Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी ठगहरूको बिगबिगी !

सहकारी ठगहरूको बिगबिगी !


काठमाडौं । सदन, सडक र सत्ता जताततै सहकारीका ठगहरूको बिगबिगी देखिएको छ । सहकारीबाट ठगिएका बचतकर्ताहरू महिनौँदेखि सडक आन्दोलनमा होमिएका छन् र सरकारमा हुनेहरूले उनीहरूलाई जसरी भए पनि झुक्याउने र अलमल्याउने नीति लिँदै आएका छन् ।

पछिल्लो समय सदनमा पनि सहकारी ठगहरूकै बारेमा चचापरिचर्चा हुन थालेपछि सरकारले सदन बन्द गरेर विरोधीहरूको मुख बन्द गर्ने कोसिस गरेको छ । मुलुकभरमा लगभग बचत तथा ऋण सहकारी र बहुउद्देश्यीय सहकारी गरी ३० हजार सहकारी संस्था रहेका छन् । ती सहकारीमा देशभर एक करोडभन्दा बढी जनता सदस्य रहेका छन् ।

ती ३० हजार सहकारी संस्थामध्ये अधिकांश सहकारीका सञ्चालकले जनताको बचत रकम दुरूपयोग गरेर आफ्नो र आफन्तका नाममा व्यक्तिगत सम्पत्तिमा लगानी गरेका हुन् । त्यसरी सहकारीमा जनताको बचत रकम दुरूपयोग गरेर आफ्नो र आफन्तका नाममा लगानी गरेर छोटो समयमा धनी बनेका सत्ता, शक्ति र राजनीतिक नेतृत्वको वरिपरि झुम्मिएर बसेका छन् । उनीहरूसँगको सहकार्यले सहकारी संस्थाहरू कालोधनको कारोबार गर्ने अखडामा परिणत भएका छन् ।

तत्कालीन एमाले सरकारले सहकारीलाई तीनखम्बे अर्थनीतिको एउटा खम्बा मानेको थियो र सहकारीको कारोबारलाई आँखा चिम्लिएर अघि बढाएको थियो । एउटै सहकारी संस्थामा ४० हजारसम्म सदस्य संख्या बनाउन दिएको थियो तर त्यसको अनुगमन नै थिएन । त्यही कारण वाणिज्य बैंकका लगानीकर्ताहरूले समेत सहकारी खोलेर चलाएका थिए ।

नियमन नभएका कारण सहकारीहरूले बैंक फाइनान्सले जस्तै गरी घरजग्गामा समेत लगानी गरेका थिए । सहकारीका सञ्चालकहरूले सहकारीका नाममा ‘सिस्टर अर्गनाइजेसन’हरू खोलेर सकेसम्म बदमासी गरेका छन् ।

उनीहरूले स्कुल, कलेज, अस्पताल, इन्भेस्टमेन्ट कम्पनी केही खोल्न बाँकी राखेका छैनन् । सहकारीमा स्वदेशी नागरिकबाट मात्र होइन विदेशी नागरिकहरू खासगरी भारतीय नागरिकहरूसँग समेत बचत संकलन गरिएको छ । नियमअनुसार विदेशी नागरिकलाई सहकारीको सदस्य बनाउन मिल्दैन तर यहाँ के मिल्ने के नमिल्ने कसैले ख्याल गरेको पाइँदैन । यहाँसम्म कि तिनै भारतीय नागरिकहरूले नै नागरिकतालगायतका नक्कली कागजात बनाएर सहकरी सञ्चालन गरेको पाइएको छ ।

काठमाडौंको न्युरोडमा रहेको एयरटेल सहकारी त्यसको एउटा उदाहरण हो । भारतीय नागरिकसँग लिएको बचत फिर्ता गर्नेबेलामा सम्पत्ति शुद्धीकरण लगाइदिन्छु भनेर धम्क्याएर रकम ठग्ने सहकारी र त्यसका पीडितहरू कुलेश्वरबाट पसेर बाङ्गेमुडासम्म खोज्ने हो भने जताततै पाइन्छन् ।

आफूलाई चन्द्र ढकालको भतिजो बताउने सागर ढकालले एसएनएस सहकारीको नेतपालमा मात्रै १० वटा शाखा खोलिएको थियो । विदेशमा अर्थात् दुवईमा त्यही सहकारीको संकलन केन्द्र खोलिएको थियो । नियमअुनसार सहकारीको विदेशमा शाखा खोल्न पाइँदैन । ढकालले सञ्चालन गरेको एसएनएस सहकारीको स्थानीय तहले नवीकरण गर्न कागजपत्र बचत लिएर आफ्नो बाटो लाग्दा बचतकर्ताहरूको रकम सर्लक्कै डुबेको छ ।

उनले १० वटा शाखालाई मासिक १० करोड संकलन गर्न लक्ष्य तोकेका थिए । तर, अहिले उनी संस्था बन्द गरेर हिँडेपछि बचतकर्ताकहाँ गुहार माग्न जोन अन्यौलमा छन् । काठमाडौंका रैथाने धनी मानिसहरूले खोलेको लसकुश सहकारीमा त्यही अवस्था छ । मन्त्री भइसकेका मानिससँग सहकारीको ठगी जोडिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्कर्मालाई सहकारी ठगीको कुरा गरेको मन पर्दैन । उनी यो विषयमा प्रवेश गर्न चाहँदैनन् ।

कांग्रेसले संसद्मा सहकारी ठगीको कुरा जोडतोडले उठाउने जमर्को गरेको छ तर प्रचार विभाग त्यसमा लाग्नै चाहँदैन । किनकि उनी पनि सुनसरीको एउटा सहकारी ठगीको घटनामा पारिवारिकरूपमा जोडिएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेको वीपी पुत्र डा. शशांक कोइरालालाई पनि सहकारी ठगीको कुरा उठाएको मन पर्दैन । त्यही भएर अरु कराए पनि उनी मौन छन् । त्यसका पछाडि पनि सहकारी ठगीको घटना जोडिएको छ । कान्तिपुर सहकारी र पशुपति सहकारीका सीवी लामासँग बीपीपुत्र डा. शशाङ्कको विशेष सम्बन्ध रहेको छ । डा. शशांकले आफ्नो स्वार्थ मात्र हेरेर ती लामालाई प्रदेशसभाको निर्वाचनमा अघिल्लो पटक काभ्रेबाट उम्मेदवार नै बनाएका थिए । सबैलाई थाहा छ कि सीवी लामा त्यो हैसियतको कांग्रेस होइन तर महामन्त्रीको आशीर्वाद पाएपछि उसले पनि पायो । अहिले लामा फरार रहेका छन् ।

लामाले डा. शशांकको कमजोरी समातेर लगानी गरेका रहेछन्, त्यही भएर उनी सहकारी ठगीका बारेमा मुख खोल्नै चाहँदैनन् । दुईवटा सहकारीमा गर्दा १० अबभन्दा बढी ठगेका लामा अहिले खाडीतिर लुकेर बसेका छन् । लुकेर बस्दा ठगेको रकम पचाउन पाइएला भन्ने उनीहरूको आशा छ ।

गृहमन्त्री रवि लामिछानेका साझेदार जीबी राई पनि सहकारी ठगेर भूमिगत भएका छ् । उनी पक्राउ पर्दा पोल खुल्ने डरले गृहमन्त्री लामिछानेले नै भगाएको आशंका छ । गृहमन्त्रीकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं श्रम मन्त्री डीपी अर्याललगायत रास्वपाका अन्य थुप्रै नेता पनि सहकारी ठगीमा जोडिएका छन् ।

त्यही कारण उनीहरू सहकारी ठगीलाई छानबिनको विषय बनाउन अस्वीकार गरिरहेका छन् । छानबिन पनि गृहमन्त्री लामिछानेअन्तर्गतको प्रहरी प्रशासनबाट आफूअनुकुल परिणाम निकाल्ने गरी गराउन उनीहरूको जोड रहेको छ ।

गृहमन्त्रीकै संलग्नताको प्रश्न उठेपछि क्यापिटल बचत तथा ऋण सहकारीका रामचन्द्र शर्मा, गौतमश्री बहुउदेश्यीय सहकारीका रामबहादुर गौतम, आधारभूत सहकारीको सविना वाग्ले, इमेज सहकारीका देवकुमार नेपाली, नयाँबजारमा रहेको लालीगुराँस सहकारी, कल्याण उपकारका लीलाबहादुर गुरुङ तथा नेकपा माओवादी केन्द्रकै शक्तिबहादुर बस्नेतलगायत हजारौँले राहत महसुस गरेका छन् । प्रहरीले छानबिन गरेको भए बस्नेत समेत ठगीमा पर्ने सम्भावना रहेको समाचारहरू आइरहेका छन् ।

त्यसो त कल्याण उपकार सहकारीका लीलाबहादुर गुरुङलाई प्रहरीले पक्रेको चर्चा चले पनि प्रहरीले यस विषयमा जानकारी दिन आवश्यक ठानेको छैन ।

