काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न सहयोग गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।
नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रको प्रदर्शनी कार्यक्रममा उनले सहयोगका लागि आग्रह गरेका हुन् । अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको उक्त अस्पताल नेपाल–चीन मित्रताको प्रतीक भएको बताए । एक सय शय्याबाट सुरु भएको अस्पताल हाल ५०० शय्यामा विस्तार भएको छ । अस्पतालमा हालसम्म २९९ जना सम्मिलित चिनियाँ चिकित्सक टोलीले सेवा प्रवाह गरिरहेको उनले बताए । अस्पताल स्थापना गर्ने समझदारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सन् १९९२ मा बेइजिङमा भएको स्मरण गर्दै अध्यक्ष दाहालले क्यान्सर उपचार, बोनम्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवाको विस्तारमा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले चीन सरकारको सहयोग नेपालको विकासमा महत्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रममा उनले भूकम्प, कोभिड–१९ महामारी तथा भोटेकोसी बाढीको कठिन समयमा चीन सरकारले गरेको उद्धार, राहत तथा अन्य सहयोगका लागि कृतज्ञता ज्ञापन गरे ।
कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र मानवीय संवेदनालाई वृत्तचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको बताए । ‘मानवीय सेवाको कुनै सीमा हुँदैन । पीडामा परेका मानिसको जीवनमा आशा र खुसी फर्काउनु नै चिकित्सकीय सेवाको सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने ।
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित बागमती प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीन सरकारसँग सहयोगका निम्ति आग्रह गरे । चिनियाँ दूतावासका कार्यवाहक प्रमुख चौ फानले चीचन र नेपालबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई अझ विस्तार गर्न चीन इच्छुक रहेको बताए । कार्यवाहक राजदूत चौका अनुसार विगत २७ वर्षदेखि नेपालमा चिनियाँ चिकित्सकहरूले उपचार सेवा, रोग पहिचान तथा रोकथाम, प्रविधि आदानप्रदान तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सघाउँदै आएका छन् । सन् २०१६ देखि चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच संयुक्त रूपमा तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । शिविरबाट हालसम्म आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएका छन् । नेपालका लागि चिनियाँ चिकित्सिा सहायता टोलीका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका अनुभव सुनाएका थिए ।