Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि उत्पादनमा पूर्ण अनुदानको व्यवस्था गर्न माग

कृषि उत्पादनमा पूर्ण अनुदानको व्यवस्था गर्न माग


विराटनगर । कृषि उपजको उत्पादनमा कृषकलाई पूर्णरूपमा अनुदान व्यवस्था गर्न कृषकहरूले माग गरेका छन् । किसानलाई पूर्ण अनुदानको व्यवस्था नभएसम्म नेपाली उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना भएको कोशी प्रदेशका तरकारी उत्पादक र व्यवसायीहरू बीचको छलफलमा तेजस्वी कृषि तथा च्याउ उद्योग सञ्चालक दिनेश सापकोटाले अहिले पनि कृषकहरूले बीउ, मलखाददेखि बजारीकरणमा समस्या भोगिरहेको बताए । उनले कृषि क्षेत्रको विकासको लागि वास्तविक कृषकको क्षमता विकासमा जोड दिनुपर्ने बताए । मोरङको बुढीगंगा गाउँपालिकाको मुडेरीमा भएको सो छलफलमा तरकारी व्यवसायी राजेश यादवले पनि तरकारीको मूल्य शृङ्खलामा कृषकहरूले बजारको मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै गुणस्तरमा समेत समस्या रहेको बताए । कृषक विश्व पराजुलीले कृषि फार्मको अवधारणासहित नवीनतम सोचले यस क्षेत्रमा जोडिन चाहने युवाहरूका लागि राज्यले खेतीयोग्य जग्गा उपलब्धताको लागि सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।

स्थानीय तरकारी खेतीका कृषक सुशीला चौधरीले आलु काउली उत्पादन गरेर विराटनगरका हटिया बजारमा बिक्री वितरण गर्दै आइरहेको बताइन् । तर भारतसँगको खुला सिमानाका कारण आयातित तरकारीहरूले गर्दा आफूले उचित मूल्य पाउन नसकेको उनको गुुनासो थियो । महासंघ कोशी प्रदेशले कृषि क्षेत्रको व्यावसायीकरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको जनाएको छ । कार्यक्रममा कोशी प्रदेशका कृषकदेखि स्थानीय कृषि उपज उत्पादक र व्यवसायीहरू उल्लेखनीय सहभागिता रहेको थियो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया