Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजिरी आनुवांशिक स्रोत केन्द्रबाट दैनिक चार सय लिटर दूध उत्पादन

जिरी आनुवांशिक स्रोत केन्द्रबाट दैनिक चार सय लिटर दूध उत्पादन


दोलखा । गाई आनुवांशिक स्रोत केन्द्र जिरीले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने गरेको जनाएको छ । सो केन्द्रको फार्ममा हाल उन्नत जातका विदेशीसहित एक सय २० वटा गाई तथा साँढे रहेको कार्यालयका प्रमुख डा गोपाल गिरीले जानकारी दिए ।

कार्यालय प्रमुख डा गिरीका अनुसार यहाँको दूध सदरमुकाम चरिकोटका होटलहरूमा खपत हुँदै आएको छ । आनुवांशिक स्रोत केन्द्र जिरीमा चार वटा कोरियन गाई समेत छन् । कोरियाबाट ल्याइएका चारवटा गाईमध्ये एउटा जेठ ब्याउने छ । उक्त गाई ब्याएपछि दूध उत्पादन वृद्धि हुने डा गिरीले बताए । होलिस्टन जातको उक्त गाईले एक पटकमा ४० लिटरसम्म दूध दिने उनको भनाइ छ । आफ्नै चरण क्षेत्र रहेको यस केन्द्रमा गाईको आहारको लागि विभिन्न किसिमको घाँससमेत लगाइएको छ । दूध तथा मासुका लागि पालिने जनावरलाई सुख्खा महिनामा अत्यन्तै लाभकारी मानिने पोषणयुक्त जमारे घाँस लगाइएको जनाइएको छ ।

यस्तै, कार्यालयले गत वर्षको भन्दा यस वर्ष आन्तरिक आम्दानी पनि वृद्धि हुने जनाएको छ । गत वर्ष ८९ लाख आन्तरिक आम्दानी गरेको केन्द्रले यस वर्ष एक करोडभन्दा बढी आम्दानी गर्ने अनुमान गरेको कार्यालय प्रमुख डा गिरीले बताए । केन्द्रले गत माघमा १८ वटा उन्नतजातको गाई तथा साँढे बिक्रीबाट आठ लाख ४४ हजार आम्दानी गरेको थियो । २०७५ सालसम्म जिरी पशु विकास फार्मको रूपमा रहेको उक्त फार्मलाई त्यसपछि भने गाई आनुवांशिक केन्द्रको रूपमा विकास गरिएको थियो । विशेषगरी जर्सी गाईको उन्नत नश्लका बाच्छाबाच्छी उत्पादन गर्ने गरिएको केन्द्रले जनाएको छ । स्रोत केन्द्रमा गाईको जेनेटिकलगायतका सबै अध्ययन, अनुसन्धान र नश्ल सुधारलगायतका काम गरिनेछ । यस्तै, केन्द्रले उन्नत जातका बंगुरका पाठापाठी पनि उत्पादन गर्ने गरेको छ । स्रोत केन्द्रमा ड्युरेक, योर्कसायर, लेन्डरेस जातका बंगुरका शुद्ध नश्लका पाठापाठी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया