दोलखा । पानी नपर्दा दोलखाका किसानहरुलाई रोपाइँ गर्न समस्या भएको छ । असारको पहिलो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाको तल्लो क्षेत्रका अधिकांश टाँडी खेतमा धान रोपाइँँ सुरु सकेको छैन ।
धानको उर्वर क्षेत्र मानिने तामाकोशी, वैतेश्वर र मेलुङका फाँट तथा बेँसी क्षेत्रका खेतमा रोपाइँ हुन नसकेको हो । लामो समयदेखि पानी नपरेपछि किसानहरू चिन्तित बनेका छन् भने खेतीमा पनि खडेरीको प्रत्यक्ष असर देखिन थालेको छ । वैशाखको अन्तिम सातापछि उल्लेख्य वर्षा भएको छैन । जेठ महिनामा सामान्य वर्षा भए पनि खेतीका लागि पर्याप्त नभएको कारण धानको बिउ नै सुक्न थालेको किसानहरू बताउँछन् । वैतेश्वर–२ की स्थानीय कल्याणी थापाले लामो समयदेखि खडेरी परेकाले खेतमा राखिएको धानको बीउ सुक्न थालेको बताइन् । उनका अनुसार बारीमा छरिएको कोदोको बिउ समेत उम्रिन सकेको छैन । चौरबारी र सुत्ला च्याप्ने बेलाका मकैबाली समेत ओइलाउन थालेको उनले बताईन् । ‘एक महिनाभन्दा बढी समयदेखि राम्रो पानी परेको छैन, धानको बीउ जोगाउनै मुस्किल भइरहेको छ,’ उनले भनिन् ।
खडेरीको असर धान र मकैमा मात्र सीमित छैन । वैतेश्वरका थापागाउँ, टार, खडिस्वारा, पाइले, नाम्दु र काब्रेलगायतका क्षेत्रमा लगाइएका मौसमी तरकारी तथा फलफूल खेतीमा समेत पानीको अभाव देखिएको छ । किसानहरूले लगाएका काँक्रा, घिरौँला, फर्सी, बोडी, सिमी, गोलभेडा लगायतका तरकारी ओइलाउन थालेका छन् । फलफूलका बिरुवामा समेत असर देखिन थालेको छ । त्यसैगरी तामाकोशी गाउँपालिकाका डडुवा, भिरकोट, कालिदहलगायतका बस्तीमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको स्थानीय लक्ष्मण केसीले बताए । जिल्लाका गोपी, लप्से, काब्रेबेँसी, डडुवा, भिरकोट, छाप, मार्बु, मेलुङ, बसेरी र बैतीलगायतका प्रमुख बेँसी तथा टाँडी खेतमा सिमसार क्षेत्र बाहेक अन्यत्र रोपाइँँ सुरु हुन सकेको छैन । यहाँ आकाशे पानी र भेलबाढीको भरमा खेती गर्नुपर्ने भएकाले वर्षा नहुँदा खेतहरू अझै बाँझै रहेका छन् ।
वैतेश्वर–५ का किसान राम्जी दाहालले समयमा नै रापाईँ नगरे उत्पादन घट्ने बताउँछन् । ‘समयमै पानी नपरे धान उत्पादनमा ठूलो गिरावट आउन सक्छ, अहिले किसानहरू निकै चिन्तित छन्,’ उनले भने । समयमै पर्याप्त वर्षा नभए धान, मकै, कोदो, तरकारी तथा फलफूल उत्पादनमा ठूलो क्षति पुग्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् । अहिले दोलखाका किसानहरू आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा छन् ।