Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटन : खर्च गराइ र बसाइ अवधि

पर्यटन : खर्च गराइ र बसाइ अवधि


काठमाडौं । हालै विश्व स्वास्थ्य संगठन (डब्लूटीओ)ले कोरोना महामारीको असर पहिलेजस्तो नरहेको भनी घोषणा गरेको छ । त्यसको मतलब कोरोना महामारी निमिट्यान्नै भएको भन्नेचाहिँ होइन । हुन त अहिले नेपालमा पर्यटनको सिजन सकिन आँटेको अवस्था हो । यसो सम्झने हो भने सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वमा रहेको प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको ‘नोभेलकोरोना भाइरस’को असरपछि सबैभन्दा धेरै पर्यटकीय गतिविधिहरू भइरहेको छ, हाम्रो देश नेपालमा । त्यसो त नर्मल समयमा नेपालमा पर्यटकीय गतिविधि र चहलपहल धेरै हुने सिजन यही नै हो । हुन पनि चीनबाट फैलन सुरु भएको कोरोना बिस्तारै विश्राम लिएको हो कि ? भन्ने भान परेसँगै विश्वका प्रायः सबै देशमा पर्यटक आगमन दरमा बढोत्तरी भएको छ । कतिपय देशहरूले त आ–आफ्नो देशमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउन सकिन्छ ? सो बारेमा सरकार र निजी क्षेत्र मिलेर विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न खाले सहुलियतका योजना, प्याकेजहरू र छुट दिने कार्यक्रम ल्याएका छन् । हिजो कोरोना भाइरस फैलँदै गर्दा विश्वभरि मुर्दाशान्ति छाएको अवस्था थियो । संयुक्त राष्ट्र संघको ‘विश्व पर्यटन संगठन (यूएन डब्लूटीओ)ले निकालेको तथ्यांकअनुसार सन् २०१९ मा विश्व भ्रमण गरेको पर्यटकको तुलनामा सन् २०२० मा विश्व भ्रमण गरेका विदेशी पर्यटकको संख्यामा ७४–७५ प्रतिशतले कमी आएको अवस्था रहेको थियो ।

कोरोना भाइरसलाई केही देशका सरकार प्रमुख जस्तै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलगायतले कोरोना महामारीलाई अति नै हलुकारूपमा लिएका थिए । उनीहरूले त्यसरी हलुका रूपमा लिएको भए पनि कोरोना महामारीले आफ्नो पूर्ण शक्तिसहित विश्वभरि व्यापकरूपमा फैलने क्रम बढाएपछि विश्वभरिकै पर्यटकीय गन्तव्यहरू बन्द भए । हुन पनि विभिन्न समयमा विश्वमा आएका ठूला महामारी रोगहरूको इतिहास हेर्दा त्यसअघिका महामारीमा यसरी (आवतजावत) यात्रामा प्रतिबन्ध नै लगाएको देखिँदैन । यसरी कोभिड–१९ नाम दिएका कारण पहिलो पटक विश्वभरिका प्रायः सबै देशले आ–आफ्नो देशमा आउने यात्रीहरूलाई यात्रा गर्नमा प्रतिबन्ध नै लगाए । जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिकरूपमा ठूलो मार खेप्नु प-यो । कोरोना महामारीका कारणले विश्व पर्यटनमा कसैले पनि नसोचेको स्तरमा ‘डाउन–फल’ सुरु भयो । भनाइको मतलब के हो भने विश्वका धेरैजसो घुमघामयोग्य पर्यटकीय स्थलहरू पूर्णरूपमा बन्द गरियो । माथि एक प्रसङ्गमा भनिएझैँ इतिहास हेर्दा यसअघि (सन् २०१९) पनि विभिन्न खाले ठूला–ठूला महामारी फैलिएको थियो । तर त्यसबेला यात्रा र घुमघाममा प्रतिबन्ध लागे÷नलागेको बारेमा यो पङ्क्तिकारलाई केही थाहा भएन ।

जे होस्, संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठनले त्यो बेला गरेको एक अध्यययनअनुसार कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि विश्वका दुई सय १७ साना–ठूला (अरुको अन्डरमा रहेका टापु देशसमेत) देशले यात्रा र घुमघाममा प्रतिबन्ध लगाएको थियो भने शत प्रतिशत पर्यटकीय गन्तव्यहरू बन्द भएका थिए । हुन त यस्तो खालको अति कडा प्रतिबन्धले कहिलेसम्म धान्न सकिन्थ्यो र ? त्यसैले बिस्तारै विश्वका केही देशले कोरोना महामारी फैलिएको देशको अवस्था हेरेर आफ्नो देशमा आउन चाहने विदेशी पर्यटकका लागि सातदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरे र पर्यटकीय गतिविधिहरू जारी राख्यो भने कुनैकुनै देशका नागरिकहरूलाई निश्चित अवधिसम्म आफ्नो मुलुकमा प्रवेश गर्नै नपाउने गरी प्रतिबन्ध पनि लगाएका थिए । जे होस् सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको मान्न सकिन्छ । किनभने सन् २०२२ मा विश्वका विभिन्न देशका नौ सय मिलियन अर्थात् ९० करोड मानिसहरू पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको फलस्वरूप सन् २०२३ मिलियन विभिन्न देशका मानिसहरू विश्वका विभिन्न देशमा पर्यटक भई निक्लेको अनुमान गरिएको छ ।

नेपालमा पनि पर्यटक आगमनदरमा राम्रो सुधार हुँदै गएको छ । जस्तै सन् २०१९ को पहिलो तीन महिनाको तुलना गर्दा सन् २०२३ तीन महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा ७८ प्रतिशतले सुधार आएको छ । जुन कुरालाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । साथसाथै अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने भन्ने सम्बन्धमा र उनीहरूको नेपाल बसाई अवधि अनि विदेशी पर्यटकहरू नेपाल बसाइको क्रममा उनीहरूले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढाउन सकिन्छ ? भन्ने ध्यान दिनुपर्ने देखिन्छ । स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए पनि उनीहरूको नेपाल बसाइ अवधि अनि उनीहरूले गर्ने दैनिक खर्चको सीमामा भने खासै प्रगति भएको थिएन । जस्तो कि सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति दैनिक ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए भने प्रतिदिन बसाइ अवधि १२ दशमलब सात दिन रहेको थियो । त्यस्तै गरेर सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा केवल एक लाख ३१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आए । सन् २०२२ मा चाहिँ छ लाख १४ हजार एक सय ४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे । यसरी हेर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै लगभग साढे दुई तीन वर्षको निराशाजनक अवधिपछि विश्व पर्यटन जगतमा आशा जागेको/जगाएको छ । साढे दुई–तीन वर्षको निराशजनक अवधिको विश्व पर्यटन जगतले जसरी आशा जगाएको छ, फेरि निराशाको वातावरण नबनोस् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया