Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिन्युरोडको मिलन सहकारी समस्यामा

न्युरोडको मिलन सहकारी समस्यामा


काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निक्षेपकर्ताहरूको निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । दुई वर्षदेखि साधारणसभा नगरेको सहकारीले अहिले प्रतिमहिना प्रतिबचतकर्ता बढीमा पाँच हजारको दरले बचत फिर्ता गर्दै आएको छ ।

न्युरोडको स्थानीय नेवार समुदायका मानिसहरू मिलेर सुरु गरेको सहकारीमा एक समय स्थानीय नेवार समुदायका मानिसहरूले कसले बढी पैसा बचत गर्ने भन्नेसम्मको प्रतिस्पर्धा भएको सहकारीमा अहिले भने तिनै मानिसहरू रुँदै हिँड्न बाध्य भएका छन् ।

कम्पनीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ, सीईओ दिनेशबज्र बज्राचार्य तथा कर्जाप्रमुख अनिल तुलाधरले आफ्नो निजी सम्पत्ति आर्जनमा संस्थाको निक्षेप प्रयोग गरेपछि संस्था झनै समस्यामा गएको बचतकर्ताहरूको आरोप छ ।

आफ्नो तथा आफ्ना नातेदारको नाममा कर्जा लिएर तथा कर्जा नै नलिई सहकारीमा जम्मा भएको निक्षेप घरजग्गा, सेयर कारोबारलगायतमा संस्थाका अध्यक्ष सीईओलगायतले प्रयोग गरेका थिए ।

‘आफ्नो निजी सम्पत्तिमा संस्थाको निक्षेप प्रयोग गरेर संस्थालाई समस्यामा पु¥याई अडिट रिपोर्टमा सबै ठीक छ भनेर देखाउनु नै शंकास्पद हो’, एक बचतकर्ताले भने, ‘सहकारीमा आउनुअघिसम्म सहकारीका सीईओ दिनेशबज्र बज्राचार्य तथा कर्जाप्रमुख दिनेश तुलाधरको जीवन सामान्य भए पनि अहिले एक्कासि माथिल्लो स्तरको भएको छ यो सबै हामी बचतकर्ताहरूकै बचतको दुरूपयोगले हो ।’

सहकारीमा हिंसालाई विश्वास नगर्ने बुद्धिस्ट समुदायहरूको बढी बचत रहेको र उनीहरू सहकारीमा आफ्नो बचत फिर्ता लिन आए पनि केही नबोली जानेगरेकाले अध्यक्ष श्रेष्ठलगायतलाई फाइदा पुगेको बताइएको छ ।

स्थानीयहरूले बुढेसकालको सहारा भनेर बचत गरेको र त्यसबाट आउने ब्याजबाटै घर चलाउँदै आएकोमा सहकारीले ब्याज तथा साँवा नै दिन छोडेपछि सबैभन्दा बढी यसैको ब्याजमा निर्भर रहेकाहरू चपेटामा परेका छन् ।

सहकारीले बचतकर्ताहरूको बचत फिर्ता दिन छोडेर उपचार समेत गर्न नपाएको गुनासाहरू आउन थालेपछि आर्थिक दैनिकका प्रतिनिधि सहकारीमा पुग्दा त्यहाँ बचतकर्ताहरूको भिड लागेको थियो ।

भिड लाग्नेहरू अधिकांश त्यसैबाट घरमा नुनतेलको जोहो गर्नेदेखि मिर्गौला रोगी, विभिन्न दीर्घरोगी भएकाहरू र त्यहीँबाट आफ्नो बचत लिएर औषधि उपचार गर्नुपर्नेहरू रहेका थिए ।

‘सहकारीले साँवाब्याज नदिएर उपचार गर्न नपाई मर्ने भइयो’, एक पीडितले आर्थिक दैनिकसँग भने‘ ‘दुई दिनपछि अप्रेसन छ, एक रुपैयाँ दिँदैन कसरी गर्ने होला ?’ अर्का एक पीडितले औषधि खाने पैसा समेत नभएर मर्नुपर्ने अवस्था आएको बताए ।

संस्थामा बचत फिर्ता लिन आउँदा संस्थाका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ, सीईओ दिनेशबज्र बज्राचार्य तथा कर्जाप्रमुख अनिल तुलाधार एकै पटक कहिले पनि नभेटिने र अध्यक्षलाई भने सीईओ, सीईओलाई भने कर्जाप्रमुख र कर्जाप्रमुखलाई भने अध्यक्ष तथा सीईओलाई भन्नुपर्ने भन्दै उम्कने गरेको पीडितहरूले बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया