Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटन विकास र समस्याहरू

पर्यटन विकास र समस्याहरू


काठमाडौं । आज पर्यटकहरु विश्वका विभिन्न देशमा मनोरञ्जन एवं अध्ययन अनुसन्धानका लागि भ्रमण गर्छन् । यसरी भ्रमण गर्दा उनीहरुलाई आनन्द मात्र प्राप्त हुँदैन ज्ञानोपार्जन पनि हुन्छ ।

कोभिड–१९ को महामारीपछि विश्वको पर्यटन उद्योग केही खस्किए पनि यसबाट हुने वार्षिक आम्दानी सरदर ८ सय अर्ब डलर छ । जसमध्ये नेपाललगायत अन्य दक्षिण एसियाली देशहरुले एक प्रतिशत मात्र आर्जन गर्छन् । केही वर्षयता छिमेकी राष्ट्र चीनले उक्त उद्योगबाट निकै फाइदा प्राप्त गर्न थालेको छ ।

हाल विश्वमा हवाइ यातायातको धेरै विकास भएको छ । यस्तो यातायातका साधन छिटोछरितो एवं आरामदायक भएकाले धेरैजसो पर्यटकहरु वायुसेवा रुचाउँछन् । यही कारणले सन् १९९० को दशकदेखि हवाइ सेवा रुचाउने पर्यटकहरुको संख्या प्रचुर मात्रामा बढेको छ ।

एक आधिकारिक तथ्यांकअनुसार विश्वका डेढ अर्ब पर्यटकहरु हवाइमार्गबाट भ्रमण गर्छन् । यसले हवाइ यातायात विकासको शुभ संकेत गर्छ ।

वर्तमान समयमा एसिया र प्रशान्त क्षेत्रका हवाइ सेवा कम्पनीहरुले आफ्ना पारवहन क्षमता १० प्रतिशत बढाएका छन् । विश्वव्यापी अनुमानअनुसार यी कम्पनीहरुले सम्पूर्ण पर्यटकहरुमध्ये झण्डै ८० प्रतिशतलाई सेवा प्रदान गरी प्रशस्त आम्दानी गर्छन् । यसबाट पर्यटन उद्योगको प्रवद्र्धनमा ठूलो सघाउ पुगेको छ ।

हाल विश्वको विभिन्न देशमा आवतजावत गर्ने पर्यटकहरुको संख्या तीव्र रुपले बढिरहेको छ । त्यसैले यी देशहरुमा उजागर नभएका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक आदि तथ्यहरु पत्ता लगाई प्रचारप्रसार गर्ने प्रतिस्पर्धा बढिरहेको छ ।

वस्तुतः नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताको संगमस्थल हो । यहाँको सांस्कृतिक एवं धार्मिक विरासत शताब्दीऔं पुराना मात्र नभई अनुपम पनि मानिन्छ । यहाँको समाजको संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको महत्वपूर्ण समझदारी एवं सहकार्यमा जीवन्त रहेको छ । यहाँका संस्कार, दिनचर्या र सहिष्णुता अन्य देशहरुको लागि उदाहरणीय मात्र नभई अनुकरणीय पनि हुन सक्छन् ।

यहाँ विद्यमान विभिन्न जातजाति तथा समुदायको पहिचान र रहनसहन उनीहरुको नाचबाट प्रतिविम्बित हुन्छन् । योबाहेक उक्त सम्बन्धमा यहाँको कला, शिल्प, लोकगीत, वाद्यवादन, भाषा, साहित्य, दर्शन, धर्म, उत्सव, खाना र पेयपदार्थहरुबाट पनि मुखरित हुन्छन् ।

विश्वमा एक ठूलो उद्योगको रुपमा अंगीकार गरिएको पर्यटन उद्योग नेपाल सरकारको प्राथमिकतामा हालसम्म पनि पर्न नसक्नु विडम्बना हो । वास्तवमा उक्त उद्योगको विकासका लागि यहाँका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरुको सम्वद्र्धन तथा प्रवद्र्धन गर्न आवश्यक छ ।

खर्चको हिसाबले नेपाल एक सस्तो देश मानिन्छ । तर, प्रचार–प्रसारको कमीले यहाँ सोचेअनुरुप पर्यटकहरु आउँदैनन् ।

वस्तुतः नेपाल अविकृत चिजहरुले भरिएको एक स्वतन्त्र देश हो । जहाँ प्रकृतिलाई नजिकबाट नियालेर हेर्न सकिन्छ । यहाँ पदयात्रा, जलयात्रा, तालतलैया विहार, प्याराग्लाइडिङ्ग, बन्जी जम्पिङ, जङ्गल सफारी, गुफाको यात्रा आदि गर्न सकिने भएकोले प्रत्येक वर्ष प्रचुर मात्रामा पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।

हाम्रो पुर्खाले आर्जेका र प्रकृतिले दिएको प्रचुर सम्पदाको सदुपयोग गर्नसके भविष्यमा नेपालमा पर्यटन उद्योगबाट धेरै फाइदा लिन सकिन्छ । परन्तु, यसका लागि यहाँको राजनीतिक नेतृत्वमा दूरदर्शी सोच एवं दृढ इच्छाशक्तिका आवश्यकता छ ।

भविष्यमा यहाँको ठोस पर्यटन विकासका लागि एकातिर ऐतिहासिक पर्यटकीय स्थल, गढी, किल्ला, दरबार आदिको सम्बन्धमा व्यापक प्रचार–प्रसार गर्न आवश्यक छ भने अर्कोतिर संरक्षण एवं सहज पहुँचका लागि व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । योबाहेक यहाँ पर्वतीय पयर्टन, ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिको विकास गर्न पनि आवश्यक छ ।

यथार्थतः नेपाल एक कमजोर आर्थिक अवस्था भएका देश हुनाले यही आधुनिक संरचनाको विकास गरी बढी पर्यटकहरु आकृष्ट गर्न सम्भव छैन । वास्तवमा यहाँ उपयुक्त ठाउँमा बाटो, होटल, सुरक्षित वातावरण आदिको सुनिश्चित गर्नसके यहाँको पर्यटन उद्योग विकासमा निकै टेवा पुग्न सक्छ । यति मात्र नभई यहाँको परम्परा, लोपोन्मुख भाषा, कला, संस्कृति आदिको संरक्षण एवं प्रर्द्धनको लागि एक राष्ट्रियस्तरको र सातप्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्रहालयहरु स्थापना गर्नसके उक्त उद्योगको विकासमा थप सघाउ पुग्नेछ ।

कोभिड–१९ को महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा यहाँ विदेशी पर्यटकहरुको आगमन २ प्रतिशतले बढेको थियो भने उनीहरुको औसत बसाइ अवधि १५ दशमलव १ प्रतिशत पुगेको थियो । योबाहेक उनीहरुको प्रतिदिन खर्च विगतको तुलनामा केही वृद्धि भई ६५ अमेरिकी डलर पुगेको थियो ।

तर, कोभिड–१९ को चरणबद्ध महामारीपश्चात् सन् २०२० मा विदेशी पर्यटकहरुको आगमनमा झण्डै ८१ प्रतिशत कम भएको कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित एक तथ्यांकले इंगित गरेको छ । उक्त अवधिमा हवाइमार्ग र स्थल मार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकहरुको संख्या २ लाख ३० हजारमा सीमित भयो । यसबाट यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प-यो ।

हाल कोरोना कमजोर हुँदै गए पनि नेपाल पर्यटन बोर्डले केही समयअघि सार्वजनिक गरेको एक आँकडाअनुसार यहाँको पर्यटन क्षेत्रले प्रतिदिन सरदर १० अर्ब बराबरको क्षति व्यहोर्नुपरेको थियो । यति मात्र नभई उक्त क्षेत्रमा संलग्न लगानीकर्ता तथा कामदारहरुको भविष्य अझसम्म सुनिश्चित बन्न सकेको छैन ।

आगामी दिनहरुमा कोरोनाको महामारी पूर्ण रुपले रोकिए पनि यसको प्रभावबाट पर्यटन क्षेत्रलाई उकास्न तीनदेखि पाँच वर्षसम्म लाग्न सक्ने कुरा सम्बन्धित विज्ञहरुले बताएका छन् । तसर्थ उक्त क्षेत्रको पुनरुत्थान गर्ने काम कम चुनौतीपूर्ण छैन ।

नेपाल सरकारले वर्षौँदेखि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आए पनि पर्यटकीय पूर्वाधारहरुको कमी, आर्थिक कूटनीतिको न्यून उपयोग, नयाँ सम्भावित क्षेत्रहरुको खोजी एवं विस्तार नहुनु र हार्डवेयरमा बढी ध्यान दिई सफ्टवेयर ओझेलमा पर्नाले उक्त क्षेत्रको विकासमा समस्याहरु देखा परेका छन् ।

नेपालमा पर्यटन विकासका धेरै सम्भावना भए पनि यसलाई ग्रामीण स्तरसम्म पु-याउन नसक्नाले अपेक्षाअनुसारको फाइदा लिन सकिएको छैन । योबाहेक पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटकहरु काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र जनकपुरमा केन्द्रित छन् भने बाँकी पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।

एकातिर यहाँ विदेशी पर्यटकहरुका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरुको संख्या एवं गुणस्तर दुवै कमजोर छन् भने अर्काेतिर यहाँको प्रमुख गन्तव्यस्थल सुविधायुक्त यातायात प्रणालीले जोड्न सकिएको छैन । बेलाबेलामा गरिने बन्द, हडताल र कमजोर शान्ति सुरक्षाको कारण यहाँको पर्यटन विकासमा समस्या थपिएको छ ।

यहाँ बेला–बेलामा विदेशी पर्यटकहरु लुटिएका, कुटिएका र मारिएका घटनाहरु सञ्चारमाध्यमहरुमा प्रकाशमा आउँछन् । जबसम्म उनीहरुको सुरक्षाको प्रत्याभूत हुँदैन, तबसम्म उनीहरुको संख्या एवं बसाइ अवधि बढ्न सक्दैन र यो देशलाई खासै फाइदा हुँदैन । आगामी दिनहरुमा यस सम्बन्धमा सुधार नभएमा विकराल समस्याको रुपमा देखापर्नेछ ।

नेपालमा भरपर्दो सूचना प्रवर्द्धन केन्द्रहरुको कमीको कारण यहाँका कला, संस्कृति एवं प्राकृतिक दृश्यहरुको बारेमा राम्ररी प्रचार–प्रसार गर्न सकिएको छैन । त्यसैले यहाँको पर्यटन उद्योगमा सोचेअनुरुप विकास गर्न सकिएको छैन ।

वस्तुतः यहाँको मौलिक संस्कृतिको प्रचार–प्रसार एवं प्रवर्द्धनको तुलनामा विदेशी छाडापन र खुलापनको नक्कलले यहाँका सामाजिक तथा सांस्कृतिक विकृतिहरु बढिरहेका छन् । सोबाहेक यहाँ पर्यटकहरुका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरुको संख्या एवं गुणस्तर कम छ । जसले यहाँको पर्यटन विकासमा समस्याहरु थपेका छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया