Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रसाईंमा उठेको दूरदर्शी सांस्कृतिक राष्ट्रियताको चेत

प्रसाईंमा उठेको दूरदर्शी सांस्कृतिक राष्ट्रियताको चेत


काठमाडौं । प्रसाईंमा उठेको दूरदर्शी सांस्कृतिक राष्ट्रियताको चेत शीर्षक राखिएको यो लेखमा रामचन्द्र प्रसाईंको ऐतिहासिक राष्ट्रियताको चेत, चिन्तन र योगदानको बारेमा चर्चा गर्न खोजिएको छ । रामचन्द्र प्रसाईं नाम गरेका त धेरै प्रसाईंहरू छन् । तर इतिहास बनाएका तर यथोचित सम्मान र परिचय समेत राज्यले नदिएका ऐतिहासिक पात्र रामचन्द्र प्रसाईंको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । ऐतिहासिक रामचन्द्र प्रसाईं भनेर लेखिएको यो लेख कसैले पढ्यो भने पनि धेरै इतिहासका विद्यार्थीले भन्ने छन् हामीले समेत नाम नसुनेको कतै इतिहासमा समेत नपढेको रामचन्द्र प्रसाईं कहाँको के योगदानको कहिलेको कसरी ऐतिहासिक व्यक्तित्व हुन सक्छ भनेर सवाल उठाउन सक्छन् । यही सवाल उठ्न सक्ने परिस्थिति भनेको नै राज्यले रामचन्द्र प्रसाईंलाई यथोचित पहिचान र सम्मान नदिएको भन्ने यथार्थताको पुष्टि पनि हो ।

रामचन्द्र प्रसाईं नेपालको ऐतिहासिक र सर्वाधिक रणनीतिक महत्वको सिन्धुलीमा भएको अंग्रेज सेनासँगको युद्ध र विजयसँग जोडिएका दीर्घकालीन सोच भएका देशभक्त राज्यले नदेखेको विभूति नभनेको तर वास्तविक विभूति हुन् । रामचन्द्र प्रसाईं इतिहासका यस्ता पात्र हुन्, जसलाई नेपाल राष्ट्रको एकीकरण अभियानमा अघि बढेका पृथ्वीनारायण शाहले ऐतिहासिक पत्र लेखेका छन् । रामचन्द्र प्रसाईं यस्ता दूरदर्शी सांस्कृतिक चेत भएका देशभक्त सपूत हुन्, जो कान्तिपुर राज्यअन्तर्गत रहेर पनि कान्तिपुरका आफ्ना राजा जयप्रकाश मल्लले अंग्रेज सेनालाई बोलाएको अदूरदर्शी कदमको विपक्षमा उभिएर पृथ्वीनारायणलाई साथ दिने निर्णय गरेर उनलाई पत्र लेख्छन् । उनको यही ऐतिहासिक निर्णय र अंग्रेजलाई रोक्न कसरी साथ दिन सक्छु भनेर पृथ्वीनारायण शाहलाई पत्र लेखेको थिए । यही पत्रको जवाफमा पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई ऐतिहासिक पत्र लेखेका हुन् ।

रामचन्द्र प्रसाईंको जन्म सिन्धुली जिल्लाको झाँगाझोली चैनपुर भन्ने ठाउँमा विक्रम सम्वत १७७३ मा भएको थियो । पछि १३ वर्षका रामचन्द्र प्रसाईं उनका हजुरबुबा नन्दमुनि प्रसाईंले खरिद गरेको जग्गा रामेछापको पोखरवास भन्ने ठाउँमा बुबा श्रीकृष्ण प्रसाईंसँगै १७८६ मा बसाईं सरे । रामचन्द्र प्रसाईं पृथ्वीनारायण शाहभन्दा छ वर्ष जेठा रहेछन् । पोखरवासबाट पछि रामचन्द्र प्रसाईं बुबासँगै मुगिटारमा बसाइँसरेका थिए ।

रामचन्द्र प्रसाईं कान्तिपुरका राजा जयप्रकाश मल्लका प्रजा थिए । कान्तिपुर राज्यका प्रजा भएको कारणले उनको बफादारी आफ्नो राज्य कान्तिपुर र राजा जयप्रकाश मल्लप्रति हुन् स्वाभाविक नै थियो । गोरखाली सेनाहरूले मकवानपुर कीर्तिपुर जितिसकेका थिए । अब कान्तिपुर पनि बाँकी राख्दैनन् भन्ने डरले राजा जयप्रकाश मल्लले गोरखालीबाट जोगिन अंग्रेजलाई झिकाउने निर्णय गरे । जयप्रकाशको यो निर्णय एक कान दुई कान मैदान भयो । रामचन्द्र प्रसाईंको कानमा पनि पर्यो । यसले उनलाई झस्कायो । उनलाई आफ्ना राजाको अंग्रेजलाई बोलाउने निर्णय ठीक लागेन । यदि अंग्रेज आयो भने सबै उसले कब्जा गर्छ, धर्म संस्कृति पनि जोगिँदैन, राज्य पनि जोगिँदैन, यसलाई रोक्नैपर्छ भन्ने निष्कर्षमा उनी पुगे र उनी पृथ्वीनारायण शाहलाई साथ दिने निष्कर्षमा पुगे । यही निष्कर्षको परिणाम हो, उनले पृथ्वीनारायण शाहलाई लेखेको पत्र ।

रामचन्द्र प्रसाईंले पृथ्वीनारायण शाहलाई अंग्रेज आउँदै छ भन्ने हल्ला छ । आयो भने नेपाल खान्छ । त्यसलाई सिन्धुलीबाटै लखेट्नुपर्छ । म जन धन सबै सहयोग गर्न तयार छु, कसरी सहयोग गरौं आदि आशयको पत्र लेखेर आफ्नो विचार स्पस्टसँग पृथ्वीनारायणलाई पत्र पठाए । उनको यही पत्रको जवाफमा पृथ्वीनारायणले उनको उच्च मूल्यांकन गर्दै पत्र पठाएका थिए । आफ्नो पत्रमा पृथ्वीनारायणले रामचन्द्र प्रसाईंलाई फिरिङ्गी भनेको ब्वाँसो हो भनेर लेखेका थिए । फिरङ्गीलाई लखेट्न अहिलेलाई दुई हजार ऋणको सहयोग मागेका थिए पृथ्वीनारायण शाहले । साथै, युद्ध जनशक्ति पनि सहयोग मागेका थिए । रामचन्द्र प्रसाईंले पृथ्वीनारायण शाहले भनेको सबै सहयोग मात्र दिएनन्, गोरखाली कमाण्डरसँग मिलेर आफ्ना समेतको सहयोगमा अङ्ग्रेज फौजमाथि विजय गर्ने रणनीतिक हिसाबले नेपाल एकीकरणको सबैभन्दा महत्वपूर्ण ऐतिहासिक युद्धमा योगदान गरेर आफ्नो गौरवशाली इतिहास समेत बनाए ।

रामचन्द्र प्रसाईंको यो चेत, सहयोग र सहभागिता अरूभन्दा फरक र महत्वपूर्ण छ । यो अरूभन्दा उच्च मूल्यांकनयोग्य छ । किनभने पहिलो उनी गोर्खाली राजाका प्रजा थिएनन् । उनी कान्तिपुर राजाका प्रजा थिए । अङ्ग्रेज सेनालाई उनको राजाले उनको राज्य रक्षार्थ बोलाएका थिए । उनले आफ्नो राजाको गोमन सर्पलाई शिरमा राखेर सुरक्षित हुनसक्छु भन्ने मूर्खतालाई बेलैमा बुझे । उनले बेलैमा के बुझे भने अङ्ग्रेजलाई नेपालमा भित्र्याउनु भनेको नेपाल राज्य मात्रै होइन नेपालको सबै रैथाने धर्म संस्कृति पनि उसैलाई बुझाउनु हो । उनमा एकैपटक देशभक्तिपूर्ण सांस्कृतिक चेत खडा भएर आयो । संयोग यस्तो भयो कि जसरी पृथ्वीनारायणले नेपालमा अङ्ग्रेज छिरेमा नेपालले सबै गुमाउँछ भन्ने मूल्यांकन गरेका थिए । रामचन्द्र प्रसाईंले पनि त्यस्तै मूल्यांकन गरेका थिए । यद्यपि अङ्ग्रेजसम्बन्धी पृथ्वीनारायणको के मूल्यांकन योजना र धारणा छ उनलाई थाहा थिएन । उनलाई के थाहा थियो भने पृथ्वीनारायण ठूलो राज्य बनाउने अभियानमा छन् । यदि अङ्ग्रेज नेपालमा छिर्न पायो भने त पृथ्वीनारायणको ठूलो राज्य बनाउने अभियानमा पनि पूर्णविराम लाग्छ । अवश्य पनि पृथ्वीनारायण अङ्ग्रेजलाई छिर्न दिनुहुन्न भन्नेमा हुनुपर्छ भन्ने विश्वासमा पृथ्वीनारायणलाई रामचन्द्र प्रसाईंले पत्र लेखेका हुन् । रामचन्द्रको विश्वासले धोका खाएन । उनले अपेक्षा गरेकोभन्दा बढी पृथ्वीनारायणले अङ्ग्रेजलाई रोक्ने युद्धमा जनशक्ति र धनशक्तिको सहयोग समेत मागेको पत्र पाउँदा रामचन्द्र प्रसाईं औधी खुसी भए । जयप्रकाशलाई छोडेर पृथ्वीनारायणमा जोडिन पाउँदा रामचन्द्र प्रसाईंले वास्तवमा साँचो अर्थको राजा र नेता पाएको महसुस गरेका थिए होला ।

रामचन्द्र प्रसाईंको सबैभन्दा बलशाली मूल्यांकनको पाटोको चिनारी भनेको नै दूरदर्शीपूर्ण सांस्कृतिक देशभक्तिको पाटो नै हो । यही पाटोले नै उनलाई पृथ्वीनारायणको यही बाटोमा एकाकार बनाउन सक्यो । उनी चुपचाप बस्न सक्थे । आप्mना राजा जयप्रकाश मल्लले जे गरे राज्य जोगाउन गरे भनेर समर्थन गरेर बस्न सक्थे । आफ्नो कान्तिपुर राज्यमाथि खतराको युद्ध बोकेर आएको पृथ्वीनारायण शाहको गोरखाली अभियानलाई किन बलियो बनाउने भनेर निष्कृय भएर बस्न सक्थे । तर उनीभित्रको दूरदर्शीपूर्ण सांस्कृतिक देशभक्तिको चेतले उनलाई निष्कृय, तटस्थ र मौन भएर बस्न दिएन । उनीभित्रको यो तागतलाई फिरंगीलाई रोक्ने सबै उपायामा एकाकार गर्नुपर्छ र आफ्ना गलत राजा जयप्रकाश मल्ललाई छोडेर गोरखाका राजा पृथ्वीनारायण शाहलाई तन, मन, धन सबै किसिमले साथ दिन युद्ध मोर्चामा आफूलाई होम्नैपर्छ भनेर प्रेरित गरिरह्यो । त्यसैले उनले पृथ्वीनारायण शाहलाई पत्र लेखे । पत्रमात्रै लेखेर झारा टारेनन् । पृथ्वीनारायणले चाहेको धन पनि लिएर जन पनि लिएर फिरंगी लखेट्ने रणनीतिक महत्वको ऐतिहासिक सिन्धुलीको युद्ध मोर्चामा सामेल भए । यसको नेपालले जहिल्यै उच्च मूल्याङ्कन गर्नुपर्छ । तर मूल्यांकन गर्नु त कता हो कता इतिहासमा नाम समेत कतै उल्लेख गरेको भेटिँदैन ।

रामचन्द्र प्रसाईंको ऐतिहासिक योगदानलाई ओझेलमा पर्न दिनुहुन्न भनेर लेखक श्रीप्रसाद प्रसाईंले ‘इतिहासमा लुकाईएका राष्ट्रिय व्यक्तित्व रामचन्द्र प्रसाईं’ शीर्षकमा रामचन्द्र प्रसाईंको जीवनी र योगदानलाई प्रकाश पार्ने पुस्तक सार्वजनिक गरेका छन् । लेखक श्रीप्रसाद प्रसाईं माओवादी नेता एवं पूर्वसांसद नन्दकुमार प्रसाईं आदिहरू रामचन्द्र प्रसाईंको योगदानलाई चीरस्थायी गराउन सक्रिय भएर लागेका छन् । रामचन्द्र प्रसाईंलाई राष्ट्रिय विभूति घोषणा गराउन सरकारसँग लागि परेका छन् ।

त्यसरी नै रामचन्द्र प्रसाईं जसरी नै स्वस्फूर्त र स्वेच्छिक हिसाबले नेपालको प्रथम उपनिवेशवादी शक्ति अंग्रेज विरोधी युद्धमा सहभागिता र योगदान दिने वंशिधर थापा मगरका छोरा सिन्धुलीको बाटो निगाले निवासी जयनारायण थापा मगरलाई पनि रामचन्द्र प्रसाईंसँगै राष्ट्रिय विभूति घोषणा गरियोस् भनेर उनीहरूले माग बढाएका छन् । यी दुवैजना स्वस्फूर्त र स्वच्छिकरूपमा आफूहरूलाई अङ्ग्रेज उपनिवेशवादी शक्तिलाई रोक्ने देशभक्तिपूर्ण सिन्धुली युद्धमा आफूलाई होमेका थिए । जयनारायण मगरले पनि रामचन्द्र प्रसाईंले जस्तै स्थानीय युवाहरूलाई संगठित गरेर गोरखाली सेनाको युद्ध जनशक्ति र युद्ध मोर्चालाई बलियो बनाउन योगदान गरेका थिए । बहादुरीपूर्वक युद्धमा समेत सामेल भएका थिए । कान्तिपुरका राजा जयप्रकाश मल्लको अंग्रेज बोलाउने परवादी सोच र टिकाउ नहुने एकीकरणविपरीतको पृथकतावादी सोचभन्दा पृथ्वीनारायण शाहको स्वदेशवादी र एकीकरणवादी सोच सही लागेर स्वेच्छिकरूपले अङ्ग्रेज विरोधी मोर्चामा होमिएका रामचन्द्र प्रसाईं र जयनारायण मगरलाई राष्ट्रिय विभूति घोषणा गरियोस् भन्ने नन्दकुकम र श्रीप्रसाद प्रसाईंहरू समेतको माग सबै किसिमले समर्थनयोग्य छ ।

नेपालको लागि रणनीतिक महत्वको हिसाबले सिन्धुलीको युद्ध र विजय सर्वाधिक महत्वको भएकाले र त्यसबेलाको विश्वशक्ति मानिएको अंग्रेज शक्तिलाई पराजित गरेर लखेट्न सक्नु नेपालको युद्ध इतिहासको सर्वाधिक गरिमाको घटना भएकाले राज्यले सिन्धुली युद्ध, योद्धा र विजेताको उच्च मूल्यांकन गर्दै विभूतिको रूपमा उच्च सम्मान गरोस् । यसो भएमा उपनिवेशवादी शक्तिलाई धुलो चटाउने गोरखा याने नेपालको प्रथम उपनिवेशवादी शक्तिसँगको युद्ध र योद्धाको उचित सम्मान हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4


तपाईको प्रतिक्रिया