Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिउखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत

उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत


महोत्तरी । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।

पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । उद्योगले पहिलो चरणमा १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको जनाएको छ ।

जिल्लाकै गौशाला–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले पनि ठीक समयमा भुक्तानी पाइँदा घरव्यवहार मिलाउन सजिलो भएको बताए । उद्योगले भुक्तानी सहज बनाएपछि किसान फेरि उखुखेतीतिर हौसिएका उनको भनाइ छ ।

भङ्गाहा–४ का किसान हीरालाल महतोले पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसुस गरेका बताए । पछिल्ला दुई तीन वर्षयता भुक्तानी क्रमशः सहज बन्दै आएपछि यस भेगमा उखुखेती फेरि बढ्दै गएको छ ।

२०७२ सालसम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो । त्यसयता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक सङ्घ महोत्तरी र उखु उत्पादक महासङ्घ लगायतको निरन्तरको सङ्घर्षको परिणमले पछिल्ला दुई÷तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखुखेती अलिअलि गरेर बढ्दै गएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।

जिल्लामा यसपाली उखुखेती सात हजार बिघाभन्दा बढीमा रहेको कुशवाहाको भनाइ छ । दुई साता नबित्दै तौल भएको उखुको पूरै भुक्तानी पाइएपछि उद्योगप्रति बढेको विश्वासले अहिले सर्लाही, रौतहट, बारा र धनुषाका किसानले पनि एभरेष्ट चिनी उद्योगलाई उखु दिन थालेका छन् ।

पोहोरदेखि नै एभरेष्ट चिनी उद्योगले भुक्तानी सहज बनाएको सर्लाहीको कविलासीका किसान राजनारायण महतोले प्रतिक्रिया दिए । उद्योगले भुक्तानी सहज बनाएसँगै आफूहरुका गुनासा सुन्ने, कटान पुर्जी वितरण सरल बनाउने, उद्योग परिसरमा उखु तौलाउन पुगेका किसान र सवारीसाधनको व्यवस्थापन तथा परिसरभित्र खानेपानी र शौचालयको व्यवस्थापनमा पनि उद्योगले यथाशक्य प्रबन्ध गर्दै लगेको किसानहरु बताउँछन् ।

यसपाली गत वर्षभन्दा चार लाख क्विन्टल क्रसिङ बढ्ने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाको भनाइ छ । बाह्य मुलुकबाट चिनी आयात नगरिए मुलुकमै उत्पादित चिनी बिक्ने र यसले किसानको भुक्तानीमा अझ सहजता ल्याउने शुक्लाको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया