काठमाडौं, नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फन्डका इकाइ मंसिर नौ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्काशन तथा बिक्री गर्न अनुमति दिएसँगै फन्डका इकाइ बिक्रीमा आउन लागेका हुन् ।
कुल निष्काशन गरिने १० करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाइ सुरक्षित राखिनेछ । यसमध्ये कोष प्रवद्र्धक नबिल बैंकका लागि १४ प्रतिशत अर्थात् एक करोड ४० लाख इकाइ र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङका लागि एक प्रतिशत अर्थात् १० लाख इकाइ छुट्याइएको छ । बाँकी आठ करोड ५० लाख इकाइ भने सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम एक सय इकाइदेखि अधिकतम एक करोड इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
इकाइ खरिद गर्न चाहने लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन् । त्यसैगरी, सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस योजनामा इकाइ खरिदका लागि छिटोमा मंसिर १४ गतेसम्म र ढिलोमा मंसिर २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।