो मानेर आए । उनीहरूलाई थप ज्याला दिएर उनीहरूको पार्टीसम्म पनि राखेछन् । त्यसबाहेक उनीहरू भारतकै आसाम, सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी, जयपालगढी, कालिम्पोङ आदि क्षेत्रमा समेत पटक पटक नौमती बाजा बजाउन गइसकेका छन् र केही भारु समेत नेपालमा ल्याएका छन् ।

भारतका नेपालीहरू नेपालको नौमती बाजालाई धेरै मन पराउँदारहेछन् भन्ने उनीहरूले पाएको माया सम्मानले प्रमाणित गरेको उनीहरूको अनुभव रहेछ । अतीत सम्झेर कति त सनाईको धुनमा रुँदा पनि रहेछन् । उनीहरूले अनेक उपहार र टिप्स पनि निकै बटुल्दा रहेछन् । उनीहरू एक किसिमले सांस्कृतिक दूत भएको अनुभव गर्दारहेछन् । ठाउँ पनि हेरिने मुख पनि फेरिने गोजी पनि भरिने नाच्ने, गाउने बजाउनेको छुट्टै मनोरञ्जनले उनीहरूसँग थकाई पनि हार्दोरहेछ ।

उनीहरूलाई विवाहको समयमा भ्याइनभ्याइ हुँदो रहेछ । उनीहरू विवाह आदि कार्यक्रमको लागि पाँच छ महिनाअघिदेखि बुकिङ हुँदारहेछन् । वर्षमा सरदर सयवटा विवाहका कार्यक्रम मात्रै उनीहरू सम्पन गर्दा रहेछन् । त्यसबाहेक अनेक धार्मिक कार्यक्रम, ब्रतबन्ध, पास्नी, राजनीति उत्सव आदिमा पनि निम्तो आइरहेको हुने रहेछ । उनीहरू हरेक नाच्छन गाउँछन् बजाउँछन् रमाउँछन् । एक कार्यक्रमबाट उनीहरू हरेकले बढीमा तीन हजारजति कमाउँदा रहेछन् । उनीहरू आम्दानीको दश प्रतिशत संस्थाको कोषमा जम्मा गर्दा रहेछन् र समाजसेवामा खर्च गर्दारहेछन् ।

उनीहरू गर्व र आत्माविश्वासको साथ भन्छन्, ‘अब हामी नौमती बाजालाई मर्न दिँदैनौँ । यसलाई अरु लोकप्रिय बनाएर जनजनमा झन् स्थापित गराएर लान्छौँ । चारपानेमा मात्रै पाँचवटा नौमती बाजा समूह सक्रिय भएको दृष्टान्तले र देशभरि यस्ता महिला तथा पुरुषका समूह सक्रियता बढिरहेकोले हामी पनि ठोकेर भन्न सक्छौं अब हाम्रो नौमती बाजा मर्दैन । हामी भन्छौँ अब नौमती बाजा सबैको साझा ।’


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया