हिमालयन हाइड्रो एक्स्पो वैशाख दोस्रो साता हुने
काठमाडौं । आगामी वैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ आगामी वैशाख १२ देखि १४ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो गर्न लागिएको आयोजकले जनाएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले ऊर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको बताएको हो । सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा ऊर्जा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
‘भारतमा १० हजार मेगावाट, बंगलादेशमा पाँच हजार मेगावाट र १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिकरूपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ,’ कार्कीले भने, ‘नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ । यस्तो अवस्थामा जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।’ हाल २९ सय एक मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित एक सय ७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट ऊर्जा उत्पादन भइसकेको उनले बताए । यसैगरी ३३ सय ९७ मेगावाट बराबरका एक सय ३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका एक सय ३८ आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । यसैगरी करिब १९ हजार छ सय २३ मेगावाट बराबरका दुई सय ५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको इप्पनका उपाध्यक्ष आशीष गर्गले बताए ।
‘तथ्याङ्क एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको उर्जा उत्पादनको लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक छ’, उनले भने । यसलाई सघाउन पनि इप्पानले एक्स्पो आयोजना गर्न लागेको उनको भनाइ थियो । विभिन्न मुलुकका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्य, जलविद्युत्को बजार विस्तार र बाह्य लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने इप्पानमा महासचिव बलराम खतिवडाले बताए । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने योजना रहेको खतिवडाले बताए । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा सात वटा प्राविधिक सत्र तथा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिनेछ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डीलगायतका दुई सय स्टल रहने र तीमध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानको भनाइ छ ।
इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुला गरिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरू सहभागी हुनेछन् । हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरू एवम् व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछ । जलविद्युत्का लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान प्रदान हुने इप्पानको अपेक्षा छ । यस अघि सन् २०१७, २०१८ र २०२२ मा एक्स्पोको तीनवटा संस्करण सफलतापूर्वक आयोजना भइसकेका छन् ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ट्याग : #Page 8
ताजा अपडेट
- बञ्चरो प्रहार गरी २ जनाको हत्या
- सोमबार काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन
- नेपाल व्यवस्थापन संघद्वारा आयोजित प्रि बजेट छलफल सम्पन्न
- ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
- गोविन्द केसीको आमरण अनशन सुरु
- राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
- संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’
- मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया