काठमाडौं, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
हस्तकला महासंघका पूर्व अध्यक्ष ईन्द्र बहादुर शाक्य वंशद्वारा लिखित नेपालको कला, संस्कृति, चाडपर्व,जात्रा र सम्पदाहरुको संग्रह नामक पुस्तक विमोचन कार्यक्रममा उनले संस्कृति राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्ताबेज भएको उल्लेख गरे । यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको उनको भनाई छ । काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको उनले बताए । मौलिक परम्पराले समाजलाई एकताबद्ध बनाउनुका साथै नेपालको विशिष्ट सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पुर्याएको उनको भनाई छ ।
अध्यक्ष अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गरे । यस्तै उनले परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरूको साझा जिम्मेवारी भएको उनको भनाई छ । संरक्षण अभियानलाई प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा समेत उनले जोड दिए ।
परम्परागत कला र सीपलाई जीवन्त राख्न कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अग्रवालले सम्पदामा आधारित पर्यटनको प्रवर्द्धनबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । उनले सांस्कृतिक सम्पदाको संरक्षणलाई केवल विगतको इतिहास जोगाउने कार्यका रूपमा नभई वर्तमान पुस्ताको दायित्व र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।