दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाका नागरिकले जग्गासम्बन्धी कामका लागि सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । गाउँपालिकाले साउनदेखि आफ्नो प्रशासनिक कार्यालय पाँडुडाँडाबाटै नापी तथा मालपोतअन्तर्गतका भूमि तथा प्रशासन सेवा सञ्चालन गर्न लागेको हो ।
सेवा सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा गरेको गाउँपालिकाले जनाएको छ । वर्षौँदेखि स्थानीयले जग्गा नापजाँच, कित्ताकाट, नामसारी, नक्सासम्बन्धी प्रक्रिया तथा जग्गा रोक्का मालपोत र नापीसम्बन्धी सेवा लिन चरिकोटस्थित कार्यालय पुग्नुपर्ने बाध्यता थियो । गाउँपालिकाले सेवा सञ्चालनका लागि आवश्यक कार्यालय व्यवस्थापन गरेको र जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिएको जनाएको छ । अपुग कर्मचारी गाउँपालिकाबाटै व्यवस्थापन गर्नेगरी सेवा विस्तारको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए । स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई आफ्नै गाउँबाट सहज रूपमा सरकारी सेवा उपलब्ध गराउनु भएको बताउँदै अध्यक्ष लामाले सोहीअनुसार भूमि व्यवस्थापन तथा प्रशासनिक सेवा विस्तार गरिएको उल्लेख गरे ।
उनका अनुसार स्थानीयले सानो–सानो जग्गासम्बन्धी कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले लामो समयदेखि पहल गर्दै आएको थियो । अब साउन पहिलो सातादेखि पालिकाबाटै सेवा प्रवाह सुरु भएपछि नागरिकले धेरै सहजता महसुस गर्ने उनको विश्वास छ । ‘गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई व्यवहारमा उतार्ने हाम्रो प्रयास हो । स्थानीय सरकारले दिन सक्ने सेवा नागरिकको घर आँगनमै पु¥याउनुपर्छ भन्ने मान्यताअनुसार भू–सेवा सञ्चालन गर्न लागेको छौँ’, उनले भने । वैतेश्वर गाउँपालिकाका अमीन राजेश गिरीका अनुसार गाउँपालिकाको प्रशासनिक भवनको भुइँतलामा रहेका चारवटा कोठामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहको लागि आवश्यक लेआउटसहितको पूर्वाधार तयार गरिएको छ । नापी तथा मालपोत कार्यालयका लागि आवश्यक फर्निचर, उपकरण, अभिलेख व्यवस्थापन, इन्टरनेट तथा सेवा सञ्चालनका आधारभूत तयारी पूरा भइसकेको उनले जानकारी दिए ।
अब हाल नापी कार्यालय चरिकोट र मालपोत कार्यालय चरिकोटबाट उपलब्ध हुँदै सेवाहरू पालिकाबाटै प्रवाह हुनेछन् । यसबाट नागरिकले एउटै कामका लागि पटक–पटक चरिकोट धाउनुपर्ने, कागजात मिलाउन धेरै दिन कुर्नुपर्ने तथा अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । भूमि व्यवस्थापन तथा नापी सम्बन्धी सेवा सञ्चालन गर्ने दोलखामा वैतेश्वर गाउँपालिका पहिलो स्थानीय तह बन्नेछ । वैतेश्वर गाउँपालिकाको यो पहल दोलखाका अन्य स्थानीय तहका लागि समेत उदाहरणीय बन्न सक्ने अपेक्षा गरिएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि भूमि व्यवस्थापन तथा प्रशासन सेवा पालिकामै लैजान लागेको मालपोत तथा नापी कार्यालयले जनाएको छ ।