Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगज्येष्ठ नागरिकको उचित लालनपालन

ज्येष्ठ नागरिकको उचित लालनपालन


काठमाडौं । सन् २०१२ मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुबा दिवस मनाउने घोषणा गरेको छ । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यमा केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । त्यस्तै, हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरी मनाइँदै आएको पाइन्छ । विश्वभरिका आमाबुबालाई केन्द्रिकृत गर्न हरेक वर्ष जुन १ लाई आमाबुबा दिवसको रूपमा मनाउने घोषणा गरी सो अनुरूप मनाउँदै आएको छ । २०२३ को विश्व आमाबुबा दिवसको नारा ‘विश्वभरका आमाबुबालाई कदर गरौँ’ भन्ने रहेको छ । त्यस्तै, विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस जुन १५, २००६ मा अग्रज दुव्र्यवहार रोकथाम र विश्व स्वास्थ संगठनको लागि अन्तर्राष्ट्रिय नेटवर्कद्वारा सुरु गरिएको वार्षिक पहल हो । ६६ को १२७ प्रस्तावनामा संयुक्त राष्ट्र महासभाले विश्व वृद्ध दुर्व्यवहार जागरुकता दिवसको रूपमा तोकेको पाइन्छ । संसारमा वृद्धहरूको संख्या सन् २०३० सम्ममा एक दशमलव चार बिलियन हुने अपेक्षा गरिएको छ । ४–६ प्रतिशत वृद्ध कुनै न कुनै प्रकारको दुर्व्यवहारबाट पीडित भएको अध्ययनले देखाएकोे छ । मानवचक्रमा आधारित रहेर लैङ्गिक हिंसालाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारलाई कम गर्न कानुनी र प्रमाणमा आधारित कदमहरू चालौँ भन्ने अर्थको नाराका साथ यस वर्ष सबै समुदाय र राष्ट्रहरूलाई अग्रजमैत्री नीति ल्याउन र कार्यान्वयन गर्न आह्वान गरेको पाइन्छ ।

हाम्रो देशको सन्दर्भमा कुल जनसंख्यामध्ये ज्येष्ठ नागरिकहरूको (६० वर्ष र माथि) कुल जनसंख्याको १० दशमलव २० प्रतिशत अर्थात २९७७३१८ भन्दा माथि रहेको तथ्यांक छ । यी संख्याका ज्येष्ठ नागरिकहहरूमध्ये ६०–७० उमेर समूह अझै पनि जुधारु किसिमले बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको प्रशस्तै पाइन्छ । विभिन्न उत्पादनमूलक कार्य संलग्नताको हकमा उहाँहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरकफरक रहेको छ । हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल सन् २०२३ को तथ्यांकअनुसार ७१ दशमलव ७४ वर्ष रहेको पाइन्छ । हिमाल र पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेशमा बसोबास गर्ने मानिसलगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानवको आयुलाई हावापानी, रहनसहन, आर्थिक स्थिति, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।

संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहँुचयोग्य हरित तथा सार्वजानिक खुला ठाउँहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नको लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई २०७९ मा संशोधित भई लागु भइसकेको अवस्था छ ।

पहिले–पहिले वृद्ध बा–आमा, हजुरबा, हजुरआमालाई माया, मानसम्मानका साथ आफ्नै घरमा पालनपोषण तथा हेरचाह गरिन्थ्यो तर आधुनिक जीवनशैलीले एकल परिवारको चाहना, स्वार्थीपना, रोजगारको व्यस्तता, विदेशी संस्कारको प्रभाव बसाइँसराइ, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, फिक्का नैतिक शिक्षा, राज्यको कमजोर कानुनी प्रक्रिया आदिले ज्येष्ठ नागरिक एक्लिँदै गएका छन् । समयको फेरबदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमाबाबुलाई केहीले आप्mनो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खान, लाउन, बस्नसमेत नदिई घरैबाट निकालिएको अवस्था छ ।

राज्यले पनि ज्येष्ठ नागरिकलाई उचित किसिमको आवश्यक व्यवस्था मिलाउने प्रयास नगरेको भने होइन । ज्येष्ठ नागरिकको कानुनी अधिकार तथा विभिन्न संघसंस्था तथा निजीस्तरको प्रयास हेर्दा ज्येष्ठ नागरिकको क्षेत्रमा धेरै कार्य भएको त देखिन्छ । ज्येष्ठ नागरिकको ऐन, नीति, नियमावलीको प्रभावकारी कार्यान्वयनको पक्ष कमजोर भएको पाइन्छ । हुन त ज्येष्ठ नागरिक ऐन, २०७९ मा रेखदेख, पालनपोषण, ज्येष्ठ नागरिकमाथि अपराध गरे कानुनी व्यवस्था, छोटो दूरीको यातायात, औषधि उपचारमा ५० प्रतिशत छुटको व्यवस्था छ । ७० वर्षमाथिकालाई जटिल रोगको उपचारमा एक लाख छुट, ७५ वर्षमाथिकालाई मृगौला र मुटुको रोगको निःशुल्क उपचार, कानुनी सहायता, कसुरमा छुटको व्यवस्था आदि नभएको भने होइन तर माथि उल्लेख गरेजस्तै प्रभावकारी कार्यान्वयनको अवस्था भने जति हुनुपर्ने हो त्यति देखिँदैन ।

आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु¥याउने, खान, लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवता शून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुवैखाले ज्येष्ठ नागरिक ढल्किँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति अलिकति पनि दयाभाव नराख्ने, दुव्र्यवहार गर्ने सन्तान घोर कलंकका पात्र बनेका छन् । ज्येष्ठ नागरिक दुर्व्यवहारबाट पीडित छन् ।

यसै सन्दर्भमा आर्थिक वर्ष २०७९/८० देखि ६८ वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिक भत्ता दिइएको छ । यो सकारात्मक पक्ष हो । ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै संघीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको समाचार बाहिर आएको पाइन्छ । सोअनुसार ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार रोक्ने, स्थानीय तहले हेरचाहको जिम्मा लिने वा हेरचाह गर्ने नातेदार वा हकवालालाई सम्पत्ति हस्तान्तरणको व्यवस्था विधेयकले गरेको छ । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्ति स्वामित्व स्थानीय सरकार मातहतमा समेत लैजान सकिने व्यवस्था गरेको छ । हकवाला नातेदारले हेरचाह नगरेमा नागरिकको संरक्षणको दायित्व स्थानीय तहलाई दिने व्यवस्था मिलाउन लागेको हो । ज्येष्ठ नागरिकको मुद्दा हेर्नको लागि न्यायपरिषद्को छुट्टै इजलासको गठनको प्रस्तावको पनि प्रतिनिधि सभाले स्वीकार गरेको छ ।

ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउनु, ज्येष्ठ नागरिकको विषयलाई समानरूपमा सम्बोधन र व्यवस्थापन गर्नु, आधारभूत स्वास्थ्य सुविधा र पोषणको आवश्यक व्यवस्था गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हँुदै जाँदा सोअनुसार सेवा सुविधाको पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नु, उनीहरूको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु र उनीहरूका लागि उपयुक्त एवम् पर्याप्त दिवा सेवा केन्द्र, क्लब, औषधोपचारसहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतीको रूपमा रहेका छन् ।

संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवर्द्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सरकारको प्रतिवद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थरूपमा पालना गर्न सकेको देखिँदैन । ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषयहरू हुन् । स्याहार र स्वास्थ्यजस्ता विषय विकासशील मुलुकमा चुनौतीको रूपमा रहेको छ । हाम्रोजस्तो देश जहाँ पारिवारिक आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलव्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाइको सामना गर्नुपर्ने अवस्था छ । सामान्यतयाः शारीरिक दुर्बलताबाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखासम्बन्धी समस्या, दम, छातीसम्बन्धी समस्या मुख्य देखिएका छन् । यीबाहेक मधुमेह, अल्जाइमर, रक्तचाप, मुटुसम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपाङ्गपनजस्ता समस्याले सामान्यतया वृद्धवृद्धाहरू सताइएका हुन्छन् । यसका लागि ज्येष्ठ नागरिकका सबै सन्तानलाई सोको बारेमा क्रियाशील बनाउनु अति आवश्यक छ । यसरी क्रियाशील बनाउन स्थानीय सरकारको अझै महत्वपूर्ण भूमिका रहन्छ ।

ज्येष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले दुर्व्यवहार रोकी निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ती हुन््, घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनुपर्ने, साथै आफ्ना अग्रजहरूलाई सदैव मातृ देवो भवः, पितृ देवो भवःजस्ता आदर्श वाक्यको पालना गर्नुपर्ने, सरकारले समयमै वृद्धभत्तालगायतका अन्य सुविधाहरू उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा दिइएको सहुलियत प्रभावकारी कार्यान्वयन हुनुपर्ने, बेसाहारा र असक्त ज्येष्ठ नागरिकलाई विशेषभत्ता वा लालनपालनको आवश्यक व्यवस्था हुनुपर्ने, यातायात, स्वास्थ्य सेवा, स्वास्थ्य बिमाजस्ता सुविधा निःशुल्क उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, घर परिवारका सदस्यले खान, लगाउन, स्वास्थ्योपचारमा ध्यान दिनु आवश्यक छ ।

सरकारले उपलव्ध गराउने सुविधा विनाभेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने, सकेसम्म घरमै वृद्धभत्ता उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, ज्येष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्योपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चारमाध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रवन्धका लागि घर परिवार वरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्धतिबारे प्रशिक्षित गर्न आवश्यक छ ।

स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाहरूलाई ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संगजस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सवलताका लागि रूचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रूचि र क्षमताअनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला ज्येष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्नको लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्नेजस्ता कुरामा विशेष ध्यान दिई संविधानले ज्येष्ठ नागरिकलाई दिइएको मौलिक हक प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । जोकोही सरोकारवालाले ज्येष्ठ नागरिकको उमेरलाई गणितीय हिसाबले मात्र लेखाजोखा गर्नुहुँदैन । आमाको पेटमा गर्भाधानदेखि बाल्यकाल, युवाकाल, वयस्क हुँदै वृद्ध हुँदासम्म उमेर मात्र हुँदैन, बहुसंख्यक क्षमता र अनुभवको सँगालो भरिएको हुन्छ । जन्मदेखि मृत्युसम्म सबैको यही बाटो हो भनी मनन् गर्ने हो भने आमाबाले प्रताडित हुनु अवहेलित र अपमानित जीवन बिताउनु पर्ने अवस्था नआई उचित जीवन बिताउन सक्षम हुनुहुनेछ । तबमात्र जुन १ मा मनाइने विश्व आमाबुबा दिवस, जुन १५ मा मनाइने विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस तथा विभिन्न नामले मनाइने दिवसले सार्थकता पाउनेछ ।
लेखक नेपालमा गुणस्तरीय जीवन विषयमा विद्यावारिधि तथा ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न अध्ययन अनुसन्धानमा संलग्न छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया