Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअन्तर्राष्ट्रिय पिता दिवसको महत्व

अन्तर्राष्ट्रिय पिता दिवसको महत्व


काठमाडौं । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले अन्तर्राष्ट्रिय पिता दिवस मनाउँछन् । यसको ऐतिहासिक पक्ष हेर्दा भारतमा बेलायती शासकहरूको शासन सुरुवातपछिका दिनमा जुन महिनाको तेस्रो आइतबार बुबाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । त्यस्तै, सन् १९०७ को कुरा हो, अमेरिकाको मोनोगाह भन्ने ठाउँमा खानीमा कामदारहरू भएकै बेलामा ठूलो विष्फोट भयो । यसमा बालबच्चा भएका सयौँ पुरुषहरूको मृत्यु भएको थियो । सन् १९०८ बाट नै वेस्ट भर्जिनिया, अमेरिकाकी एकजना महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवसजस्तै बुबा दिवस पनि मनाउन उक्त दुर्घटनामा बुबा बितेका सबैलाई आफ्नो बुबाप्रति सम्झना समर्पण गर्ने आग्रह गरेकी थिइन् । त्यसपछि फादर डे मनाउने चलन विश्वभर हुँदै गयो । साँच्चै नै जुनसुकै धर्म वा सम्प्रदाय भए पनि बुबाले बालबालिकाको जीवन सजाउन दिनरात खटेर कर्म तथा सुरक्षा दिने काम हुन्छ । त्यसकारण हरेक जुन महिनाको तेस्रो आइतबार विश्व पिता दिवस मनाउने गरिन्छ । नेपालमा भने यो फाट्टफुट्टरूपमा मनाउन सुरु गरेको पाइन्छ । तर व्यापकरूपमा कुशे औँसीको दिनलाई नै पिता दिवस र मातातीर्थ औँसीको दिनलाई माता दिवसको रूपमा मनाइन्छ । वास्तविकरूपमा जेष्ठ नागरिकहरूको सम्मानका लागि विभिन्न समयमा विभिन्न दिवस मनाइन्छ ।

हाम्रो देशको सन्दर्भमा कुल जनसंख्या २९१६४५७८ मध्ये जेष्ठ नागरिकहरूको (६० वर्ष र माथि) कुल जनसंख्याको १० दशमलव २० प्रतिशत अर्थात् २९७७३१८ भन्दा माथि रहेको तथ्यांक छ । यी संख्याका जेष्ठ नागरिकहहरूमध्ये ६०–७० उमेर समूह अझै पनि जुधारु किसिमले बौद्धिक एवम् श्रममूलक कार्यमा संलग्न भएको प्रशस्तै पाइन्छ । विभिन्न उत्पादनमूलक कार्य संलग्नताका हकमा उहाँहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरकफरक रहेको छ । हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल सन् २०२३ को तथ्याङ्कअनुसार ७१ दशमलव ७४ वर्ष रहेको पाइन्छ । हिमाल पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेशमा बसोबास गर्ने मानिसलगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानवको आयुलाई हावापानी, रहनसहन, आर्थिक स्थिति, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।

संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजनिक खुला ठाउँहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नका लागि जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई २०७९ मा संशोधन भई लागू भइसकेको अवस्था छ ।

पहिलेपहिले वृद्ध बा–आमा, हजुरबा, हजुरआमालाई माया, मानसम्मानका साथ आफ्नै घरमा पालनपोषण तथा हेरचाह गरिन्थ्यो तर आधुनिक जीवनशैलीले एकल परिवारको चाहना, स्वार्थीपना, रोजगारको व्यस्तता, विदेशी संस्कारको प्रभाव बसाइँसराइ, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, फिक्का नैतिक शिक्षा, राज्यको कमजोर कानुनी प्रक्रिया आदिले ज्येष्ठ नागरिक एक्लिँदै गएका छन् । समयको फेरबदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमाबाबुलाई केहीले आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खान, लाउन, बस्नसमेत नदिई घरैबाट निकालिएको अवस्था छ ।

राज्यले पनि जेष्ठ नागरिकलाई उचित किसिमको आवश्यक व्यवस्था मिलाउने प्रयास नगरेको भने होइन । जेष्ठ नागरिकको कानुनी अधिकार तथा विभिन्न संघसंस्था तथा निजीस्तरको प्रयास हेर्दा जेष्ठ नागरिकको क्षेत्रमा धेरै कार्य भएको त देखिन्छ । जेष्ठ नागरिकको ऐन, नीति, नियमावलीको प्रभावकारी कार्यान्वयनको पक्ष कमजोर भएको पाइन्छ । हुन त जेष्ठ नागरिक ऐन, २०७९ मा रेखदेख, पालनपोषण, जेष्ठ नागरिकमाथि अपराध गरे कानुनी व्यवस्था, छोटो दूरीको यातायात, औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्था छ । ७० वर्षमाथिकालाई जटिल रोगको उपचारमा एक लाख छुट, ७५ वर्षमाथिकालाई मृगौला र मुटुको रोगको निःशुल्क उपचार, कानुनी सहायता, कसुरमा छुटको व्यवस्था आदि नभएको भने होइन तर माथि उल्लेख गरेजस्तै प्रभावकारी कार्यान्वयनको अवस्था भने जति हुनुपर्ने हो त्यति देखिँदैन ।

आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु-याउने, खान लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुवैखाले ज्येष्ठ नागरिक ढल्किँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुव्र्यवहार गर्ने सन्तान घोर कलङ्कका पात्र बनेका छन् । जेष्ठ नागरिक दुव्र्यवहारबाट पीडित छन् ।

यसै सन्दर्भमा आर्थिक वर्ष २०७९/८० देखि ६८ वर्ष पूरा भएकालाई जेष्ठ नागरिक भत्ता दिइएको छ । यो सकारात्मक पक्ष हो । जेष्ठ नागरिकको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै संघीय संसद्ले जेष्ठ नागरिक ऐन संशोधन विधेयक पारित भएको समाचार बाहिर आएको पाइन्छ । सोअनुसार जेष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैतृक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय तहले हेरचाहको जिम्मा लिने वा हेरचाह गर्ने नातेदार वा हकवालालाई सम्पत्ति हस्तान्तरणको व्यवस्था विधेयकले गरेको छ । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्ति स्वामित्व स्थानीय सरकार मातहतमा समेत जान सकिने व्यवस्था गरेको छ । हकवाला नातेदारले हेरचाह नगरेमा नागरिकको संरक्षणको दायित्व स्थानीय तहलाई दिने व्यवस्था मिलाउन लागेको छ । ज्येष्ठ नागरिकको मुद्दा हेर्नको लागि न्याय परिषद्को छुट्टै इजलासको गठनको प्रस्तावको पनि प्रतिनिधि सभाले स्वीकार गरेको छ ।

ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउनु, ज्येष्ठ नागरिकका विषयलाई समानरूपमा सम्बोधन र व्यवस्थापन गर्नु, आधारभूत स्वास्थ्य सुविधा र पोषणको आवश्यक व्यवस्था गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुँदै जाँदा सोअनुसार सेवा सुविधा पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकाको ज्ञान, सिप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नु, उनीहरूको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु र उनीहरूका लागि उपयुक्त एवम् पर्याप्त दिवा सेवा केन्द्र, क्लब, औषधोपचारसहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतीको रूपमा रहेका छन् ।

संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सरकारको प्रतिबद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थरूपमा पालना गर्न सकिएको देखिँदैन । ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषयहरू हुन् । स्याहार र स्वास्थ्यजस्ता विषय विकासशील मुलुकमा चुनौतीको रूपमा रहेको छ ।

हाम्रोजस्तो देश जहाँ पारिवारिक आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलव्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाइको सामना गर्नुपर्ने अवस्था छ । सामान्यतयाः शारीरिक दुर्बलताबाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखासम्बन्धी समस्या, दम, छातीसम्बन्धी समस्या मुख्य देखिएका छन् । यीबाहेक मधुमेह, अल्जाइमर, रक्तचाप, मुटुसम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपाङ्पनजस्ता समस्याले सामान्यतया वृद्धवृद्धाहरू सताइएका हुन्छन् । यसका लागि ज्येष्ठ नागरिकका सबै सन्तानलाई सोबारे क्रियाशील बनाउनु अतिआवश्यक छ । सो क्रियाशील बनाउन स्थानीय सरकारको अझै महत्वपूर्ण भूमिका रहन्छ ।

ज्येष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले दुव्र्यवहार रोकी निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ती हुन्, घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनुपर्ने, साथै आफ्ना अग्रजहरूलाई सदैव मातृ देवो भवः, पितृ देवो भवःजस्ता आदर्श वाक्यको पालना गर्नुपर्ने, सरकारले समयमै वृद्धभत्तालगायतका अन्य सुविधाहरू उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा दिइएको सहुलियत प्रभावकारी कार्यान्वयन हुनुपर्ने, बेसाहारा र असक्त ज्येष्ठ नागरिकलाई विशेषभत्ता वा लालनपालनको आवश्यक व्यवस्था हुनुपर्ने, यातायात, स्वास्थ्य सेवा, स्वास्थ्य बिमाजस्ता सुविधा निःशुल्क उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, घर परिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिन आवश्यक छ ।

सरकारले उपलब्ध गराउने सुविधा विनाभेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने, सकेसम्म घरमै वृद्धभत्ता उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, जेष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चारमाध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रबन्धका लागि घरपरिवार वरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्दतिबारे प्रशिक्षित गर्न आवश्यक छ ।

स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाहरूलाई जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संग आदिजस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्यस्थिति सबलताका लागि रूचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रूचि र क्षमताअनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला जेष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्नका लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहँुच सुनिश्चित गर्नेजस्ता कुरामा विशेष ध्यान दिई संविधानले ज्येष्ठ नागरिकलाई दिइएको मौलिक हक प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । जो कोही सरोकारवालाले ज्येष्ठ नागरिकको उमेरलाई गणितीय हिसाबले मात्र लेखाजोखा गर्नुहुँदैन । आमाको पेटमा गर्भाधानदेखि बाल्यकाल, युवाकाल, वयस्क हुँदै वृद्धत्व उमेर मात्र छैन, बहुसंख्यक क्षमता र अनुभवको संगालो भरिएको हुन्छ । जन्मदेखि मृत्युसम्म सबैको यही बाटो हो भनी मनन् गर्ने हो भने आमाबाले प्रताडित हुनु अवहेलित र अपमानित जीवन बिताउनुपर्ने अवस्था नआई उचित जीवन बिताउन सक्षम हुनुहुनेछ । तबमात्र जुन महिनाको तेस्रो आइतबार मनाइने विश्व पिता दिवस, जुन १ मा मनाइने विश्व आमाबुबा दिवस, जुन १५ मा मनाइने विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस तथा विभिन्न नामले मनाइने दिवसले सार्थकता पाउने छ । लेखकः नेपालमा गुणस्तरीय जीवन विषयमा विद्यावारिधि तथा जेष्ठ नागरिकसम्बन्धी विभिन्न अध्ययन अनुसन्धानमा संलग्न हुनुहुनन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया