दोलखा । दोलखाको वैतेश्वर र मेलुङ गाउँपालिकामा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) अन्तर्गतका कृषि, पशुपालन र पोषण कार्यक्रमबाट २२० वटा समूह प्रत्यक्ष लाभान्वित भएका छन् ।
फ्यानसेपले विगत दुई वर्षदेखि दुवै स्थानीय तहमा घरबारी पोषण बगैँचा, कृषि उत्पादन, पशुपालन प्रवर्द्धन तथा पोषण सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल वैतेश्वर गाउँपालिकामा १ सय १६ र मेलुङ गाउँपालिकामा १ सय ४ समूहमार्फत विभिन्न गतिविधि सञ्चालन भइरहेको फ्यानसेपका पशुपालन उत्पादन विशेषज्ञ कृष्णबहादुर लामिछानेले जानकारी दिए । कार्यक्रमअन्तर्गत वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका १७ महिलालाई समेटेर घरबारी पोषण बगैँचा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमपछि स्थानीय महिलाले आफ्नै घरआँगनमा मौसमी तथा पोषिलो तरकारी उत्पादन गर्न थालेका छन् भने बजारमा निर्भरता घटेको छ । घरमै उत्पादन भएका ताजा तरकारीको प्रयोगसँगै रैथाने खाद्य परिकारलाई प्राथमिकता दिने अभ्यास पनि बढेको छ । वैतेश्वर गाउँपालिकामा १० वटा समूहमार्फत प्रति समूह पाँच लाख रुपैयाँ बराबरको घरबारी पोषण बगैँचा तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सानो लगानी भएपनि कार्यक्रमले महिलाको उत्पादन क्षमता, आत्मविश्वास र पोषणसम्बन्धी चेतनामा उल्लेखनीय वृद्धि गरेको उत्कृष्ट पोषण सुधार समूहकी सचिव मालती मिजारले बताइन् ।
वैतेश्वर गाउँपालिकाका पोषण प्राविधिक शिवहरि सेढाईँका अनुसार गाउँपालिकामा कृषि क्षेत्रका ४३, पशुपालनका ३७ र पोषणका ३६ गरी कुल १ सय १६ समूहलाई साना तथा पूरक आयोजनामार्फत अनुदान उपलब्ध गराइएको छ । मेलुङ गाउँपालिकामा कृषि क्षेत्रका ४३, पशुपालनका ३१ र पोषणका ३० गरी १०४ समूहमा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमको प्रभावकारिता मूल्यांकनका लागि जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि तथा पत्रकारले दुवै गाउँपालिकामा स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा घरबारी पोषण बगैँचा, पोषण सुधार तथा स्थानीय समुदायमा देखिएको व्यवहार परिवर्तनलाई सकारात्मक उपलब्धिका रूपमा मूल्यांकन गरिएको सहभागीहरूले बताएका छन् ।
सरोकारवालाका अनुसार घरबारी पोषण बगैँचा, गोठ सुधार, दुग्ध उत्पादन वृद्धि, पशु तथा बाख्रापालनमा अनुदान, मासुजन्य उत्पादन वृद्धि, उन्नत जातका कोसे तथा डाले घाँसको बिरुवा उत्पादन र तरकारी तथा रैथाने बाली प्रवद्र्धनका कार्यक्रमले ग्रामीण कृषक तथा महिलालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याएको छ । यसले परिवारको खाद्य सुरक्षा, पोषण अवस्था र आयआर्जनमा समेत सकारात्मक प्रभाव पारेको छ ।