काठमाडौं, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित आमा याङ्ग्रीमा योग, ध्यान, साउन्ड हिलिङ र सांस्कृतिक गतिविधिसहितको ३ दिने आरोग्य पर्यटन कार्यक्रम आयोजना गरिएको छ ।
कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालित कार्यक्रममा ४१ जनाको सहभागिता थियो । ‘योगीको यात्रा ः आरोग्यको खोजी’ नाम दिइएको कार्यक्रम न्यू भिजन नेपालले आयोजना गरेको हो । कार्यक्रममा काठमाडौंमहानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको सहयोग र हिमालयन वेलनेस फाउन्डेसनको सहकार्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा योग, ध्यान तथा साउन्ड हिलिङका अभ्यास सञ्चालन गरिएको थियो । योग तथा ध्यानको अभ्यास र साउन्ड हिलिङको नेतृत्व न्यू भिजन नेपालका अध्यक्ष योगी अशोक शर्मा भट्टले गरेका थिए । कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने मञ्जुश्री, कुमारी तथा नेवारी सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । सबनम खड्गी, राजामती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
अध्यक्ष भट्टले हिमाली प्राकृतिक वातावरण, धार्मिक तथा सांस्कृतिक सम्पदालाई योग र ध्यानसँग जोडेर आरोग्य पर्यटन विस्तार गर्न सकिने बताए । न्यू भिजन नेपालका महासचिव रूपक अर्यालका अनुसार संस्थाले यसअघि सिन्धुपाल्चोकको पाँचपोखरी र रसुवाको गोसाइँकुण्डमा पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । आमा याङ्ग्रीमा कार्यक्रम आयोजना गर्नुको उद्देश्य नयाँ पर्यटकीय गन्तव्यमा आरोग्य पर्यटनको सम्भावना पहिचान गर्नु रहेको उनले बताए । सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेसँगै यस क्षेत्रको सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने अवसर सिर्जना भएको छ ।