Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलसुन खेतीबाट राम्रो आम्दानी

लसुन खेतीबाट राम्रो आम्दानी


दोलखा । लसुनलगायतका नगदे खेतीबाट यहाँका किसानहरूले राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमै नगदे खेती लसुनबाट राम्रो आम्दानी हुने भएकाले किसानहरू लसुन खेतीतर्फ आकर्षित भएका हुन् ।

चिसो–तातो दुवै हावापानीमा लसुन सजिलै फस्टाउने र तुसारो पनि सहन सक्ने भएकाले यो खेती राम्रो भएको बैतेश्वर–५ लप्सेका स्थानीय किसान रुद्रबहादुर खत्रीले बताए । लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भए पनि यहाँको लेकदेखि बेँसीसम्म राम्रो लसुन उत्पादन हुने गरेको छ । वैतेश्वर गाउँपालिका–५ निम्कोट लप्सेका ५८ घरधुरीले लसुन खेती गरेका छन् । उनीहरूले गत वर्ष छ लाख रुपैयाँ बराबरको लसुन बिक्री गरेका थिए । यस वर्ष मूल्यसँगै उत्पादन पनि बढेकाले १० लाख रुपैयाँ बराबरको लसुन उत्पादन भएको किसान खत्रीले बताए ।

निम्कोट लप्सेमा भूकम्पअघि फाट्टफुट्ट घरहरू थिए । त्यो समय लसुन, आलुलगायतको नगदे खेती गर्ने किसान पनि कममै थिए । तर भूकम्पपछिको बस्ती स्थानान्तरणले गाउँमा घर संख्या बढेसँगै व्यावसायिक कृषि गर्नेको संख्यामा पनि वृद्धि भएको छ । हाल लप्सेका प्रत्येक घरमा लसुन, आलुलगायत बेमौसमी तरकारी तथा फलफूलको खेती हुन थालेको स्थानीय कृष्णबहादुर राउत बताउँछन् । उनले तीन वटा सिजनमा गरेर तीन लाख रुपैयाँ बराबरको आलु र लसुन तथा अन्य नगदे तरकारी बिक्री गरेको बताए । यहाँका किसानहरूले ३० हजारदेखि तीन लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार यहाँ व्यावसायिकरूपमा लसुन खेती गर्ने किसान २५ जना छन् ।

निम्कोट लस्पेबेँसी नगदे खेतीको हिसाबले उर्वर भूमि रहेको उनले सुनाए । नगदे खेतीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने उनको भनाइ छ । यो वर्ष आफूले सात क्विन्टल जति लसुन उत्पादन गरेको बताए । धार्नीको तीन सय ३० रुपैयाँका दरले घरबाटै लसुन बिक्री भएको उनले सुनाए । उनले ६० हजार रुपैयाँ बढीको आलु पनि बिक्री गरिसकेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया