Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘सहकारी समस्यामा आउँदा राज्यले सहयोग गरेन’

‘सहकारी समस्यामा आउँदा राज्यले सहयोग गरेन’


काठमाडौं । सहकारीमा समस्यामा आउँदा राज्यले सहयोग नगरेको सहकारी अभियान्ताहरूले गुनासो गरेका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नुपर्ने बताए ।

बागमती प्रोस्कुनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा आयोजित कार्यक्रममा उनले कोरियालगायतका कतिपय देशहरूले सहकारीमा समस्या आउँदा सरकारले सहयोग गरेको बताए । संकटको समयमा राज्य र अभियानसँगै जाने हो भने अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो । समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरू बैंकभन्दा पनि राम्रोसँग सञ्चालन भइरहेको उनको दाबी छ ।

सरकारी कर्मचारी र जनप्रतिनिधिहरूमा सहकारीप्रतिको बुझाइमा एकरूपता नहुँदा पनि समस्या आएको उनले बताए । विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिकरूपान्तरण गरेको भन्दै उनले नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिकरूपान्तरण गर्न सक्ने दाबी गरे । सहरी क्षेत्रमा रहेका केही ठूला र सहकारी मूल्य, मान्यता सिद्धान्त बाहिर सञ्चालित सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए । बदमास गर्ने सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्नसके सहकारीप्रति आम विश्वास बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काले सहकारीमाथि चौतर्फीरूपमा आरोप लागेको बताए । सहकारीलाई हेर्ने, विश्लेषण गर्ने र सहकारीको अवस्थाको रूपमा सही विश्लेषण समेत नभएको उनको गुनासो थियो । ‘सबै सहकारी खराब छैनन् । केही सहकारीहरूबाट गलत काम पनि भएका छन् । सबैलाई एकै ठाउँमा राखेर हेर्न मिदैन,’ उनले भने । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी संस्थाहरूको वित्तीय विश्लेषणको बारेमा प्रशिक्षण दिएका थिए । लेखा परीक्षकको युडिएन नम्बरबाट सहकारी संस्थाको प्रतिवेदनमा उल्लेख भएको वित्तीय विवरण वास्तविक छ कि छैन भनेर पत्ता लगाउन सकिने सीईओ गुरागाईँले बताए ।

कार्यक्रममा बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले कुल बचतमा ३० प्रतिशत माथि नियमित बचतको हिसा रहेका सहकारी संस्थामा सामान्य अवस्थामा समस्या नआउने बताए । दिगो संस्था निर्माण गर्न नियमित बचत कम्तीमा ३० प्रतिशत, धन सिर्जना गर्ने बचत कम्तीमा १५ प्रतिशत, आवधिक बचत बढीमा २० प्रतिशत र कारोबार बचत ३५ प्रतिशत हुनुपर्ने दाहालले जानकारी दिए । सहकारी संस्था सदस्यमा आधारित व्यवसाय भएकाले कुल सदस्यमध्ये ३३ प्रतिशतले संस्थाबाट ऋण उपभोग गरेको हुनुपर्ने उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया