काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरूमा पर्याप्त तरलता थुप्रिए पनि कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर निरन्तर घट्दै गएको छ । मुद्दती निक्षेपमा ब्याजदर घटाउने बैंकहरूको प्रवृत्तिले मंसिरमा पनि निरन्तरता पाएको छ । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर चार प्रतिशतभन्दा तल झरेको छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव एक सय सात प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर औसत चार दशमलव शून्य १३ प्रतिशत रहेकोमा मंसिरमा घटेर तीन दशमलव नौ सय छ प्रतिशतमा खुम्चिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साउनमा चार दशमलव १६ प्रतिशत, भदौमा चार दशमलव १३ प्रतिशत र असोजमा चार दशमलव शुन्य ८९ प्रतिशत रहेको थियो । त्यसपछि कात्तिकमा चार दशमलव शून्य १३ प्रतिशत हुँदै मंसिरमा तीन दशमलव ९० प्रतिशतमा सीमित भएको हो ।
कात्तिकको तुलनामा मंसिरमा छवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यसरी ब्याज घटाउने बैंकहरूमा माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, एनएमबी बैंक, कुमारी बैंक, स्टान्र्डड चार्टड बैंक र लक्ष्मी सनराइज बैंक परेका छ । यीबाहेकका नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक, प्रायम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंक समेतका १४ वटाले भने मंसिर महिनाको लागि पनि कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार मंसिर महिनाको लागि अधिकांश बैंकले ब्याजदर स्थिर राखे पनि केही बैंकको कटौतीका कारण समग्र औसत दर ओरालो लागेको हो । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले दिने भएको छ । बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा अधिकतम चार दशमलव पाँच प्रतिशत ब्याजदर कायम गरेको छ ।
सामान्यतया बैंकहरूले छोटो अवधिको मुद्दतीमा कम र लामो अवधिको निक्षेपमा तुलनात्मक रूपमा बढी ब्याजदर दिने गरेका छन् । त्यसैले बैंकहरूले सार्वजनिक गर्ने अधिकतम ब्याजदर लामो अवधिको मुद्दती निक्षेपमा लागू हुने दर हो । तर ब्याजदर घट्ने निर्णयको प्रभाव सबै निक्षेपकर्तामा तत्कालै पर्ने भने होइन । यसअघि नै मुद्दती खाता खोलेका ग्राहकले खाता खोल्दा निर्धारण भएको सम्झौताअनुसार नै ब्याज पाउनेछन् । मंसिरमा नयाँ खोलिने तथा अवधि पूरा भएर नवीकरण हुने मुद्दती निक्षेपमा भने नयाँ ब्याजदर लागू हुनेछ ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाउनुको प्रमुख कारण बजारमा लगानीयोग्य रकमको पर्याप्तता र कर्जा प्रवाहमा देखिएको सुस्तता हो । बैंकहरूमा पैसा थुप्रिए पनि अपेक्षित रूपमा कर्जा विस्तार हुन नसक्दा निक्षेप संकलनका लागि उच्च ब्याजदर प्रस्ताव गर्नुपर्ने दबाब घटेको छ । फलस्वरूप बैंकहरूले निक्षेपको लागत कम गर्ने बाटो रोजेका हुन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत दबाब पर्ने र त्यसले कर्जाको ब्याजदर घटाउन सहयोग पुग्नेछ । यसले ऋणीलाई केही राहत दिन सक्ने भए पनि बचतकर्ताले पाउने प्रतिफल भने निरन्तर घट्दै गएको छ । विशेषगरी ब्याज आम्दानीमा निर्भर ज्येष्ठ नागरिक, अवकाशप्राप्त व्यक्ति तथा नियमित आम्दानीको स्रोतका रूपमा मुद्दती निक्षेपमा निर्भर सर्वसाधारण प्रभावित हुने देखिएको छ ।