काठमाडौं, प्रदीप गिरि इन्स्टिच्युटले प्रदीप गिरि फेलोसिपको पहिलो समूहका लागि आवेदन आह्वान गरेको छ । स्वर्गीय प्रदीप गिरिको जन्मजयन्तीको अवसर पारेर इन्स्टिच्युटले वीरगञ्जबाट फेलोसिप कार्यक्रम सार्वजनिक गरेको हो ।
अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा आवेदन खुला गरेको इन्स्टिच्युटले जनाएको छ । स्व. गिरिका जीवनका आदर्श, मूल्यमान्यता, विचार र दर्शनलाई जीवन्त राख्दै नयाँ पुस्तासँग जोड्ने उद्देश्यले फेलोसिप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाली कांग्रेसका सभापति गगन थापाले फेलोसिपको अनलाइन फारम सार्वजनिक गर्दै औपचारिक रूपमा आवेदन खुला गरेका थिए । सो अवसरमा सभापति थापाले अध्ययन र लेखपढमा रुचि राख्ने नयाँ पुस्ताका लागि प्रदीप गिरि सहजै भेट्न र विचार बुझ्न सकिने सरल तथा सादगी व्यक्तित्वका रूपमा रहेको स्मरण गरे । नेपाली कांग्रेसले गत भदौ ६, २०८३ मा स्व. गिरिको चौथो स्मृति दिवसका अवसरमा प्रदीप गिरि फेलोसिप घोषणा गरिएको थियो । नेपाली कांग्रेसको सहकार्यमा प्रदीप गिरि इन्स्टिच्युटले फेलोसिप कार्यक्रम अघि बढाएको हो । फेलोसिपको पहिलो विधा ‘विचार : अनुसन्धान तथा लेखन फेलोसिप’ रहेको छ । यसअन्तर्गत नेपाली राजनीति, गणतन्त्र र संघीयता, समावेशिता र सामाजिक न्याय, साहित्य, दर्शन तथा विचारको इतिहास र युवा नेतृत्व, नागरिक शिक्षा तथा लोकतान्त्रिक नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन, अनुवाद र दस्तावेजीकरणका लागि प्रस्ताव आह्वान गरिएको छ ।
यसै विधाअन्तर्गत स्व. प्रदीप गिरिको वैचारिक तथा व्यक्तिगत जीवनमाथि केन्द्रित विशेष अध्ययनका लागि पनि प्रस्ताव माग गरिएको छ । यसमा ‘प्रदीप गिरि र मधेस’, ‘प्रदीप गिरि : राजनीतिभन्दा पर’ र ‘प्रदीप र प्रेम’ शीर्षकका अध्ययन समावेश छन् । छनोट भएका अनुसन्धानकर्ताले १२ महिनाभित्र नेपाली वा अंग्रेजी भाषामा पाण्डुलिपि तयार गर्नुपर्नेछ । यस विधाका लागि न्यूनतम शैक्षिक योग्यता तोकिएको छैन। प्रस्तावको गुणस्तर, अनुसन्धानको स्पष्टता र लेखन क्षमता छनोटको मुख्य आधार हुनेछ ।
त्यस्तै, दोस्रो विधा ‘कर्म : न्याय फेलोसिप’ अन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरिनेछ । उनीहरूले मधेश र संघीय राजधानीमा कानुनी सहायता डेस्क सञ्चालन गर्नेछन् । यसअन्तर्गत प्रत्येक फेलोले जातीय विभेदमा आधारित हिंसा तथा दुव्र्यवहार, जघन्य अपराध, जग्गा–जमिनसम्बन्धी विवाद, नागरिकताको कागजातबाट वञ्चित भएका तथा राज्यका सेवामा पहुँच पाउन कठिनाइ भोगिरहेका दलित र सीमान्तकृत समुदायका तर्फबाट पाँचदेखि छवटासम्म मुद्दा सम्हाल्नेछन् । कानुनी सहायता डेस्कमार्फत वर्षमा कम्तीमा २० वटा मुद्दा निःशुल्क रूपमा अघि बढाउने लक्ष्य राखिएको छ । यस विधाका लागि नेपाल बार काउन्सिलबाट प्राप्त बहालवाला कानुन व्यवसायी प्रमाणपत्र र कम्तीमा तीन वर्षको सक्रिय वकालत अनुभव अनिवार्य गरिएको छ । साथै, अनुशासनसम्बन्धी कारबाही नभएको र सेवाग्राहीबाट कुनै शुल्क नलिई काम गर्न प्रतिबद्ध हुनुपर्नेछ ।
तेस्रो विधा ‘निष्ठापूर्ण असहमति : निबन्ध पुरस्कार’ रहेको छ । यो फेलोसिप नभई वार्षिक निबन्ध पुरस्कार हो । आफ्नै राजनीतिक दल, संस्था, आन्दोलन वा पेसाभित्रका कमजोरीमाथि आलोचनात्मक दृष्टिकोण राख्दै लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई पुरस्कार प्रदान गरिने जनाईएको छ ।