सुमेरु सहकारीका भरत महर्जन कुनै देशको अवैतानिक महावाणिज्य दूत बनेर कूटनीतिक नम्बर प्लेट हालेको गाडी चढ्थे । कांग्रेसका मीनकृष्ण महर्जनहरूले उनलाई बोकेर हिँडेका थिए । कांग्रेसको नेतृत्व सहकारी ठगीको रकम खर्च समानुपातिक सांसद हुने दाउमा रहेका महर्जन १२ अर्बको सुमेरु सहकारी ठगेर अहिले लन्डनमा लुकेर बसेका छन् । राष्ट्रिय वाणिज्य बैंकको पूर्वअध्यक्ष बलराम पाठक गतिशील सहकारी ठगेर सहरभित्रै लुकीलुकी हिँडिरहेका छन् । बानेश्वरको कामद सहकारी ठगको एक पाखण्डी गेरु बस्त्र लगाएर अहिले राप्रपाको सडक आन्दोलनमा कुर्लिँदै हिँडेको देखिन्छ ।

श्री लालीगुराँस सहकारी ठगेर किर्नाझैँ मोटाएको सुरेन्द्र भण्डारी अहिले बालकृष्ण खाँडजस्तै खुम्चिँदै गएको छ । भण्डारीसँग मिलेर अहिलेका अर्थमन्त्री वर्षमान पुन, ओनसरी घर्ती, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सरदसिंह भण्डारी, समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसका पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिजस्ता प्रभावशाली व्यक्तिहरूले श्री लालीगुराँस सहकारीमा आफूअनुकूल धन्दा गरेका थिए ।

कारबाहीहरूका परेका शिव शिखर सहकारीका केदार शर्माले विभिन्न कम्पनी खोलेर सहकारीको रकम दुरूपयोग गरेका थिए । तीमध्ये एउटा कम्पनीको नाममा हिमालयन बैंकका लगानीमा फर्चुनर नामको महँगो गाडी किनेर श्रीमतीलाई चढ्न दिएका थिए । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको त्यो गाडीमा आँखा परेपछि सम्पत्ति शुद्धीकरणको नाममा गृह मन्त्रालय तानेर आफूखुसी गुडाइयो ।

केदारनाथले सहकारीको २२ अर्ब रुपैया जीवी राईको समूहले १६ अर्ब, रवीन्द्र चौलागाईले १० अर्बभन्दा बढी ठगेको आरोप छ । अहिलेसम्म पनि सहकारीमा जनताको कति रकम ठगिएको छ भन्ने एकिन छैन । किनकि त्यसबारेमा छानबिन सत्ताधारीहरूलाई जोगाउने छानबिन गर्नमै सीमित रहेका छन् । सहकारी विकृतिको सूत्राधार नेकपा एमाले हो र त्यसका अध्यक्ष केपी ओलीले त सहकारीले यतिविधि ठगिसक्दा पनि सहकारीलाई बदनाम गर्ने षड्यन्त्र भएको सार्वजनिक अभिव्यक्ति दिएर दुराशय व्यक्त गरेका छन् ।

अहिले नेपालमा चलेका ठगीहरूमध्ये सबैभन्दा ठूलो ठगी सहकारीको ठगी हो । सवा करोड जनता विदेशमा रहेको मुलुकमा भएका पौने दुई करोड जनतामध्ये एक करोडभन्दा बढी जनता सहकारी ठगीमा पारेका छन् । विदेशमा काम गरेर पठाएको रकम समेत सहकारीका ठगीमा परेको छ । त्यसरी ठग्ने सहकारीहरूको नाइटो सत्तासँग जोडिएको छ । त्यही कारण सत्ताधारी र राजनीतिक दलका नेताहरू सहकारी ठगीको घटना छानबिन गर्न आनाकानी गरिरहेका छन् । यस्तोसम्म देखिएको छ कि सहकारी ठगीको छानबिनको कुरो उठ्दा राजनीतिक नस्ल नखुलेका काठमाडौंका मेयर बालेन्द्र साहजस्तालाई समेत छटपटी हुन थालेको छ । गृह मन्त्रालय धाएर होम डेलिभरी सेवा दिनपछि परेका छैनन् ।

अहिले जता गयो त्यतै सहकारी ठगहरूकै हाँको डाँको चलेको छ । सहकारीका ठगहरूकै बिगबिगी छ । विचरा ठगिने जनता निरिह बनेका छन् । प्रहरी प्रशासन डा. अदालत सबै मौन रमिते बनेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया